• २ जेठ २०८२, शुक्रबार

मितेरी सम्बन्ध

ललितपुरका प्रमुख महर्जनद्वारा गुल्मीको मालिका मन्दिर उद्घाटन

blog

मालिका गाउँपालिका–४ मा निर्माण गरिएको मालिका भगवतीको मन्दिर उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबावु मर्हजन । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा, जेठ २ गते । गुल्मीको मालिका गाउँपालिकामा निर्माण भएको मालिका भगवती मन्दिरको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु मर्हजनले उद्घाटन गर्नुभएको छ । तीन वर्षदेखि मालिका गाउँपालिका र ललितपुर महानगरपालिकाबिच मितेरी सम्बन्ध रहेको छ । 

सोही सम्बन्धको कारण ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा मालिका गाउँपालिका–४ अर्खाबाङ्गमा पौराणिक मालिका भगवती मन्दिर निर्माण गरिएको थियो ।

ललितपुर महानगरपालिकाको ७० लाख र मालिका गाउँपालिका तथा स्थानीय जनश्रमदान १० लाख गरेर ८० लाख रुपियाँमा मन्दिर निर्माण गरिएको हो । मन्दिर ललितपुरकै शैलीमा निकै कलात्मक र पौराणीक बनेकोमा आफुलाई निकै आनन्द लागेको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु मर्हजनले बताउनुभयो । उहाँले दुवै स्थानीय तहका असल अभ्यास आदान–प्रदान गर्ने उद्येश्यले मितेरी सम्बन्ध गाँसिएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि आर्थिक तथा सामाजिक क्षेत्रमा ललितपुरले सहयोगलाई निरन्तरता दिने महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामै पहिलो पटक आएकाले निकै आनन्दको महसुस भएको छ । 

असल अभ्यास आदान–प्रदान र सहयोगलाई निरन्तरता दिइनेछ । प्रमुख मर्हजन मालिका गाउँपालिकाका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ । मालिका गाउँपालिकाका अध्यक्ष देविराम अर्यालले ललितपुर महानगरपालिका धेरै हिसावले सम्पन्न रहेकाले मालिकाले सहयोगसँगै राम्रा अभ्यासहरु आफूहरुले पनि कार्यान्वयन गर्ने बताउनुभयो । उहाँले ललितपुर धार्मिक दृष्टिकोणले स्थापित भएकाले आफूहरुले पहिलो सहयोग धार्मिक क्षेत्रमै प्रयोग गरेको बताउनुभयो । 

मालिका गाउँपालिकामा उपाध्यक्ष उपेन्द्र अर्यालले ललितपुरबाट हुने आर्थिक सहयोगबाट मालिका पिस पार्कमा संरचना निर्माण गरिने बताउनुभयो । मालिका पिसपार्क मालिकाको गौरवको योजना भएकाले दुवै स्थानीय तहबाट पार्कभित्र बन्ने संरचनाले पर्यटकीय आर्कषण बढाउने र अध्धयन समेत हुने अपेक्षा रहेको बताउनुभयो ।