• २ जेठ २०८२, शुक्रबार

चन्दा उठाएर गाउँमा आवासीय विद्यालय सुरु

blog

आवासीय कालिका आधारभूत विद्यालय ।

राजकुमार भट्टराई 

खोटाङ, जेठ २ गते । गाउँलेले चन्दा उठाएर खोटाङको कालिका आधारभूत विद्यालयलाई आवासीय विद्यालय बनाइएको छ । रावाबेँसी गाउँपालिका–१ कुभिण्डे दम्कुस्थित कालिका आधारभूत विद्यालयलाई आवासीय बनाइएको हो ।

संस्कारसहितको व्यवहारिक शिक्षा प्रदानको लागि कालिका आविलाई आवासीय विद्यालयको रूपमा सुरु गरिएको विद्यालयले जनाएको छ । यसअघि देखिनै विद्यार्थीलाई कृषि उत्पादनसँग जोडिरहेको विद्यालयले हाल आवास पनि निर्माण गरेर विद्यार्थीलाई विद्यालयमै राख्न सुरु गरेको हो । अहिले पनि विद्यालय परिसरमा विद्यार्थीले उत्पादन गरेका टमाटर, बन्दा, प्याज लगायतका कृषि उपज देख्न सकिन्छ । 

कालिका आविलाई आवासीय विद्यालयको रूपमा सञ्चालन गर्नका लागि वडा सदस्य विशाल राईको संयोजकत्वमा आर्थिक सङ्कलन अभियान सञ्चालन गरिएको छ । हालसम्म करिब ९ लाख रकम विनिभन्न व्यक्तिहरूबाट सहयोग प्राप्त भएको समितिका कोषाध्यक्ष भीमबहादुर राईले बताउनुभयो । किचन निर्माण, सामग्री खरिद, खाद्यान्य खरित लगायतमा करिब ४ लाख खर्च भएको उहाँको भनाइ छ । आवास सञ्चालनका लागि रावाबेँसी गाउँपालिकाले १५ थान सिरक, डस्ना, तन्ना र ३० थान सिरानी प्रदान गरेको संयोजक राईले बताउनुभयो ।

सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून भइरहेको अवस्थामा कालिका आविले आवास र अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेर यो वर्ष विद्यार्थी सङ्ख्यामा वृद्धि गरेको छ । आवासका लागि सम्पूर्ण तयारी पूरा गरेर विद्यालयले जेठ एक गतेबाट औपचारिकरूपमा कालिका आविलाई आवासीय विद्यालय बनाएको छ । 

२०३६ सालमा स्थापना भएको कालिका आधारभूता विद्यालय अहिले कक्षा ८ सम्म सञ्चालनमा छ । यहि वर्षबाट कक्षा ८ सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर राईले बताउनुभयो । कक्षा दुईसम्म अंग्रेजी माध्यमबाट पठनपाठन भइरहेको छ । एक जना कार्यालय सहयोगी, एक जना बाल विकास शिक्षक गरी जम्मा ९ जना विद्यालमा कार्यरत रहेको प्रधानाध्यापक टीकाराम राईले बताउनुभयो । 

अघिल्लो वर्ष विद्यालयमा ४२ जना विद्यार्थी थिए । यो वर्ष विद्यार्थी सङ्ख्या ६२ जना पुगेको छ । आवासीय विद्यालय सञ्चालन सुरु गरेपछि बाहिरबाट २२ जना विद्यार्थी कालिका आविमा आएका छन् । सोही गाउँबाट निजी विद्यालय गएका ४ जना विद्यार्थी कालिका आविमै फर्किएका छन् भने एक जना हलेसी, २ जना बुइपाबाट, हुर्लुङबाट २ जना र कुभिन्डेबाट १३ जना विद्यार्थी दम्कुस्थित कालिका आविमा आएको प्रधानाध्यापक राईले बताउनुभयो । कालिका आविमा पठनपाठन पनि राम्रो रहेको र आवाससहित सुरु गरेको हुँदा आफुहरूले पनि छोराछोरी सोही विद्यालयमा ल्याएको अभिभावकहरू बताउनुहुन्छ ।

आवासमा दलित, गरिब र अभिभावक बिहिन १० जना विद्यार्थीलाई निशूल्क राख्ने विद्यालयको योजना रहेको छ । हाल उक्त कोटामा ७ जना विद्यार्थी निःशुल्क बस्न सुरु गरेका छन् । हाल छात्र आवासमा १४ जना र छात्रा आवासमा २० जना विद्यार्थी बस्न सुरु गरेको प्रधानाध्यापक राईले बताउनुभयो । विद्यार्थीको सहयोगका लागि छात्राहरूसँग एक जना शिक्षिका र छात्रहरूसँग एक जना शिक्षक पनि रहनेगरी व्यवस्थापन गरिएको उहाँको भनाइ छ । प्रधानाध्यापक राईका पनि २ छोरी आवासमै बस्न सुरु गरेका छन् । 

आवासमा बसेका विद्यार्थीलाई खाना खाजा पकाउनका लागि एक जना कर्मचारी विद्यालयले राखेको छ । महिनाको ६५० सरसफाइ शुल्क र १ हजार ५ सय आवास शुल्क विद्यार्थीका अभिभावकबाट लिइने प्रधानाध्यापक राईले बताउनुभयो । कक्षा तीनदेखि माथिका विद्यार्थीलाई भरसक शुल्क नतिराउने आफैँ सरसफाइमा लगाउने विद्यालयको नीति छ ।

हाल पुरानो र नयाँ गरी कालिका आविको पाँच वटा भवन रहेका छन् । इको हिमाल संस्थाले दिएको दुई लाख ५० हजार र स्थानीयको करिब डेढ लाख बराबरको जनश्रमदानबाट नयाँ तीन कोठे एउटा भवन निर्माण भएको छ । कालिका आविलाई आवासीय विद्यालयको रूपमा सञ्चालनका लागि थप व्यवस्थित र दीर्घकालिन बनाउनका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने पालिका अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।