• २२ असार २०८१, शनिबार

अब काठमाडौंको फोहोर उठ्छ : मन्त्री झाक्री

blog

तस्बिरः केशब गुरुङ

काठमाडौं, जेठ २७ गते। सहरी विकासमन्त्री रामकुमारी झाक्रीले अब काठमाडौंको फोहोर उठ्ने बताउनुभएको छ। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा मन्त्रालयमा भएको छलफलपछि पत्रकारसँग कुरा गर्नुहुँदै झाक्रीले यस्तो बताउनुभएको हो। 

बैठकपछि पत्रकारसँग कुरा गर्दै मन्त्री झाक्रीले भन्नुभयो, ‘‘काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र प्रभावित क्षेत्रका मान्य सांसद, नगरपालिका र स्थानीय तहका प्रतिनिधिले काठमाडौंको  फोहोर व्यवस्थित रुपमा व्यवस्थापन गर्नुपर्ने विषयमा प्रतिवद्धता जनाउनुभएको छ। फोहोर आजदेखि नै गइराखेको छ। अब फोहोर उठ्छ।’’

फोहोर व्यवस्थापनका लागि बाटोको समस्या भएकाले मर्मतका लागि निरन्तर टोली परिचालन गरेकोसमेत उहाँले जानकारी दिनुभएको छ। मन्त्री झाक्रीले भन्नुभयो, ‘‘चुनौती चाहिँ बाटोको हो। त्यसको मर्मतका लागि हामीले टोली खटाएका छौँ।’’

फोहोर व्यवस्थापनका लागि बाटोको विषयमा सरकार गम्भीर रहेको उहाँको भनाइ छ। अहिले साढे १२ किलोमिटर बाटो बनाएर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो। बाटो निर्माण भए मात्र आधा समस्या समाधान हुने उहाँले प्रष्ट पार्नुभयो। 

फोहोर व्यवस्थापनका लागि राष्ट्रिय सहमतिको जस्तो अवस्था बनेको मन्त्री झाक्रीले बताउनुभएको छ। आवश्यक भएमा कानुन संशोधन गरेर अगाडि बढ्नेसमेत मन्त्री झाक्रीको भनाइ छ।