कल्पना खरेल
नवलपरासी पश्चिम, जेठ २ गते । नवलपरासी पश्चिममा नापनक्सा भएको अन्ठाउन्न वर्षपछि पुनः नाप नक्सा कार्य सुरु भएको छ । २०२४ सालमा नापिएका नापःनक्साद्वारा सिर्जित विभिन्न खालका समस्या समाधानका लागि भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले नवलपरासी जिल्लामा राजपत्र प्रकाशन गरी अनुमति प्रदान गरेपछि पुनः नापी कार्य सुरु भएको हो ।
पुनः नापनक्सा कार्य जिल्लाको सुनवल नगरपालिका १ बाट सुरु भएको हो । लामो समयसम्म पुनः नाप नक्सा नहुँदा कुलोको नक्सामा घर, बाटो, आफू बसेको घर अर्कैको नक्सामा, नक्सामा बढी जग्गा तर भोगचलन कम, भोगचलन बढी तर नक्सामा कम जस्ता जग्गामा देखिएको नक्सा विवादका समस्याहरु दिनानुदिन बढ्दै गएपछि पटकपटक पुनः नापीको माग गर्दै आएको सुनवल नगरप्रमुख विमला अर्यालले बताउनुभयो ।
उहाँले पुनः नापनक्सा कार्यक्रमले लामो समयको अन्तरालमा थुप्रै भौतिक तथा सामाजिक संरचना निर्माण भएकाले संरचनाको परिवर्तनसँगै यथार्त रुपमा नक्सामा राखेर तथांकलाई यथार्थपूरक बनाउन मद्दत पुग्ने बताउनुभयो ।
पुनः नापनक्सा कार्यका लागि नापी कार्यालय परासीबाट ३ जना कर्मचारी र सुनवल नगरपालिकाबाट २ जना प्राविधिक खटाइएको छ । तीन वटा नगरपालिका र चारवटा गाउँपालिका गरी ७ पालिका रहेको यस जिल्लाको सबै पालिकामा नक्सा विवाद देखिएपछि सबैभन्दा बढी नक्सा विवाद सुस्ता गाउँपालिकामा रहेको नापी कार्यालय परासीका प्रमुख कैलाशनाथ पाण्डेले बताउनुभयो ।
यस टोलीले वनको जग्गा बाहेक भूमिहिन दलित, भूमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबासीको जग्गा मात्र नभई लालपुर्जा भएका सबै जग्गाको समेत पुनः नापनक्सा गर्नेछ । पुन ः नापनक्सा भएपछि नयाँ लालपुर्जा वितरण गरिनेभएकोले पुरानो लालपुर्जाले कुनैपनि अर्थ राख्नेछैन ।
सुनवल नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले नापजाचँमा खटिएका सर्वेक्षकलाई सहजीकरणको लागि स्थानीयबासीलाई आग्रह गर्नुभयो । पुनः नाप नक्सा सरु भएसँगै नक्सा विवादमा लामो समय पिरोलिएका स्थानियबासी यतिबेला हर्षित भएका छन् ।