अमरराज नहर्की
तनहुँ, जेठ २ गते । विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा अन्तर्गत पूर्वीखण्डको काम अन्तिम चरणमा पुगेको छ । अन्तिम चरणमा पुगेसँगै अधिकांश भागमा कालोपत्रे भएकाले यस खण्डको यात्रा सहज भएको छ । निर्माणको चरणमा पानी पर्दा हिलो तथा सुक्खा हुँदाको धुलोलाई बिर्साउँदै सहज यात्रा गर्न पाउँदा स्थानीय र यात्रु खुसी भएका छन् ।
व्यास नगरपालिका–२, सुनचाँदी लाइन, दमौली निवासी शिवहरि धितालले यात्रा सहज हुँदा खुसी लागेको बताउनुभयो । दमौलीमा काम ढिलो सुरु गरिएकाले धुलोले धेरै प्रभावित हुनु परे पनि हाल कामले गति लिँदा खुसी लागेको उहाँको भनाइ छ । पूर्वीखण्डको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.४५ किलोमिटर दुरीमध्ये अब करिब तीन किलोमिटर मात्रै कालोपत्रे गर्न बाँकी रहेकाले यात्रा सहज भएको हो । असार महिनाभित्रै कालोपत्रे गरिसक्ने तयारी साथ काम भइरहेको र तीन किलोमिटर मात्रै कालोपत्रको काम बाँकी रहेको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
निर्माण गर्ने ठेकेदारको म्याद जेठ २९ सम्म रहेकामा त्यस अवधिभित्रै काम सम्पन्न गर्ने गरी काम भइरहेको पाण्डेले बताउनुभयो । तनहुँको सदरमुकाम दमौली बजारको एक हजार आठ सय मिटर, बन्दीपुर गाउँपालिकास्थित डुम्रे बजारनजिक तीन सय मिटर र सोही गाउँपालिकाको विमलनगरमा सात सय मिटर खण्ड मात्रै कालोपत्रे गर्न बाँकी रहेको पाण्डेले बताउनुभयो । पाण्डेका अनुसार दमौली बजार अन्तर्गत बागबजार र मुख्य चोकमा कालोपत्रे भइसकेको छ । पूर्वी खण्डका कालोपत्रे सकिएका ठाउँमा सडक मार्किङ गर्ने काम पनि भइरहेको छ ।
पूर्वी खण्डमा २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ देखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैँक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।
योजनाको पूर्वी खण्डको तुलनामा पश्चिम खण्डको प्रगति कमजोर छ । पश्चिम खण्ड अन्तर्गत जामुनेदेखि पोखरासम्मको खण्डको प्रगति ५२ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ ।