• २२ जेठ २०८२, बिहिबार

‘राष्ट्रियताको पक्षमा जनलहर’

blog

धनगढी समाचारदाता

धनगढी, जेठ ९ गते । नेकपा (माओवादी केन्द्र) को जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग जागरण अभियानले राष्ट्र, राष्ट्रियता र समाजवादको पक्षमा मजबुत जनलहर प्रकट भएको जनाएको छ । 

सो पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले अभियानले क्रान्तिकारी ऊर्जा, सुदृढ जनसम्बन्ध, बलियो पार्टी एकता र माओवादीप्रति विश्वास बढेको दाबी गरिएको छ । हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान समापनपश्चात् माओवादी पार्टीले सुदूरपश्चिम प्रदेशको बैतडीस्थित पाटनबाट मध्यपहाडी लोकमार्ग अभियान थालेको थियो । माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अभियानको उद्घाटन गर्नुभएको थियो । 

पुष्पलाल राजमार्ग अन्तर्गत पर्ने १० वटा ठाउँमा स्याटेलाइट सहर योजनाभित्र पश्चिममा बैतडीको पाटन पर्ने गरेकाले मध्यपहाडी लोकमार्ग जागरण अभियानको सुरुवात यही विन्दुबाट गरिएको नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटीले जानकारी दिएको छ । मध्य पूर्वपश्चिम जोड्ने गरी सुरु गरिएको पुष्पलाल राजमार्ग माओवादीकै अवधारणामा निर्मित आर्थिक, सामाजिक रूपान्तरणको सडक रहेकाले अभियान सो राजमार्ग केन्द्रित गरिएको जनाइएको छ । 

बैतडीबाट सुरु भएको अभियान सुदूरपश्चिम प्रदेशको चार जिल्लाका १३ वटा पालिकामा पुगेको माओवादी सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरीराजमणि पोखरेलले बताउनुभयो । उहाँका अनुसार पाटनपछि डडेलधुराको बागबजार बसपार्कमा जनसंवाद, डोटीको पिपल्ला बजार र अछामको साँफेबगरमा जनसभा गरिएको थियो । अछामकै मङ्गलसेनमा जनसंवाद, पञ्चदेवल विनायक नगरपालिकामा स्वागत कार्यक्रम गरिएको थियो । 

अभियानका क्रममा सुदूरपश्चिममा बेपत्ता परिवार तथा घाइतेसँग भेटघाट कार्यक्रम तीन वटा, जनस्वागत १३ वटा ठाउँमा, स्थानीय पालिकाद्वारा १० ठाउँमा स्वागत गर्ने कार्य भएको माओवादी प्रदेश कमिटीले जानकारी दिएको छ । 

यसै गरी पाँच वटा समस्या अवलोकन, ६३ वटा ज्ञापनपत्र ग्रहण, चार वटा प्रशासनिक भेटघाट, एक वटा उद्घाटन, विभिन्न व्यक्तिसँग भेटघाट १५ वटा, सांस्कृतिक प्रस्तुति ११ वटा भएको माओवादी पार्टीले जानकारी दिएको छ । 

मध्यपहाडी लोकमार्ग जस्तो रणनैतिक सडक बन्नुको अन्तर्य स्थानीय उत्पादनलाई वृद्धि गरी व्यापक सहरीकरण गर्नु रहेको माओवादी भनाइ छ । यद्यपि, सुदूरपश्चिम प्रदेशमा यस सडक खण्डमा अपेक्षा गरिएअनुरूप आर्थिक विकास नभएको इन्चार्ज पोखरेलले बताउनुभएको छ । 

अभियान पूर्ण रूपमा सफल भएको भन्दै माओवादी पार्टीले अभियान सफल पार्ने पार्टी नेतृत्व, सुदूरपश्चिम प्रदेशका नेता, कार्यकर्ता, स्थानीय सबैप्रति हार्दिक धन्यवादसहित आभार व्यक्त गरेको छ । 

अभियान चलिरहेकै बेला संविधानप्रदत्त स्वास्थ्य सेवामाथि जनताको पहुँचको मर्मलाई संस्थागत र कार्यान्वयन गर्न नेपालकै पहिलो सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक संसद्बाट पारित भएकोप्रति माओवादीले खुसी व्यक्त गरेको छ । 

पार्टी अध्यक्ष प्रचण्डको सशक्त पहलकदमीबाट उहाँ नै प्रधानमन्त्री रहेका बेला विश्वविद्यालयको स्थापनाको निर्णय भई विधेयक तयार पारी संसद्मा दर्ता गरिएको माओवादी केन्द्रले दाबी गरेको छ । विधेयक पारित हुनु सुदूरपश्चिम र सिङ्गो देशवासीका लागि गौरवको विषय बनेको इन्चार्ज पोखरेलले बताउनुभयो ।