• ९ जेठ २०८१, बुधबार

विद्युत महशुल बुझाउन पनि रिचार्ज कार्ड

blog

ताराखोला क्षेत्रमा जडान गरिएको स्मार्ट विद्युत मिटर । तस्विर : नवीन शिशिर विक

नविन शिशिर विक

बागलुङ, जेठ २७ गते । बैशाख अन्तिम साता बागलुङको ताराखोला पुग्नुभएका बागलुङ बजार निवासी सज्जनकुमार सिंह आफन्तको घरमा बास बस्नुभयो । रातको आठ बजेतिर घरमा झ्याप्प विजुली गयो । उहाँले ठान्नुभयो विद्युत प्रसारणमा केही समस्या भए होला । छरछिमेकीको घरमा झलमल उज्यालो थियो । 

लाईन काटिएपछि घरमुलीले विद्युतको मिटरमा गएर ११ अंकको रिचार्ज नम्बर थिच्नुभयो । एकछिनमा फेरि विद्युत नियमित भयो । मोवाईलमा रिचार्ज गरेजस्तै विद्युत महशुल तिरेको देखर सिंहलाई आश्चर्य लाग्यो । बजार क्षेत्रमा प्रयोगमा नआएको स्मार्ट विद्युत मिटर ग्रामीण भेग ताराखोलामा प्रयोग भएको छ । 

ताराखोला जलविद्युत लिमिटेडले चीनमा निर्माण भएको स्मार्ट विद्युत मिटर खरिद गरेर जिल्लामै पहिलो पटक ताराखोलाका एक हजार तीनसय  उपभोक्ताको घरमा जडान गरेको छ । सो मिटर जडान भएपछि विद्युत महशुल तिर्न घरको कामधन्दा छाडेर, घण्टौ हिड्दै विद्युत महशुल बुझाउन जाने झन्झटबाट स्थानीय मुक्त भएका छन् । 

विद्युत प्रयोग गरेअनुसार रिचार्जको रकम घट्दै जान्छ । विद्युत कम्पनीले रिचार्जका लागि जडान भएका मिटरअनुसार रिचार्ज कार्ड उपलब्ध गराउँछ । एउटा मिटरका लागि जारी भएको रिचार्ज नम्बरले अर्काे मिटरमा काम नगर्ने ताराखोला जलविद्युत कम्पनीका प्रबन्धक फोम विश्वकर्माले बताउनुभयो । 

रिचार्ज स्टिमका लागि कम्पनीको मुख्य कार्यालयमा सफ्टवयर राखिएको छ । रिचार्ज कार्ड वितरणका लागि ताराखोला गाउँपालिकाको सबै वडामा सवडिलर स्थापना गरिएको छ । उपभोक्ताले आफ्नो  आवश्यकताअनुसार सबडिलरसँग रिचार्ज लिन सक्छन् । २०७६ सालदेखि त्यहाँ स्मार्ट मिटर जडान गरिएको हो । 

जलविद्युत कम्पनीले घरायसी प्रयोजनका लागि जडान गरिएको विद्युतमा मासिक न्युनतम एक सय रुपियाँ र प्रति युनिट १२ रुपियाँ निर्धारण गरेको छ । उद्योगका लागि जडान गरिएको विद्युतमा मासिक न्युनतम एक हजार पाँच र प्रतियुनिट ५० रुपियाँ निर्धारण गरिएको प्रबन्धक विकले बताउनुभयो । 

रिचार्ज सकिनुपूर्व मिटरले संकेत ध्वनि दिन्छ । रिचार्ज सकिए पनि तत्काल लोन सुविधा कायम गरिएको छ । यस प्रविधिले विधुत चोरी तथा महसुल उठाउने समस्या नरहेको स्थानीयको बुझाई छ ।