काठमाडौँ, जेठ २ गते। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी मन्त्री भुपेन्दर यादवबिच आज भेटवार्ता भएको छ।
परराष्ट्रमन्त्री डा राणा र सगरमाथा संवादका लागि नेपाल आउनुभएका भारतीय मन्त्री यादवबिच आज सो ‘साइडलाइन’ भेटवार्ता भएको हो।
त्यस अवसरमा नेपाल भारत सम्बन्धका विविध आयामहरूका साथै आपसी, हित र सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो।
भेटमा मन्त्री डा. राणाले नेपालले अयोजना गरेको सगरमाथा संवादको पहिलो संस्करणमा सहभागी भएकामा भारतीय मन्त्री यादव र भारत सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।
नेपाल र भारतबिच जैविक विविधता संरक्षणका क्षेत्रमा आज समझदारीपत्रमा हस्ताक्षर भएको प्रसङ्ग उल्लेख गर्दै उहाँहरूले उक्त सम्झौता दुई देशका लागि यस क्षेत्रको महत्त्वपूर्ण रहेको पनि बताउनुभयो। नेपाल र भारतबिच पछिल्लो समयमा जारी रहेका द्विपक्षीय भेटवार्ताहरू, औपचारिक बैठक, विविध विषयहरूमा भइरहेका इङ्गेजमेन्टका बारेमा पनि सो बैठकमा कुराकानी भएको थियो।
साथै जलवायु परिवर्तनको मुद्दा नेपाल र भारतको साझा मुद्दा भएकाले यसको असरलाई कम गर्ने विषयमा के कसरी सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने बारेमा पनि उहाँहरूबिच कुराकानी भएको थियो। सगरमाथा संवादमा सहभागिताका लागि भारतीय मन्त्री यादव बिहीबार काठमाडौँ आउनुभएको थियो।