काठमाडौँ, जेठ २ गते । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेतृत्व फेरिएकै कारण विद्युत आपूर्तिमा समस्या नआएको दाबी गर्नुभएको छ ।
सङ्घीय राजधानी काठमाडौँलगायत देशका विभिन्न स्थानमा शुक्रबार अवरुद्ध विद्युत आपूर्तिबारे जानकारी दिन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिलेको मौसमका कारण समस्या आएको स्पष्ट पार्नुभएको हो ।
विगतका वर्षहरुमा पनि चैतदेखि जेठसम्म यस प्रकारका समस्या आउने गरेको बताउँदै उहाँले वर्षा सुरु हुनुअघि केही दिन हावाहुरी र पानीका कारण समस्या आए पनि अन्य समयमा सामान्य हुने बताउनुभयो । बत्ती जानुमा अहिले अन्य कारण केही नभएको दाबी गर्नुभयो ।
समस्या आइसकेपछि कराउने नभइ समयमै सुधार्नुपर्ने उहाँको भनाइ छ । समस्याको पहिचान भएको र त्यसलाई सुधार्नेतर्फ आपूm लागिपरेको उहाँको भनाइ थियो । प्राविधिक समस्याले विद्युत आपूर्तिमा गडबडी हुँदा लोडसेडिङ नै भयो भनेर हल्ला नफिजाउन आग्रह गर्दै कार्यकारी प्रमुख शाक्यले समस्या समाधानका लागि आपूmले जानेका सबै कुरा गर्ने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘पश्चिमको लाइन ट्रीप भएका कारणले करिव २ घण्टा विद्युत प्रशारण अवरोध भएको हो । करिब ८ बजेमात्र ढल्केबर–मजफरपुर प्रशारणलाईन नियमित भएसँगै विद्युत आपूर्ति सहज भयो । त्यसैले ढल्केबर–मजफरपुर लाइन कति महत्त्वपूर्ण छ भन्नेकुरा हिजोको घटनाले पनि पुष्टि गरेको छ ।’’
उहाँले यस प्रकारका सानातिना समस्यामा चिन्ता नलिन र विगतको भन्दा राम्रो गर्नेगरी काम भइरहेको बताउनुभयो ।