• १७ कात्तिक २०८१, शनिबार

छुनु र नछुनुको सञ्चारशास्त्रीय अध्ययन

blog

बौद्ध लामाको भेषमा रहेका एकजना युवक र एकजना चलचित्र अभिनेत्री हालैका दिनमा धेरै चर्चा वा विवादमा परेका घटनासँगै नेपालमा छुवाइ (स्पर्श) बारे सार्वजनिक बहस बढेको छ । उक्त बहसले स्पर्श पनि राम्रो स्पर्श (गुड टच) र नराम्रो स्पर्श (ब्याड टच) बारे धेरैजनाको ध्यानाकर्षण भएको देखिन्छ ।

छुवाइबारे जनचासो बढेको समयमा छुनु र नछुनुका अनेक आयामबारे अध्ययन सामग्री प्रस्तुत गर्ने जिम्मेवारी मिडियाको पनि हो । सर्वसाधारणमा स्पर्श साक्षरता एवं स्पर्श शिष्टाचार बढाउनका लागि अहिले अवसर देखिन्छ किनभने यसबारे चासो र अभिरुचि बढेको छ । स्पर्श शिष्टाचारको अभिवृद्धिले अन्ततोगत्वा समग्र सार्वजनिक शिष्टाचारमै सकारात्मक प्रभाव पर्नेछ । 

कुनै वस्तु वा मानव तथा अन्य प्राणीलाई छुनु मानव जीवनमा धेरै गरिइरहने क्रियाकलाप हो । छुवाइबिनाको मानव जीवन हामी कल्पना गर्न पनि सक्दैनौँ । सूचनाप्राप्तिका लागि मानवसँग प्राकृतिक रूपमै ज्ञानेन्द्रियहरू रहेका छन् । तीमध्ये आँखाले हेरेर, कानले सुनेर, नाकले सुँघेर र जिब्रोले चाखेर थाहा पाइन्छ भने छालामार्फत स्पर्शजन्य सूचना एवं ज्ञान हासिल गरिन्छ ।

छुने प्रवृत्ति मानवको प्राकृतिक व्यवहार हो । कतिपय अवस्थामा दृश्य र शब्दको भन्दा पनि स्पर्शका माध्यमबाट हुने सञ्चार बढी प्रभावकारी हुन सक्छ । स्पर्शमार्फत नौवटै भावको अभिव्यञ्जन गर्न र नौवटै रसको अनुभूति गर्न सकिन्छ ।

स्पर्शका कैयौँ क्रियाकलाप उद्देश्यसहित जानेरै गरिन्छ भने चेतन मस्तिष्कले विचार नगरिएको बेलामा पनि कैयौँ स्पर्शात्मक क्रियाकलाप स्वतः भइरहेका हुन्छन् । स्पर्शबारे कुनै पाठशालामा औपचारिक अध्ययन नगरेका व्यक्तिहरूले पनि आफ्नै जीवन भोगाइका आधारमा थाहा पाएकै हुन्छन् । जस्तै : कुनै स्पर्शले मायाको अनुभूति दिन्छन् भने कुनै स्पर्शले अप्रिय अनुभूति सञ्चार गर्छन् ।

“अरूको लाख आमाको काख” उखानले स्पर्शको अपनत्वलाई दर्शाउँछ । कसैसँग बारम्बार स्पर्शमा रहन मन लाग्छ भने कसैको स्पर्शले बेचैनी महसुस हुन्छ । छुवाइ पनि अनेक प्रकारका हुन्छन् भन्ने सर्वसाधारण सबैले जानेकै हुन्छन्, यद्यपि स्पर्शको सुव्यवस्थित परिभाषा र प्ररूपण (टाइपिफिकेसन) वा वर्गीकरण (क्लासिफिकेसन) गर्न भने उनीहरूले नजानेका हुन सक्छन् ।

स्पर्शको भौतिक, मानसिक, मनोवैज्ञानिक, सामाजिक, सांस्कृतिक र अन्य अनेकौँ आयाम हुन्छन् । कुनै वस्तु, प्राणी वा अन्य व्यक्तिलाई छुने वा नछुने बारे समाजमा अनेकौँ मान्यता रहेका हुन्छन् । विगतको प्रतिकूल अनुभव, अस्पृश्यताको कुनै मान्यता वा कुनै निषेधका कारणले निश्चित वस्तु वा मानव तथा अन्य प्राणीविशेषलाई नछुने प्रवृत्ति पनि देखिन्छ ।

