• १३ असार २०८१, बिहिबार

सामाजिक सुरक्षा कोष

परिचयपत्रका आधारमा स्वास्थ्य सेवा लिन सकिने

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, जेठ २७ गते  । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने योगदानकर्ताले कोषमा योगदान गरेको परिचयपत्र देखाएर स्वास्थ्य उपचार सेवा लिन सक्नेछन् । कोष र पाटन अस्पतालबीच बिहीबार भएको सम्झौताअनुसार योगदानकर्ताले कोषमा योगदान गरेको परिचयपत्र देखाएर स्वास्थ्य सेवा लिनसक्ने भएका हुन् । 

कोषका अनुसार कोषमा योगदान गरेका योगदानकर्ताका लागि पाटन अस्पतालले बिहीबारदेखि नै स्वास्थ्य उपचार सेवा सुरु गरिसकेको छ । यसअघि उक्त अस्पतालमा उपचार गर्नेले पैसा आफैँले तिर्नुुपर्थ्याे र बिल कोषमा पेस गरेपछि भुक्तानी पाइथ्यो ।

अब भने परिचयपत्र देखाएपछि उपचार खर्चको २० प्रतिशत मात्रै बिरामीले बेहोर्नुपर्छ । यस्तै कोषले शुक्रबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जबाट पनि यस प्रकारको स्वास्थ्य सेवा दिन थालिने जानकारी दिएको छ । 

कोषका सहप्रवक्ता रोहित रेग्मीले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत भएका योगदाकर्ताले सामाजिक सुरक्षा नम्बरसहितको परिचयपत्र देखाएर वार्षिक रूपमा एक लाख रुपियाँसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा लिनसक्ने बताउनुभयो । उहाँले आउँदो साता तिलगङ्गा आँखा अस्पताल, वीर अस्पताल, मनमोहन मेमोरियल मेडिकल कलेज शिक्षण अस्पतालसँग सम्झौता गरेर योगदानकर्तालाई सूचीकृत दिन थालिने पनि जानकारी दिनुभयो ।  

सहप्रवक्ता रेग्मीका अनुसार यसअघि उपत्यकाका हेल्पिङ ह्यान्डस सामुदायिक अस्पताल, कलेज अफ मेडिकल साइन्सेस, नेपाल अर्थोपेडिक अस्पताल, काठमाडौँ मेडिकल कलेज, शिर मेमोरियल अस्पतालले योगदानकर्तालाई स्वास्थ्य उपचार दिन थालिसकेका छन् । कोषका अनुसार कोषमा सूचीकृत भएका १२६ वटा अस्पतालबाट स्वास्थ्य सेवा लिन सक्नेछन् ।

यस्तै कोषमा योगदान गरेको नम्बरसहितको परिचयपत्र देखाएर २२ अस्पतालबाट सेवा लिन सक्नेछन् । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका तीन लाख ३८ हजार १५० योगदानकर्ताले कोषले उपलब्ध गराएको सामाजिक सुरक्षा नम्बरसहितको परिचयपत्र देखाएर ती अस्पतालबाट वार्षिक एक लाख बराबरको स्वास्थ्य उपचार सेवा लिन सक्नेछन् । 

कोषका अनुसार यसअघि योगदानकर्ताले सूचीकृत अस्पतालमा उपचार गरेको बिल पेस गरेर उपचार सुविधा लिँदै आएका थिए । कोषले देशभरका २२ अस्पतालसँग सम्झौता गरी योगदानकर्ताले परिचयपत्र देखाएर औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुविधा लिनसक्ने व्यवस्था मिलाएको छ ।

योगदानकर्ताले झापा बिर्तामोडको मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल, विराटनगरको विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज र हाम्रो अस्पताल, सर्लाहीको नमुना सामुदायिक अस्पताल र वीरगञ्जको नेसनल मेडिकल कलेजबाट परिचयपत्र देखाएर उपचार सुविधा लिन सक्नेछन् । परिचयपत्र देखाएर उपचार सुविधा लिन सक्ने व्यवस्था भएसँगै योगदानकर्ताले उपचार खर्चको बिल कोषमा पठाएर भुक्तानी लिनुपर्ने अवस्थाको अन्त्य भएको छ । 

योगदानकर्ताले कोषमा सूचीकृत अस्पतालबाट मात्र त्यस्तो सुविधा पाउनेछन् । उपचार सुविधाका लागि पछिल्लो तीन महिना नियमित योगदान रकम कोषमा जम्मा गरेको हुनुपर्छ । योगदानकर्ताले कोषमा सूचीकृत जुनसुकै अस्पतालबाट उपचार सुविधा लिन सक्नेछन् । योगदानकर्ताले एक आर्थिक वर्षमा एक लाख रुपियाँ नबढ्ने गरी बहिरङ्ग र अन्तरङ्गअन्तर्गतका उपचार खर्च सुविधा प्राप्त गर्नेछन् ।