• ९ जेठ २०८१, बुधबार

ठूलो पार्टी बन्न गठबन्धन गरेका होइनौँ : उपसभापति खड्का

blog

केदार तिमल्सिना 

बनेपा, जेठ २७ गते । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली काँग्रेसले निर्वाचनमा ठूलो पार्टी बन्नका लागि मात्रै पाँच दलीय गठबन्धन नगरेको बताउनुभएको छ । काभ्रेको बनेपामा शुक्रबार भएको जनप्रतिनिधीको बधाई तथा सम्मान कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो । 

काँग्रेसले निर्वाचन जित्न र ठूलो पार्टी बन्न गठबन्धन गरेको होइन उहाँले भन्नुभयो ।  काँग्रेस एक्लैको चाहनाले मात्रै पाँच दलीय गठबन्धन नबनेको चर्चा गर्नुहुँदै नेता खड्काले भन्नुभयो, “लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको हो ।” 

गठबन्धन बिथोल्न विभिन्न शक्तिहरु सुरुदेखि नै सक्रिय रहेको पनि उहाँले बताउनुभयो । उपसभापति खड्काले आगामी प्रदेश र सङ्घ निर्वाचनमा समेत गठबन्धनलाई निरन्तरता दिई दुई तिहाईको गठबन्धनको सिट जिताउन आवश्यक रहेको बताउनुभयो । दुई तिहाई सिट जितेमात्र संविधान संशोधन लगायतका महत्वपूर्ण काम गर्न सकिने उहाँको भनाई छ ।

उपसभापति खड्काले कांग्रेसको तर्फबाट विजयी भएका जनप्रतिनिधीले हरेक दिन गर्ने निर्णय तथा सेवाग्राहीलाई गर्ने व्यवहारले आगामी निर्वाचनमा कांग्रेसको मत बढ्ने र घट्ने कुराको निर्धारण हुने बताउनुभयो । बानी र व्यहार सुधार्न जनप्रतिनिधीलाई उहाँले अनुरोध पनि गर्नुभयो । 

कार्यालयका कामको सिलसिलामा आउने सेवाग्राहीले आफु हेपिएको, नराम्रो व्यवहार भएको र अपमानित भएको महसुस भएको खण्डमा जनप्रतिनिधीप्रति जनताको हेर्ने दृष्टिकोण  फरक हुने उहाँले सुझाव दिनुभयो । कांग्रेसकोतर्फबाट विजयी भएका जनप्रतिनिधीहरु कुनै लोभ लालच र भ्रष्टाचारमा संलग्न हुन नहुने उहाँको सुझाव छ । 

उपसभापति खड्काले स्थानीय तहको निर्वाचनबाट देशभर कांग्रेसको जनमत बढेको र पहिलो पार्टी बन्न सफल भएको बताउनुभयो । कार्यक्रममा स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत कांग्रेसका तर्फबाट नगरपालिका, गाउँपालिकाको प्रमुख, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्य पदमा निर्वाचित भएका ३१५ जनप्रतिनिधीलाई सम्मानित गरिएको छ ।