शरीरको कुन अङ्गले कसलाई कसरी छुन हुन्छ वा हुँदैन भन्नेबारे विभिन्न समाज, संस्कृति र सम्प्रदायमा अलग अलग मान्यता हुन सक्छन् । नेपाली समाजमा के खाने र के नखाने तथा के वा कसलाई छुने र के वा कसलाई नछुनेबारे अनेकौँ नियम र निषेधहरू रहेका छन् । त्यसले स्पृश्यता र अस्पृश्यताका विभिन्न अवधारणा र प्रचलनलाई इङ्गित गर्छ । 

स्पर्शबारे दृष्टिकोण र अभ्यास सन्दर्भसापेक्ष र परिवर्तनशील पनि देखिन्छन् । विगतमा छुन नहुने भनिएका वस्तु, प्राणी वा व्यक्तिलाई अचेल निर्धक्क छोइने गरेको र विगतमा सहजै छोइने गरिएकोलाई अचेल नछुने गरिएको उदाहरण नपाइने होइन ।

कोरोना भाइरस महाव्याधिको परिप्रेक्ष्यमा अभिवादनका लागि हात मिलाउने, अँगालो मार्ने तथा चुम्बन गर्नेजस्ता तरिकालाई छाडेर नमस्कार गर्ने वा एकअर्कालाई नछोई गरिने अन्य तरिकाको प्रवद्र्धन गरिएको सन्दर्भ यहाँनेर उल्लेख्य छ । वास्तवमा छुनु वा नछुनु भनेको प्राकृतिक, सामाजिक, सांस्कृतिक, साम्प्रदायिक, राजनीतिक तथा अन्य अनेकौँ परिप्रेक्ष्यसँग जटिल तरिकाले जोडिएको सञ्चार क्रियाकलाप हो । 

स्पर्शको व्यवस्थित अध्ययनका लागि सञ्चारविद्हरूले प्रयास गर्दैआएका छन् । स्पर्श (छुवाइ) लाई सञ्चार विधामा गैरशाब्दिक वा अशाब्दिक (नन्–भर्बल) सञ्चारअन्तर्गत अध्ययन गरिन्छ । स्पर्शमार्फत हुने सञ्चारलाई स्पृश्य सञ्चार (ट्याक्टाइल कम्युनिकेसन) भनिन्छ । स्पर्शको अध्ययन गर्ने क्षेत्रलाई जनाउनका लागि स्पृश्य–भाषा (ह्याप्टिक्स्) संज्ञा प्रयोगमा छ । ‘ह्याप्टिक्स्’ अन्तर्गत स्पर्शमार्फत हुने गैरशाब्दिक सञ्चारबारे अध्ययन गरिन्छ । छुवाइ वा स्पर्शको प्रयोगबाट विभिन्न किसिमका सन्देश दिन सकिन्छ वा दिइराखिएको हुन्छ भने ‘ह्याप्टिक्स्’ ले सोही स्पृश्य सञ्चारको अध्ययन गर्ने हो । 

स्पृश्य सञ्चारका साथसाथै गैर–शाब्दिक सञ्चारअन्तर्गत अन्य धेरै आयामको अध्ययन तथा अनुसन्धान गरिन्छ । विशिष्टिकृत अध्ययनका क्रममा सञ्चारविद्हरूले गैरशाब्दिक सञ्चारलाई शारीर–भाषा (काइनेसिक्स), स्थानबोध–अध्ययन (प्रोक्सेमिक्स), स्पृश्य–भाषा (ह्याप्टिक्स), समयभाषा (क्रोनेमिक्स), भाषा–सदृश उच्चारण (भोकालिक्स तथा प्याराल्याङ्ग्वेज) र भौतिक परिवेश (फिजिकल कन्टेक्स्ट) जस्ता अध्ययन क्षेत्रमा विभाजन गरेका छन् ।

