जनार्जन खत्री
सर्लाही, जेठ २ गते । सर्लाहीको हरिवन नगरपालिकाले कोदो र कुुर्थी अर्थात् गहत फलाउने किसानलाई अनुदान प्रदान गरेको छ । लोपोन्मुख तथा रैथाने बाली संरक्षण, सम्वर्धन तथा उपयोग अनुदान कार्यक्रम अन्तर्गत नगरभित्र कोदो र गहत उत्पादन गर्ने ३८ जना किसानलाई पहिलो पटक अनुदान प्रदान गरिएको हो ।
हरिवन नगरपालिकाले रैथाने बाली अन्तर्गत पर्ने कोदो, आलस, कुर्थी र फापर फलाउने किसानलाई अनुदान प्रदान गर्ने कार्यपालिका बैठकबाटै निर्णय गरेको छ । नगर कार्यपालिकाले बनाएको कार्यविधिअनुसार नगरपालिकामा निवेदन दिएर कोदो र कुुर्थी उत्पादन गर्ने किसानलाई यो वर्षबाट अनुदान दिन सुरु गरिएको हरिवन नगरपालिकाको कृषि शाखाका प्रमुख प्रविन तामाङले जानकारी दिनुुभयो ।
तामाङका अनुसार कोदो उत्पादन गर्ने किसानलाई प्रतिक्विन्टल दुुई हजार रुपियाँ र कुुर्थी उत्पादन गर्ने किसानलाई प्रतिक्विन्टल दुुई हजार ५०० रुपियाँ प्रदान गर्ने कार्यविधिमा उल्लेख छ ।
यो वर्ष नगरको कार्यविधि पूरा गरेका ३८ जना किसानले उत्पादन गरेको ८६.६७ क्विन्टल कोदो र १२.५ क्विन्टल कुर्थीको अनुदान रकम प्रदान गरिएको हो । कोदो र कुुर्थी फलाउने किसानलाई नगरपालिका कार्यालयमै बोलाएर नगर प्रमुख रमेश बुुढाथोकी (कमल), उपप्रमुख हरिमाया घलान र प्रमुख प्रशासकीय अधिकृत हेमराज फुँयालले अनुदान रकम हस्तान्तरण गर्नुभएको छ ।
कृषि शाखाका प्रमुख तामाङका अनुसार नगरभित्र केही किसानले आलस र फापर समेत उत्पादन गरे पनि उहाँहरुले मापदण्ड पुुर्याउन नसकेकाले अनुदान रकम प्राप्त गर्न सकेनन् । रैथाने बाली लगाउने किसानलाई के–कसरी अनुदान लिन सकिन्छ भन्नेबारे प्रष्ट हुन हरिवन नगरपालिका कार्यालयले कृषि शाखाको सम्पर्कमा आउन अनुरोध गरेको छ ।
रैथानी बालीको खेती विस्तार गरी उत्पादन वृद्धि गर्ने उद्देश्यले किसानलाई अनुदानको व्यवस्था गरिएको नगर प्रमुख बुुढाथोकीले बताउनुुभयो । नगरपालिकाको कृषि शाखाका अनुसार चुरेवर्ती क्षेत्रमा प्राय रैथाने बालीको बढी खेती हुने गरेको छ । नगर उपप्रमुख घलानले आगामी वर्षदेखि जुनेलो खेती गर्ने किसानलाई पनि अनुदान प्रदान गर्ने तयारी रहेको बताउनुुभयो ।