• ९ जेठ २०८२, शुक्रबार

बिजुली बलेको त्यो दिन

blog

आज बिजुलीबिनाको दिनचर्या कल्पना पनि गर्न सकिँदैन । एकछिन बिजुली गयो भने सबै क्षेत्र अस्तव्यस्त हुन्छ । मोबाइल, कम्प्युटर, इन्टरनेट, कलकारखाना चलाउन बिजुली नभई हुँदैन । बिजुलीले गर्दा विश्व नै सानो गाउँ जस्तै बनेको छ । आजैको दिन नेपालमा पहिलो पटक बिजुली बत्ती बलेको थियो । एसियाको दोस्रो भनेर चिनिएको फर्पिङ जलविद्युत् आयोजनाको विसं १९६८ जेठ ९ गते तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहले साँझ टुँडिखेलमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो । त्यतिबेला उहाँ नाम मात्रका राजा हुनुहुन्थ्यो । सबै कार्यकारी अधिकार राणा प्रधानमन्त्रीमा थियो । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबराको कार्यकालमा चार वर्ष लगाएर निर्मित यो जलविद्युत् आयोजनाको नाम चन्द्रज्योति राखिएको थियो । बेलायतको सहयोगमा बेलायती उपकरण र प्राविधिकको उपयोग गरेर बनाइएको यो आयोजना काठमाडौँको दक्षिणमा पर्ने फर्पिङ क्षेत्रमा साना तीन खोला (कुटली, सातमुले र शेषनारायण) को पानी जम्मा गरी बिजुली निकाल्ने काम भयो । नेपाली इन्जिनियर कर्णेल किशोरसिंह राणाले योजना बनाउनुभयो । त्यहाँबाट उत्पादित बिजुली काठमाडौँ सहरका विशेष गरी राणा परिवार र हुनेखाने नगरवासीलाई वितरण गरिएको थियो । राणाकालमा जनता रैतीको अवस्थामा थिए । साँझ टुँडिखेलमा बिजुलीबत्ती बलेको देखेर घर जाने र आफ्नो घरमा टुकी वा दियालोको उज्यालोमा रात काट्नुपर्ने अवस्था थियो । फर्पिङबाट उत्पादित बिजुली तत्कालीन हुनेखानेका लागि थप सम्पन्नता प्रदर्शन गर्ने माध्यमसमेत बन्यो । 

त्यतिबेला बिजुली संसारमै नौलो प्रविधि थियो । यद्यपि नेपालमा बेलायतको सहयोगमा सो बिजुली बाल्ने प्रविधि भित्र्याइएको थियो । यो चुनौतीपूर्ण कामको कार्यान्वयन गर्न तत्कालीन सरकारले राणा परिवारका वरिष्ठ सदस्यलाई नै परिचालन गरेको थियो । नेपालमा सञ्चार, बाटो, दक्ष प्राविधिक सबैको अभावमा पनि यो आयोजना आँटेर निर्माण गर्नु कुनै सानो कुरा भने पक्कै थिएन । निर्माण सम्पन्न भएको ११४ वर्ष भइसक्दा पनि यो आयोजनाले अझै पनि विद्युत् उत्पादन गर्न सक्छ तर सो स्थानमा बढेको सहरीकरण र त्यसले खानेपानीको आपूर्तिमा पारेको चापको कारण यो आयोजनाले बिजुली उत्पादन गर्न प्रयोग भएको पानी स्थानीय बासिन्दाको उपभोगका लागि प्रयोग गर्न थालिएको छ । यसै कारण बिजुली उत्पादन बन्द भएको छ । यो आयोजना क्षेत्रमा वैज्ञानिक अनुसन्धान केन्द्र निर्माण गर्ने, वायु, सौर्य तथा जलविद्युत् सबैको प्रयोग गरी नमुना विद्युत् केन्द्र निर्माण गरी ऊर्जा सङ्ग्रहालयका रूपमा विकास गर्ने कार्यक्रम तय गरिएको छ । 

यो ऐतिहासिक धरोहर २०३८ सालसम्म निरन्तर सञ्चालनमा थियो । त्यसपछि ललितपुरका विभिन्न क्षेत्रमा खानेपानी आपूर्तिका लागि जलाशयको पानी, टर्बाइनमा प्रवेश नगराई प्रयोग गर्न थालेपछि सो विद्युत्गृहको सञ्चालन बन्द भयो तर पनि यो विद्युत्गृहलाई चालु हालतमा राख्नुपर्ने महसुस गरी आवश्यक मर्मतसम्भार गरी पुनः २०६३ पुसबाट आवश्यक पर्दा सञ्चालन गर्न सकिने गरी चालु हालतमा राखिएको छ । देशभर विद्युत् उत्पादन बढ्दै गएपछि र खानेपानीको वितरणले सोही स्थानबाट निरन्तरता पाएपछि हाल पनि सङ्ग्रहालयको रूपमा उक्त विद्युत्गृह रहेको छ । २०६७ सालमा सय वर्ष पुगेको अवसरमा यो विद्युत्गृहमा तत्कालीन ऊर्जा मन्त्रालयको संयोजकत्वमा शतवार्षिकी महोत्सव मनाइएको थियो । हाल पनि बागमती प्रदेश सरकारले शतवार्षिक स्मारक रहेको स्थानमा केही जीर्णाेद्वारका कार्य गरेको छ । त्यसै गरी नेपालमै पहिलो पटक बिजुली बलेको घर पनि अहिले जीर्ण छ । ललितपुर महानगरपालिका–२१, खोकनावासी सिद्धिलाल महर्जनको घरमा विसं १९६८ मा बिजुली बालिएको थियो । फर्पिङ जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु भएसँगै सिधै दरबारमा जोड्दा अनिष्ट हुने डरले तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले महर्जनको घरमा बत्ती बाल्नुभयो । नेपालमा पहिलो पटक करेन्टबाट बत्ती बलेपछि खोकनामा त्राससमेत फैलिएको थियो । सिद्धिलालका साइँलो नाति नन्दलाल महर्जनलाई प्राविधिकले करेन्टले च्याप्प च्याप्प समात्छ भनेपछि सिद्धिलालले घरभित्र बत्ती बाल्न नदिएकाले घरबाहिर भित्तामा बत्ती बालिएको थियो । सो ऐतिहासिक घरलाई स्थानीयवासीको सक्रियतामा विसं २०६८ मा सङ्ग्रहालयको रूप दिएका थिए । यो घर सिंहको टाउकोबाट बत्तीको होल्डर र बत्ती जडान गरिएको अवस्थामा छ । विश्वमै दोस्रो जलस्रोतको धनी नेपालमा ८३ हजार मेगावाट विद्युत् निकाल्न सकिने क्षमता छ । हाल ३४ सय मेगावाट बिजुली निकाली ९८ प्रतिशत नेपालीको घरमा पुर्‍याएको छ । वर्षायाममा भारतमा बिजुली निर्यात गर्न थालिएको छ । बङ्गलादेशमा पनि बिजुली निर्यात गर्ने सम्झौता भएको छ । पर्याप्त बिजुली निकाल्न सकिए यसैबाट नेपाल र नेपालीको भविष्य उज्ज्वल बन्ने छ ।