शरीरको भौतिक चालको अध्ययनलाई शारीर–भाषा (काइनेसिक्स्) भनिन्छ र यसअन्तर्गत शरीर एवं यसका अङ्ग–उपाङ्गलाई चलाएर मानिसले कसरी सन्देश सम्प्रेषण गर्छन् भन्ने अध्ययन गरिन्छ । हात, खुट्टा वा टाउको चलाएर गरिने इसारा, मुहारभाव, अङ्गविन्यास वा बसाइको तरिका, प्राकट्य तथा नयन–चाल वा हेराइलाई शारीर–भाषा (काइनेसिक्स) मा समावेश गरी अध्ययन गरिन्छ । आँखा र ओठ कविहरूका लागि सर्वाधिक प्रिय अङ्ग हुन् र यिनका वर्णनमा अनेकन् कविता, गीत एवं अन्य काव्यकृति सिर्जना गरिएका छन् ।

स्थान तथा दूरीको प्रयोगबाट सम्प्रेषण गरिने सन्देशको अर्थको अध्ययनलाई स्थानबोध–अध्ययन (प्रोक्सेमिक्स) भनिन्छ । स्थान तथा दूरीको प्रयोगमार्फत हुने सञ्चारको अध्ययन नै स्थानबोध–अध्ययन (प्रोक्सेमिक्स) हो । समयभाषा (क्रोनेमिक्स) अन्तर्गत समयबारे सञ्चारकर्ताको बोध तथा समयको प्रयोगमार्फत उनीहरूले सन्देश–सम्प्रेषण कसरी गर्छन् भन्ने अध्ययन गरिन्छ । अर्थात्, समयलाई सङ्केतकका रूपमा मानिसहरूले कसरी प्रयोग गर्छन् र त्यसले के साङ्केतित भइरहेको हुन्छ भन्ने अध्ययन हो । यो अत्यन्त संस्कृतिसापेक्ष हुन्छ । भाषा–सदृश उच्चारणको अध्ययन दायरा निकै विस्तृत छ । प्याराल्याङ्ग्वेज भनियो भने भाषा–सदृश उच्चारण भन्ने बुझिन्छ र भोकालिक्स भनियो भने भाषा–सदृश उच्चारणको अध्ययन भन्ने बुझिन्छ ।

प्याराल्याङ्ग्वेज त्यस्ता उच्चारण वा बोली हुन्, जुन आफैँमा शब्द होइनन् तर शब्दसँग अभिन्न छन् । शाब्दिक सञ्चारमा शब्दशः के भनियो भन्ने पक्ष महìवपूर्ण हुन्छ भने प्याराल्याङ्ग्वेजमा शब्द कसरी उच्चारित भयो भन्ने सरोकार राखिन्छ ।

वक्ताको स्वरको गति, आरोहअवरोह, विन्यास आदिमा हुने विविधताले उही शब्द वा वाक्यको अर्थ पनि फरक–फरक हुन सक्छ । भोकालिक्सको ज्ञानले व्यक्तिको भनाइ र त्यसको निहितार्थ समान वा असमान के छन्, वक्ताको भनाइ कति विश्वसनीय छ भन्नेजस्ता कुरामा सही आकलन गर्न मद्दत पुग्छ । 

भौतिक परिवेश भन्नाले सञ्चारकर्ता वरपरको भौतिक अवस्था वा वातावरण भन्ने बुझिन्छ । यसका अतिरिक्त, सञ्चारविद्हरूले सञ्चार प्रक्रियामा भौतिक वस्तुहरूलाई सन्देश अभिव्यञ्जनको साधन वा स्वयंमा सन्देशका रूपमा प्रयोग गरियो भने तिनलाई पनि भौतिक परिवेशअन्तर्गत नै अध्ययन गर्दछन् । माथि उल्लेखित विभिन्न प्रकारका गैरशाब्दिक सञ्चारका साथै शाब्दिक सञ्चारमासमेत भौतिक परिवेश नबुझी कुनै पनि सन्देशको सही बोध हुन सक्दैन ।

