हरिप्रसाद कोइराला
उर्लाबारी, जेठ २ गते । दक्षिणी मोरङको रतुवामाई नगरपालिकाको प्रमुख प्रशासनिक भवन निर्माण अन्तिम चरमा पुगेको छ । लामो समय निर्माण प्रक्रिया रोकिएर पुनः निर्माण थालेको ठेकदार कम्पनीले २०८२ को दशैंमा कार्यालय सर्ने गरी काम गरिरहेको छ ।
नगरपालिकाका लेखा अधिकृत एवम् सुचना अधिकारी निता सिग्देलका अनुसार हालसम्म ५० प्रतिशत भौतिक प्रगति भएको छ भने ३७ दशमलव २९ प्रतिशत वित्तीय प्रगति भएको छ । अबको काम वाल फिनिसिङ, विद्युत वाइरिङ, धारा जडान, मार्वल विच्छ्याउने मात्र बाँकी छ । निर्माण कम्पनीले दशैं सम्ममा सक्ने गरी काम गर्ने प्रतिवद्धता जनाएको सूचना अधिकारी सिग्देलले बताउनुभयो ।
साविकका महादेवा, झुर्किया, सिंजुवा, इटहरा गाविस पुरै र बरडङ्गा, गोविन्दपुर गाविसका ४-४ वडा मिलेर बनेको रतुवामाई जिल्लाको दक्षिण पूर्वमा पर्ने नगरपालिका हो । राज्य पुनसंरचना आयोगले रतुवामाई नगरपालिकाको केन्द्र साविकको सिंजुवा गाविस कार्यालयलाई तोक्यो । नगरपालिका भएपछि वडा नम्बर ७ मा परेको गाविस कार्यालय साँघुरो थियो । सो भवनबाट नगरपालिकाको कार्यालय सञ्चालन गर्न सकिने भएपछि सिंजुवामा नै भाडाको घरमा बस्न थालेको नगरपालिकाको सेवा विगत नौ वर्षदेखि भाडाको घरबाटै चलिरहेको छ ।
सुरुका ४ वर्ष जग्गा प्राप्तिमा अल्मलिएको नगरपालिकाले २०७८ मा जग्गा प्राप्त गरी भवन निर्माणको प्रक्रिया सुरु गरेको थियो । हाल भाडामा रहेको भवनबाट पश्चिम दक्षिणमा स्थानीय भीमप्रसाद भट्टराई र टेकनाथ भट्टराईले १ विगाहा जग्गा निशुल्क उपलब्ध गराउनु भएको थियो । भट्टराई दाजुभाइले नगरपालिका भवन अन्यत्र नबनाउने सर्तमा जग्गा निशुल्क दिनुभएको थियो ।
भट्टराई दाजुभाईले प्रदान गरेको सोही जग्गामा भवन निर्माणको टेण्डर आह्वान भयो । २०७८ भदौ २८ गते नगरपालिकाले निर्माणको टेण्डर प्राप्त गरेको भूमि वीसीपीएल जेभीसँग भवन निर्माणको सम्झौता गरेको थियो । सम्झौता अनुसार निर्माण कम्पनीले भ्याट सहित ९ करोड ४१ लाख ६४ हजार १७४ रुपियाँमा भवन निर्माण गरी २०८१ को भदौ २५ गते प्रमुख प्रशासनिक भवन नगरपालिकालाई जिम्मा लगाउनु पर्ने थियो ।
डिपीआर निर्माण गर्दा १६ करोड रुपियाँको लागत इष्टमेट तयार भएको थियो । तर घटाघटमा झण्डै ७ करोड रुपियाँ कमीमा ९ करोड ४१ लाख ६४ हजार १७४ रुपियाँमा निर्माण हुने गरी ठेक्का सम्झौता भयो । त्यसबेला ठूलो खर्च जोगिएको भन्दै पालिकाका जनप्रतिनिधिले खुसी प्रकट गरेका थिए ।तर, ठेकदारलेबिच मै काम छोडेर हिँडेपछि ११ महिना काम रोकिएको थियो ।
मोरङका एक महानगरपालिका ,आठ नगरपालिका र आठ गाउँपालिका मध्ये रतुवामाई नगरपालिका मात्र अझैसम्म भाडाको घरबाट सञ्चालन भइरहेको छ। नगरपालिकाले मासिक मासिक १ लाख ५२ हजार रुपियाँका दरले वार्षिक १८ लाख २४ हजार रुपियाँ घरभाडा तिर्दै आएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्वरुबल्लभ बरालले एउटै घरमा कोठा नपुगेर स्वास्थ्य शाखा, रोजगार सेवा केन्द्र उद्यम विकास शाखा, शिक्षा, युवा तथा खेलकुद, कृषि एवम् महिला बालबालिका शाखा, आयुर्वेद शाखा अलग अलग घरमा भाडामा राखिएको बताउनुभयो । उहाँले निर्माण कम्पनीले हाल तीब्र गतिमा काम गरिरहेकाले दशैं सम्ममा नयाँ भवनबाट सेवा गर्न सकिनेमा आशावादी रहेको बताउनुभयो ।