• ८ जेठ २०८२, बिहिबार

रिक्त भएको ४४ औँ दिनमा १८ औँ गभर्नरमा पौडेल नियुक्त

blog

नवनियुक्त गभर्नर प्राडा पौडेल सामुन्ने तरलता व्यवस्थापन, लगानी प्रवर्धन, वित्तीय सुशासन, प्रभावकारी नियमनलगायत ताजा चुनौती रहेका छन् । साथै उचित मौद्रिक उपकरण र रणनीतिहरू तर्जुमा गर्नुपर्ने चुनौती पनि उत्तिकै छन् । 

काठमाडौँ, जेठ ७ गते । नेपाल राष्ट्र बैङ्कको गभर्नरमा प्राडा विश्व पौडेल नियुक्त हुनुभएको छ । मङ्गलबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले प्राडा पौडेललाई राष्ट्र बैङ्कको १८ औँ गभर्नरमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । राष्ट्र बैङ्कका तत्कालीन गभर्नर महाप्रसाद अधिकारी बिदा हुनुभएको ४४ औँ  दिनमा केन्द्रीय बैङ्कले नयाँ गभर्नर पाएको हो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मङ्गलबार नै तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल संयोजक रहनुभएको समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र डा. पोषराज पाण्डे सदस्य रहनुभएको थियो । सो समितिले प्राडा पौडेलसहित कामु गभर्नर डा. नीलम ढुङ्गाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । सिफारिस भएका तीन जनामध्ये पहिलो नम्बरमा रहनुभएका प्राडा पौडेललाई मन्त्रीपरिषद्ले गभर्नर नियुक्त गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच गभर्नर नियुक्त गर्ने विषयमा मङ्गलबार बिहान छलफल भएको थियो । अर्थमन्त्री पौडेल अध्यक्ष रहेको तीन सदस्यीय सिफारिस समितिमा सुरुमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् प्राडा विश्व पौडेललाई राखिएको थियो तर विजयनाथ भट्टराईले समितिबाट राजीनामा दिनुभएको थियो । त्यसपछि सरकारले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सिफारिस समितिमा ल्याएको थियो । यसै गरी प्राडा विश्व पौडेलले पनि सिफारिस समितिको सदस्यबाट राजीनामा दिएपछि डा. पोषराज पाण्डेलाई नियुक्त गरिएको थियो ।

योजना आयोगदेखि गभर्नरसम्म नवनियुक्त गभर्नर प्राडा पौडेल सामुन्ने तरलता व्यवस्थापन, लगानी प्रवर्धन, वित्तीय सुशासन, प्रभावकारी नियमनलगायत ताजा चुनौती रहेका छन् । साथै उचित मौद्रिक उपकरण र रणनीतिहरू तर्जुमा गर्नुपर्ने चुनौती पनि उत्तिकै छन् । 

प्राडा पौडेल २०७८ साल साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त हुनुभएको थियो । नेपालको आर्थिक इतिहासबारे जानकार  पौडेलले गहन अध्ययन गरेर अर्थतन्त्रका विविध विषयमा लेख प्रकशित गर्दै आउनुभएको छ । प्राडा पौडेलले अमेरिकाको प्रतिष्ठित युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको हो । त्यसअघि उहाँले अमेरिकामै अर्थशास्त्रमा स्नातकोत्तर तहको अध्ययन गर्नुभएको थियो । चीनको साङ्घाईस्थित एक विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक तहको अध्ययनसमेत गर्नुभएका गभर्नर पौडेल चीन र अमेरिकाको अर्थतन्त्र, समाज र इतिहासका अध्येता पनि हुनुहुन्छ । विश्व बैङ्कको कन्सल्ट्यान्ट, अन्तर्राष्ट्रिय श्रम सङ्गठनको नेपालस्थित कार्यालय र मिलेनियम च्यालेन्ज कर्पोरेसनको नेपालस्थित कार्यालयमा पनि अर्थशास्त्रीका रूपमा उहाँले काम गरिसक्नुभएको छ । 

सुपरिवेक्षकीय क्षमता बढाउने प्रतिवद्धता 

नियुक्तिपछि सञ्चार माध्यमलाई प्रतिव्रिmया दिँदै डा. पौडेलले राष्ट्र बैङ्कको सुुपरिवेक्षकीय क्षमता बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले सरकारसँग समन्वय गरी सरकारले लिने आन्तरिक ऋणको अर्थतन्त्रमा पर्ने असर घटाउने उपाय खोजी गर्र्ने र नेपाललाई ग्रे लिस्टबाट हटाउन समन्वयात्मक कदम चाल्ने बताउनुभएको छ । त्यस्तै बैङ्क तथा वित्तीय संस्थाहरूमा देखिएका समस्या अध्ययन गरी आवश्यक मार्गदर्शन दिने पनि बताउनुभएको छ ।

उहाँले पुँजी बजारका लगानीकर्ताहरूको मनोबल बढाउन आवश्यक कदम चाल्ने बताउनुभएको छ भने उद्योग क्षेत्रलाई वृद्धि गरी अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने गरी नीतिगत योजना बनाउने, लघुवित्त कम्पनीका नीतिहरूमा सुधार गर्दै समयानुकूल परिमार्जन गर्ने, भुक्तानी प्रव्रिmयालाई आधुनिकीकरण गर्ने, विदेशी पुँजी ल्याउन र लान सहज बनाउनेलगायतका प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।