• ९ साउन २०८१, बुधबार

अज्ञात भविष्य (कथा)

blog

रत्न प्रजापति 

केसरिया छाती पिटी–पिटी रोइरहेकी छे । उसकी छोरी गुलाबीले उसलाई सम्झाउन खोज्दैछे । केसरियाको घरको आँगनमा पञ्चायती बसेको छ । पञ्चायतीमा गाउँका गन्नेमान्ने पञ्चभलाद्मीहरू भेला भएका छन् । पञ्च त पक्कै हुन्, तर ती कति भलाद्मी छन्, त्योचाहिँ रामजाने । 

केसरिया अझै रोइरहेकी छे । उसको रुवाइ अलिकति कम भएको छ तर रुँदारुँदा घाँटी नै किक्ककिक्क हुनेगरी निस्कने हिक्कहिक्क भने अझै कम भएको छैन । ऊ पछ्यौरीको फेरले आँसु पछ्दैछे । उसको आँसु पुछिदिने हातको अभाव छ । आँसु पुछिदिने उसको छोराको हात सहरको कुनै ग्यारेजमा गाडीको सिसा पुछ्दै होला अथवा पानीमा आफ्नै आँसु मिसाएर गाडी धुँदै होला । उसको छोराले दस वर्षको उमेरमा गाउँ छोडेको थियो । उसलाई ‘नरो न । कति रुन्छेस् । म छँदैछु नि’ भन्ने पुरुष अर्थात् उसको लोग्ने पनि तेह्र वर्षअघि नै बस दुर्घटनामा परेर मरिसक्यो । 

आँगनको बीचमा पञ्चायत बस्न भेला भएका गाउँभरिका गन्नेमान्ने लोग्नेमान्छेहरू छन् । आँगनको छेउछाउमा पञ्चायत हेर्न आएका नगन्ने आइमाई र केटाकेटीहरू छन् । यी गन्नेमान्ने र नगन्नेहरूको भेलाले केसरियाको थोत्रो घरको रौनक बढेको छ तर केसरियालाई भने त्यही घर साहुले कब्जा गर्न लागेकोले मनमा रनाहा छुटेको छ । त्यही रनाहाले ऊ रन्थनिएकी छे । 

ऊ बेघर हुँदै गर्दाको एउटै दोष भनौँ अथवा कारण भनौँ, त्यो हो उसले साहु जगजीत कुशवाहासँग उधारोमा लिएको चालीस किलो चामल । चालीस किलो चामलको ऋण बाह्र वर्षमा दस लाख रुपियाँ पुगेको थियो ।

‘म ठगिएँ । बर्बाद भएँ । मलाई न्याय दिलाउनुहोस् ।’ केसरियाले रुँदै विलौना गरी । ‘लिने बेलामा लिइस् । अहिले बिलौना गरेर हुन्छ ?’ पञ्चायतीमा बसेकामध्ये एउटा निर्दयी पञ्च बोल्यो ।

‘अन्याय चाहिँ भएकै हो ।’ कोही दयालु पञ्च बोल्यो ।

‘त्यही त । चालीस किलो चामलको उधारो ऋण बाह्र वर्षमा दस लाख रुपियाँ कसरी हुनसक्छ ?’ अर्को मायालु पञ्च बोल्यो ।

गुलाबीले पुलुक्क दयालु र मायालु पञ्चतिर हेरी । दयालु र मायालु पञ्चले चाहिँ घुटुक्क थुक निल्दै गुलाबीलाई घुरेर हेरे । गुलाबी डराउँदै रोइरहेकी आमासित टाँस्सिन पुगी ।

दुई पञ्चको दया र मायाले केसरियाको विलौना रोकियो । ऊ रुन छाडेर तिनै दयालु र मायालु पञ्चको मुख ताक्न थाली । सायद अरू पनि सान्त्वनाका शब्द झर्छन् कि भनेर । कुन स्वार्थले सान्त्वना दिँदैछन्, त्यो भने केसरियाले बुझेकी छैन अथवा उसले त्यसबारे सोचेकी छैन । उसकी तरुनी छोरी छे । उसले यतिखेर यो कुरा नै बिर्सेकी छे । यतिखेर उसले जगजीत साहुले आफूलाई गरेको अन्याय मात्रै सम्झिरहेकी छे । आफू झोलीझ्याम्टा बोकेर रुँदै घरबाट निस्केको कल्पना मात्रै घरिघरि उसको आँखामा आइरहेछ ।

अब पञ्चायती औपचारिकतामा प्रवेश ग-यो । अब के गर्ने त भनेर पञ्चहरू छलफलमा जुट्न थाले । हुन त लोकतान्त्रिक देशमा उधारोमा चामल लिएर भात खानुपर्ने अवस्था नै विडम्बनापूर्ण हो र दुर्भाग्य हो । 