संस्कृति एवं सभ्यताहरूले भौतिक परिवेशका लागि पनि निजात्मक सङ्केत प्रणाली तथा सङ्केत संयोजन पद्धति विकास गरेका हुन्छन् । त्यस्तै, विभिन्न रङ्गका विभिन्न अर्थ हुन्छन्, तर कुन रङ्गले के जनाउने भन्ने संस्कृतिसापेक्ष अवधारणाले निर्धारित हुन्छ । भौतिक परिवेशले दिने अर्थ संस्कृतिसापेक्ष हुने भएकाले कुनै पनि सञ्चार क्रियाकलापको अध्ययन गर्दा सञ्चारकर्ताको सांस्कृतिक सन्दर्भलाई बुझ्नु अनिवार्य हुन्छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘श्रीगणेशाय नमः’ निबन्धमा लेखेका छन् : “वर्णन होस्, वृत्तान्त होस् वा व्याख्यान, जतासुकै पनि म आफ्नो रङ्गमा आफ्नो ढङ्गले यो जीवनको घामछायाका अनुभव चित्रण गर्दै सजीव मानव बोलचालमा पाठकसँग कुरा गर्दछु । आफ्नो सुख–दुःख, प्राप्ति–हानि, हार–विजय, आँसु–हाँसो, भाव–भावना, आदर्श सपना, दृश्य–दर्शन झिल्का–झिल्कीहरूका साथ मनोरञ्जन र आत्मप्रकाशन गर्न अग्रसर हुन्छु ।

” बृहत् अर्थ गर्ने हो भने महाकवि देवकोटाले आफ्ना सन्दर्भमा भनेका यी कुरा सबै मानिसका लागि लागू हुन्छन् : प्रत्येक मानिस आफ्नो अनुभूति, विचार, जीवनभोगाइ आदिलाई अरू मानिससमक्ष अभिव्यक्त गर्न चाहन्छ, अर्थात् “आत्मप्रकाशन गर्न अग्रसर” हुन्छ । आत्मप्रकाशनको एउटा विशेष तरिका स्पर्श (छुवाइ) पनि हो । 

प्रत्येक मानिस अन्य मानिसहरूसँग सम्पर्क गर्न, परस्पर सम्बन्ध राख्न एवं सँगै रमाउन चाहन्छ । अनि मन नपरेका मानिससँग सम्पर्क र सम्बन्ध विच्छेद गर्नु पनि मानव स्वभाव नै हो । सुख बाँड्न पनि ऊ अरूको साथ चाहन्छ र दुःख बाँड्न पनि । यस्तै क्रियाकलापले नै मानिस सामाजिक प्राणी भएको हो ।

मानव समाजको उद्भव तथा विकास यस्तै सम्पर्क एवं सम्बन्धको जगमा उभिएको छ । मानव सम्बन्धमा स्पर्शको विशेष महìव छ । बोलेर, लेखेर तथा मुहारभावले समेत व्यक्त गर्न नसकिएका अनुभूति उपयुक्त स्पर्शमार्फत सञ्चार गर्न सकिन्छ ।

ज्ञानको एक विधाका रूपमा सञ्चारशास्त्रले मानवले कसरी आफ्ना अनुभूति, विचार, जीवनभोगाइ आदिलाई अन्य मानवसमक्ष अभिव्यञ्जन (जसलाई हाम्रा महाकविले “आत्मप्रकाशन” भनेका छन्) गर्छ, कसरी अन्य मानवले अभिव्यञ्जन गरेका सन्देश प्राप्ति एवं बोध हुन्छ, यसरी सन्देशको आदान–प्रदानमार्फत मानवले कसरी परस्पर सम्बन्ध विकास गर्छ र उक्त सन्देश आदान–प्रदान प्रक्रियामा कुन कुन तìव कसरी संलग्न रहेका हुन्छन् आदिजस्ता पक्षहरूको अध्ययन गर्दछ ।

कम्युनिकेसन (सञ्चार) नामकरण गरिएको क्रियाकलापकै जगमा मानव समाजका सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिकलगायतका सबै संरचना प्रतिष्ठित रहेकाले यसको अध्ययन गर्नु अत्यावश्यक भएको र सञ्चारशास्त्रले महìव पाएको हो । स्पर्श (छुवाइ) बारे पनि सुव्यवस्थित अध्ययन तथा अनुसन्धान सञ्चारशास्त्रमा गर्न सकिन्छ । प्रभावकारी सञ्चारका लागि स्पृश्य सञ्चार तथा यसको अध्ययन गर्ने क्षेत्र स्पृश्य–भाषा (ह्याप्टिक्स) को जानकारी निकै उपयोगी हुन्छ ।

Author

डा. निर्मलमणि अधिकारी