• २ असार २०८२, सोमबार

खगिन्द्राको ‘खुशीको गाउँ’मा भूटानी शरणार्थीका प्रेम र सङ्घर्ष

blog

पुस्तक विमोचन गर्नुहुँदै लेखक र अतिथि ।

काठमाडौँ, असार १ गते। भूटानी शरणार्थीको जीवन सङ्घर्षमा आधारित उपन्यास ‘खुशीको गाउँ’ विमोचन भएको छ। विश्व भूटानी साहित्यिक संगठनले नेदरल्यान्डस्मा आयोजना गरेको कार्यक्रममा साहित्यकार खगिन्द्रा खुशीको उपन्यास ‘खुशीको गाउँ’ विमोचन गरिएको हो।

सन् १९९० को दशकमा भूटानबाट नेपालीभाषी लखेटिएपछि झापा र मोरङमा आएर शरणार्थी शिविरमा बसोबास गरेको कालखण्ड र पुनर्बासपछि तेस्रो मुलुक पुग्दासम्मका कारुणिक यथार्थ र वास्तविक सङ्घर्षलाई समेटेर ‘खुशीको गाउँ’ तयार पारिएको हो।

प्रमुख अतिथि बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्सालले साहित्यकार खगिन्द्रा खुशीको उपन्यास ‘खुशीको गाउँ’ विमोचन गर्नुभयो। उहाँले भूटानबाट निर्वासित भएको पुस्ताले जीवनभर संघर्ष गरेको स्मरण गर्दै अबका दिन सहज हुने विश्वास व्यक्त गर्नुभयो।

साहित्यकार खगिन्द्रा खुशीले झापा र मोरङका शरणार्थी शिविरमा रहँदा भूटानी शरणार्थीले भोगेका असीमित पीडा, शिविरभित्रको प्रेम जीवनसँगै दुई दशकसम्मको अविराम दुःख र संघर्षका गाथालाई उपन्यासमा समेटिएको बताउनुभयो।

उपन्यास प्रकाशक संस्था विश्व भूटानी साहित्यिक सङ्गठन (जिबिएलओ) का अध्यक्ष कर्ण गुरुङले ‘खुशीको गाउँ’ उपन्यासले भूटानबाट लखेटिएपछि दुई दशकसम्म गरेका सङ्घर्षका दिन स्मरण गराएको बताउनुभयो। 

कार्यक्रममा साहित्यकार गोपाल पौडेलको ‘धुलोमा हिरा’, याम राईको ‘याम एक सापेक्ष’ विमोचन गरिएको छ। कार्यक्रममा गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष विश्वासदीप तिगेला, साहित्यकार पातलो अन्तरे तथा साहित्यिक श्रष्टा प्रकाश आङ्देम्बे, गोपाल पौडेल, डेनजोम साम्पाङ, अनुराधा पौडेल, डिपी शर्मा मैनाली, थुप्तेन ड्रुक्पा, ईश्वर ढकाल लगायतले पुस्तकमाथि समीक्षात्मक मन्तव्य राख्नुभयो।