• १२ असोज २०८१, शनिबार

मध्यभोटेकोसी जलविद्युत् आयोजना : ढुङ्गा–माटोले स्थानीयलाई समस्या

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, जेठ २७ गते ।  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ स्थित जम्बुमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको सुरुङ निर्माणको क्रममा निस्केको ढुङ्गा–माटो भोटेकोसी नदी र बस्तीमा अव्यवस्थित रूपमा फाल्दा स्थानीयवासीलाई समस्या भएको छ । 

सुरुङ खन्ने क्रममा ब्लास्टिङ गरेर निस्केको ढुङ्गा–माटो नदीमा फाल्दा नदी आसपास क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीले सास्ती बेहोर्नुपरेको हो । सुरुङमा विस्फोट गर्दा निस्कने रासायनिक पदार्थसमेत मिसिएको ढुङ्गा–माटोेले नदी प्रणाली प्रभावित भएको छ ।

बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले ब्लास्टिङको रासायनिक दुर्गन्धले जम्बु, बाह्रबिसे, चाकु, लामोसाँघुलगायतका नदी आसपासका स्थानीयवासीमा विभिन्न जटिल रोग देखिन थालेको सुनाउनुभयो । “जथाभावी नफाल्न पहिलेदेखि आग्रह गरिएको छ तर निर्माण कम्पनी र आयोजना पक्षले आग्रह अटेर गर्दै आएका छन्,” उहाँले भन्नुभयो । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, चरीकोट सडक डिभिजन प्रमुख अर्जुन सुवाल, प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवसहित नगरप्रमुख बस्नेत, उपप्रमुख मञ्जु तामाङ, भोटेकोसी गाउँपालिका अध्यक्ष पासाङनुर्पु लामा, उपाध्यक्ष दिछेन शेर्पालगायतले प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको थियो । नदी र बस्ती छेउमा जथाभावी फालिएको सामग्री सुरक्षित स्थानमा डम्पिङ गर्न पूर्वमन्त्री बस्नेतले आग्रह गर्नुभएको छ । 

आयोजनाका जनसम्पर्क व्यक्ति रामकृष्ण अधिकारीले मकिङ डम्पिङका लागि चाकु, जम्बु, चिप्लिङडाँडा, बोर्डरल्यान्ड क्षेत्रमा मन्त्रिपरिषदबाट स्वीकृत गरी सञ्चालनमा ल्याइएको बताउनुभयो । ठेकेदार चिनियाँ कम्पनी ग्वाङ्सी कन्स्ट्रक्सन प्रालिका कामदारले मकिङ तोकिएभन्दा फरक केही स्थानीय व्यक्तिको जग्गामा फालेकोले यस्ता समस्या आएको र यसबारे आयोजनालाई खबर पुगेको उहाँले उल्लेख गर्नुभयो ।