नवराज श्रेष्ठ
रामेछाप, जेठ २ गते । रामेछापको हिमाली पालिका उमाकुण्ड गाउँपालिका कार्यालयको सुविधा सम्पन्न प्रशासकीय भवन बने पनि दुई महिना बित्दा पनि हस्तान्तरण हुन सकेको छैन ।
भौगोलिक रूपमा जिल्लाकै सबैभन्दा ठुलो गाउँपालिकाको भवन निर्माण सुरु भएको तीन वर्षमा प्रशासकीय भवन बनको हो । गत चैत महिनाको पहिलो हप्ता नै प्रशासनिक भवन निर्माण सम्पन्न भए पनि अझै हस्तान्तरण हुन सकेको छैन । हस्तान्तरण नभएकै कारण गाउँपालिकाको सेवा प्रवाह पुरानै अस्थायी प्रिप्याफ भवनबाट भइरहेको छ ।
पूर्वाधार विकास कार्यालय रामेछापको ६० र उमाकुण्ड गाउँपालिकाको ४० प्रतिशत बजेटबाट तीन वर्षमा निर्माण सक्नेगरी २०७८ चैत ७ गते भवन निर्माणको सम्झौता भएको थियो ।
यो भवन निर्माणको जिम्मा गौरा बङ्गलामुखी जेभीले पाएको थियो । निर्माण कम्पनीले सम्झौता भएकै समय २०८१ चैत पहिलो हप्ता नै भवन निर्माणको काम सकिसकेको छ । तर अझै भवन गाउँपालिकालाई हस्तान्तरण हुन सकेको छैन ।
एक करोड ४२ लाखभन्दा बढी रकम भुक्तानी गर्न बाँकी भएकाले भवन पालिकालाई हस्तान्तरण गर्न नसकिएको गौरा बङ्गलामुखी जेभिका प्रतिनिधि प्रदीप बस्नेत बताउनुभयो ।
उहाँले भन्नुभयो, “तीन वर्षमा निर्माण सक्नेगरी २०७८ चैत ७ गते भवन निर्माणको सम्झौता भएको हो । सम्झौताअनुसार २०८१ चैत पहिलो हप्तामा नै भवन बनिसकेको छ । तर पूर्वाधार विकास कार्यालयबाट एक करोड ४२ लाख रुपियाँभन्दा बढी रकम भुक्तानी हुन बाँकी छ । यसले गर्दा बनिसकेको भवन पालिकालाई हस्तान्तरण गर्न नसकिएको हो ।”
उहाँका अनुसार आठ करोड २६ लाख ६८ हजार २०२ रुपियाँमा ठेक्का सम्झौता भए पनि निर्माण सम्पन्न हुँदा लागत बढेर नौ करोड १७ लाख ८२ हजार ८३० रुपियाँ पुगेको छ । अझै एक करोड ४२ लाख २९ हजार ५७० रुपियाँ भुक्तानी हुँदा बाँकी रहेको उहाँले बताउनुभयो ।