केसरियाको अनुहार अँध्यारो छ । अँध्यारोमा केसरियाको भविष्य हराएको छ । कुपोषणको प्रमाण केसरियाको अनुहारमै देखिन्छ । ऊ असमयमै चाउरिएकी छे मरिचझैँ । असमयमै बूढी भएकी छे । विषादले भरिएको केसरियाको अनुहारमा सिङ्गो नेपालको अनुहार देखिन्छ । तर पञ्चायतीमा भेला भएका लोकतान्त्रिक देशका अलोकतान्त्रिक पञ्चहरूले देखेका छैनन् नेपालको त्यो अँध्यारो अनुहार । 

केसरिया पीडित छे एउटा जगजीत साहुबाट । नेपाल पीडित छ हजारौँ जगजीत र ऊभन्दा पनि खतरनाक अरू धेरै राहुबाट । नेपाललाई राहुहरूको पञ्जाबाट मुक्त गर्ने नायक कहाँ छ ? नायकको खाँचो बढेको छ । त्यसैले नायकको खोजी जारी छ ।‘बाह्र वर्ष पहिले चालीस किलो चामल उधारोमा लिएको हो हजुर ।’ केसरिया यसरी आफ्नो विलौना पोख्दैछे । ऊ साविती बयान दिँदैछे अपराधीले झैँ । पञ्चहरू उसलाई केरकार गर्दैछन् अपराधीलाई झैँ । उसले न्याय पाउन पञ्चायती डाकेकी थिई तर आफैँ अपराधीझैँ साविती बयान दिनुपरेको छ उसले । सायद पञ्चायती उसको पक्षमा छैन । पञ्चायतीलाई दारूपानी खुवाउने उसको सामथ्र्य छैन । त्यो त जगजीत साहुले नै खुवाउने हो । त्यसैले सायद पञ्चहरू जगजीत साहुकै पक्षमा छन् ।पञ्चायतीमा धेरै पञ्च आएका छन् तर केसरियालाई अन्याय गर्ने, अर्थात् केसरियालाई उठीवास लाउन खोज्ने जगजीत साहु भने आएको छैन । उसले आउनु आवश्यक नै ठानेन । पञ्चायतीले उसलाई केही गर्नसक्छ जस्तो उसलाई लाग्दै लागेन । धेरै पञ्च उसकै दान र उपदानमा बाँच्दै आएका छन् । उसकै दारूपानीमा रम्दै आएका छन् । तिनले नुनको सोझो गर्छन् भन्ने पक्का विश्वास छ जगजीत साहुलाई । जगजीत साहुको नुन धेरैले खाएका छन् । फेरि उसका लागि यो पहिलो घटना पनि त होइन नि !

सरकारी कर्मचारी आएर उसको घरको ढोकामा ‘घर खाली गरिदिनू’ भन्ने सूचना टाँसेर गएको छ । त्यो सूचना अदालतबाट आएको हो रे । पहिला त सरकारी कर्मचारी घरमा आउँदा केसरिया निकै खुसी भएकी थिई । सरकारी कर्मचारीले उसका लागि केही सहयोग अथवा अनुदान दिने सूचना पो लिएर आयो कि भनेर । तर त्यो कर्मचारीको कुरा सुनेपछि भने केसरिया खङ्ग्रङ्ग भएकी थिई । दैलामै थुचुक्क बसेकी थिई । डर र चिन्ताले ऊ थुरथुर कामेकी थिई ।  भुइँमा थुचुक्क बस्दा पनि उसलाई चैन मिलेको थिएन । जमिनै भासिएजस्तो भएको थियो उसलाई । उत्तिनै खेर सहायककै अगाडि उसले थाप्लामा हात राखेर रुँदै भनेकी थिई, ‘हे भगवान्, अब म के गरुँ ?’ केसरियाको विलौना भगवान्ले सुनेनन् । केसरियाको विलौनाले त्यो कर्मचारीलाई पनि फिटिक्कै छोएन । 

केसरियाले विलौना गर्दै गर्दा गुलाबी ढोकामा उभिएर हेरिरहेकी थिई । कर्मचारीले एक पटक तलदेखि माथिसम्म नियाल्यो गुलाबीको शरीर । निकै गुलाबी देख्यो उसले गुलाबीको शरीर । 

अब पञ्चायतीले विषय प्रवेश ग-यो । 

‘केसरिया, तैँले जगजीत साहुसँग कति ऋण लिएको थिइस् ?’ एउटा पञ्च बोल्यो । केसरियाले अघि नै भनिसकेकी थिई चालीस किलो चामल उधारोमा लिएको हो भनेर । त्यो पञ्चले यो कुरा बिर्सिसकेको रहेछ ।

केसरियाले माथि आकाशतिर हेरी । आकाशमा बादल थिए– सेता, काला । त्यहाँ उसले मरेको लोग्नेको आकृति देखी । अनि ऊ गम्भीर भई । आँखामा त्यसैत्यसै छचल्कियो आँसु । उसले फरियाको फेरले आँसु पुछ्दै भनी, ‘मैले अघि नै भनिसकेँ नि । बूढाको श्राद्धमा चालीस किलो चामल उधारोमा लिएकी हुँ ।’ 

