• ३ जेठ २०८२, शनिबार

सत्य सम्प्रेषण पत्रकारिताको धर्म

blog

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट ‘गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ समारोहमा ।

पोखरा समाचारदाता 

पोखरा, जेठ ३ गते । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण पत्रकारिताको धर्म भएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीले प्रदान गर्ने ‘गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ समारोहमा उहाँले उक्त कुरा बताउनुभएको हो । 

भट्टले भन्नुभयो, “सामाजिक उत्तरदायित्व वहन गर्दै सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गर्ने जिम्मेवारीलाई आत्मसात् गरी सत्य, निष्पक्ष, सन्तुलित र मर्यादित रूपमा सूचना प्रवाह गर्नु पत्रकारिताको धर्म र जिम्मेवारी हो ।” उहाँले नेपालमा लोकतन्त्र र गणतन्त्र स्थापना एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि अग्रज पत्रकार तथा पत्रकारिता जगत्ले खेलेको भूमिका अविस्मरणीय रहेको भन्दै पत्रकारले दबाब र अभावसँग सम्झौता नगरी आफ्नो कर्मप्रति इमानदारिता प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभयो ।  

प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै सिर्जना गरेको उल्लेख गर्दै उहाँले डिजिटल मिडियाको सन्तुलित प्रयोग गर्दै पत्रकारिताको विश्वसनीयता अभिवृद्धि गर्ने दिशामा पत्रकार स्वयम् क्रियाशील हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले स्रोतसाधन, प्रविधिको अभावमा पनि दिनरात खटिएर नयाँ र रोचक समाचार सम्प्रेषण हुने गर्थे । औपचारिक शिक्षाको कमी भए पनि पत्रकारको निजी मेहनत र परिश्रमले समाचारको गुणात्मकता थियो । हिजो पेसागत मान प्रतिष्ठा र इज्जत थियो तर आजभोलि डिजिटल प्रविधि, स्रोतसाधनको पर्याप्तता हुँदाहुँदै पनि समाचारका स्रोतमा परिनिर्भरता बढेको छ ।”