‘तँलाई उधारो लिई लिई किन खुवाउनुप¥यो श्राद्धको भोज ?’ अर्को पञ्च अलि कड्कियो ।

केसरिया बोलिन । पुलुक्क कड्किने पञ्चतिर हेरी मात्रै तर कड्किने पञ्चले उसलाई हेरिरहनु आवश्यक ठानेन । उसको ध्यान अन्तै थियो । त्यति बोलेर उसले पञ्चको दायित्व पूरा गरिसकेको थियो ।

‘केसरियाले साहुको उधारो समयमा नतिरेर अपराध गरी । अब अपराध गरिसकेपछि सजाय त भोग्नैपर्छ ।’ फेरि अर्को पञ्चले पञ्चायतीतिरै फर्केर भन्यो । पञ्चायतीले ‘हो मा हो’ मिलाएर उसको समर्थन गरे । 

केसरियाले मनमनै सम्झी साहुसँग उधारो लिँदा उसले सादा कागजमा औंठाछाप लगाएकी थिई । त्यसको अर्को वर्ष नै उसले यताउती सबै जोडजाड र खोजखाज गरेर साहुलाई दस हजार रुपियाँ बुझाएकी थिई । साहुले दुई वर्षपछि फेरि पैसा माग्यो । उधारोको ब्याज र स्याज जोडेर लाख नाघिसकेको बतायो । सुनेर केसरियाको हंसले ठाउँ छाड्यो । उसलाई भाउन्न भयो । 

गाउँकै भतिजा पर्ने छविलालको सहयोगमा एक कठ्ठा जग्गा बेचेर साहुलाई एक लाख बुझायो । उसले सोचेकी थिई अब त उधारो चुक्ता भयो होला भनेर, तर कहाँ ? साहुले फेरि पनि पटकपटक उसलाई उधारो तिर्न ताकेता गरिरह्यो । उसँग केही थिएन साहुको उधारो तिर्नलाई । कति पुग्यो उधारो, त्यो पनि उसलाई पत्तो थिएन । त्यसैले ऊ चुपचाप बसेकी थिई । आज साहुसँग उधारो लिएको बाह्र वर्षप्छि एक्कासि सरकारी कर्मचारी घर खाली गरिदिनू भन्ने सूचना टास्न आइपुग्यो उसको घरमा ।

के उधारो लिनु अपराध नै हो ? यो प्रश्न हाम्रो मनमा उठ्न सक्ला तर पञ्चायतीमा बसेका कुनै पञ्चको मनमा उठेको छैन । बरु उधारो नतिर्नु अपराध हुनसक्ला । यस्तै हो भने पनि केसरिया कसरी अपराधी हुनसक्छे ? जब कि उसले चालीस किलो चामल उधारो लिएको एक वर्षपछि नै दस हजार रुपियाँ साहुलाई बुझाइसकेकी छे । दुई वर्षपछि फेरि एक लाख रुपियाँ पनि बुझाइसकेकी छे । के चालीस किलो चामलको मूल्य बाह्र वर्षमा केसरियाको जायजात बराबर हुनसक्छ ? हुनसक्छ र सक्दैन भनेर पञ्चायतीका कुनै पञ्चले प्रश्नोत्तर गरेका छैनन् । 

उधारो लिनु अपराध कि अर्काको उठीवास गर्नु अपराध ? यो कुरा केसरियाको बुद्धिले बुझ्नसक्ने कुरा थिएन । बुझ्न सक्नेहरूले उसको पक्षमा बोलिदिएनन् अथवा बोल्न चाहेनन् । केसरियाको पक्षमा बोलेर के पाइन्छ ? जगजीत साहुको पक्षमा बोल्दा दान–उपदान पाइन्छ । बेलाबेलामा लड्नेगरी दारूपानी पनि खान पाइन्छ । केसरियासँग के छ र दिन्छे ? 

अन्ततः पञ्चायती जसरी बस्यो उसैगरी उठ्यो पनि । पञ्चायतीले केसरियाको पक्षमा फैसला गर्न सकेन । उधारो लिएपछि तिर्नुपर्छ, यही नै पञ्चायतीको फैसला भयो । केही दिनपछि सरकारी कर्मचारी फेरि आयो । उसले केसरियाको घरमा ताला लगायो । साँचो जगजीत साहुको हातमा बुझायो । जगजीत साहुले कर्मचारीको हातमा बक्सिस राखिदियो । ऊ धन्य भयो । दङ्ग प-यो । साहुप्रति कृतज्ञ भयो । केसरियाको उठीवास गरेकोमा पटक्कै दुःख लागेन– जगजीत साहुलाई, सूचना टाँस्ने कर्मचारीलाई र जगजीत साहुकै पक्षमा फैसला गर्ने पञ्चायतीका पञ्चहरूलाई । 

केसरियाले मुटुमाथि ढुङ्गा राखेर घर छोडी । घर छोडेर हिँड्दै गर्दा उसलाई आफ्नै मलामी गइरहेझैँ लाग्यो । गुलाबी चुपचाप केसरियाको पछिपछि हिँडिरही । उनीहरू एउटा अज्ञात भविष्यतिर लागे आफ्नो भविष्यको खोजीमा ।