तराईका जिल्लालाई आपसमा जोड्ने हुलाकी राजमार्ग बनेपछि कोशी प्रदेशको विराटनगरबाट अन्यत्र जाने दुरी छोट्टिएको छ । मोरङको रतुवामाई नगरपालिका र झापाको गौरीगन्ज गाउँपालिका जोड्ने रतुवाखोलामा पुल निर्माण भएपछि महेन्द्र राजमार्गको वैकल्पिक सडकका रूपमा यो सडक प्रयोग हुन थालेको छ । सडक र विद्युत् पूर्वाधार विकासका पहिलो आधारस्तम्भ हुन् । रतुवामाई नगरपालिका–१, साबिकको बरडङ्गाका बासिन्दा दुई दशकअघिसम्म घन्टाँै लगाएर रङ्गेली र विराटनगर पुग्थे । बरडङ्गाका मात्र होइन, साबिकका महादेवा, झुर्किया, सिँजुवाका बासिन्दालाई रङ्गेली र विराटनगर पुग्नभन्दा भारतको फूलबडिया बजार पुग्न नजिक हुन्थ्यो । अहिले हुलाकी सडकले तराई मधेशका बासिन्दाको दैनिकी बदलिएको छ । २०८१ माघ २५ देखि रतुवाखोलाको पुल सञ्चालनमा आएपछि हिउँदमा भाटेपुल र वर्षायाममा डुङ्गामा पैसा तिरेर आवातजावत गर्नुपर्ने समस्या स्थायी रूपमा समाधान भएको छ । विराटनगरबाट गौरीगन्जसम्म सडक यातायात सुरु भएको छ । कोशी प्रदेशका दुई जिल्ला झापा र मोरङमा दुई वटा विमानस्थल छन् । विराटनगरबाट सिधा भद्रपुर पुग्न हाल प्रचलनमा रहेको सडकभन्दा यो सडक २४ किलोमिटरले छोटो छ ।
एकातिर स्थानीय सरकार गठन भएपछि गाउँ गाउँमा सडक सञ्जाल विस्तार भएको छ भने अर्कोतिर ती सडकसँग हुलाकी सडकको पहुँच जोडिएपछि दक्षिणी मोरङ र झापा पनि यातायातका दृष्टिले उपयुक्त क्षेत्र बनेका छन् । पहिले सुनसान देखिने हुलाकी सडक किनारमा बाक्लो बस्ती विकास भएको छ । सडक सञ्जालसँगै यातायातसमेत विस्तार भएपछि भारतीय व्यापारीहरू बयलगाडामा उत्तरी मोरङका केराबारी, लेटाङ र मधुमल्ला बजार भर्न हप्तौँ लगाएर आउने गर्थे । त्यस्तै उत्तरी झापाका शनिश्चरे, बुधबारे बजारमा पनि भारतीय व्यापारीको उल्लेख्य भिड हुन्थ्यो । झापाको शनिश्चरे र बुधबारे बजारसँग बिर्तामोड हुँदै भद्रपुरमा हुलाकी सडक जोडिएपछि व्यापारका नयाँ सम्भावना सुरु भएका छन् । यता मोरङमा पनि पूर्वपश्चिम राजमार्गभन्दा उत्तरको मधुमल्ला बजारसँग उर्लाबारी–आमबारी सडक जोडिएको छ ।
आमबारी बजार हुलाकी राजमार्गको मोरङमा पर्ने दक्षिण–पूर्वको प्रमुख बजार हो । यस्तै लेटाङ–कानेपाखेरी–रङ्गेली सडकले पनि हुलाकी सडकसँग नयाँ सम्बन्ध स्थापित गरेको छ । कानेपोखरी–रङ्गेली सडक हुलाकी सडक पार गर्दै भारतीय सीमावर्ती बजार चोर्पाहासम्म पुगेको छ ।
मोरङको लेटाङसँग मात्र होइन, जाँतेसँग पथरी हुँदै डाइनियाबाट भारतको सिक्टी पुग्ने सडकले पनि मोरङको लेटाङ, पथरी, शनिश्चरे, सुनबर्सी र रङ्गेली नगरपालिकाका बासिन्दाका दुःखका दिन सकिएका छन् । यो सडक पनि पूर्वपश्चिम राजमार्गभन्दा १५ किलोमिटर उत्तरदेखि हुलाकी सडकलाई पार गर्दै दक्षिणतर्फ पाँच किलोमिटर अघि पुगेर भारतीय बजारसँग जोडिएको छ ।
हुलाकी राजमार्ग कार्यालयका सूचना अधिकारी उपेन्द्र दासका अनुसार विराटनगरदेखि भद्रपुरसम्मको ९४ किलोमिटर लम्बाइको यस सडकमा अझै चार वटा पुल निर्माण गर्न बाँकी छन् । जसमध्ये तीन वटा पुल अस्थायी रूपमा सञ्चालन भइसकेका छन् । कनकाई पुल अझै अधुरो छ । पुलबाहेक झापा खण्डमा कालोपत्रेको काम सकिएको छ । मोरङको चेका पुलदेखि सिङ्घियाखोलासम्मको १३ किलोमिटर सडक लामो समय रोकिएर पुल निर्माण सुरु भएको छ । कोशी प्रदेशका तराईका जिल्ला जोड्ने हुलाकी सडक छोटो मात्र छैन, जङ्गली जनावर र सवारीसाधनको चाप पनि कम छ । एकातर्फ सडक विस्तारले मानिसलाई कृषि र पशुपालनमा सहज बनाएको छ भने अर्कातर्फ कृषि र पशुपालनमा लागत खर्च पनि घटेको छ । सडक बनेसँगै गाउँ गाउँमा विद्युतीय सवारीसाधनको पहुँच विस्तार भएको छ । सडक किनारमा कृषि उपजको व्यापार गर्ने, दुग्ध व्यवसाय गर्ने किसानको सङ्ख्या बढेको छ ।
हुलाकी सडकले ब्युँतिएको रङ्गेली
कुनै समय रङ्गेली मोरङ जिल्लाको सदरमुकाम थियो । रङ्गेलीबाट सदरमुकाम सरेपछि रङ्गेली रङ्गविहीन भएको थियो । सरकारी अड्डा मात्र होइन, ठुला व्यापारीले पनि मरेको पशुलाई किर्नाले छोडे झैँ रङ्गेलीलाई छोडे । रङ्गेलीलाई जीवित राखिरहेको एक मात्र जिल्ला अस्पतालले जसोतसो रङ्गेलीको इमान जोगाएको थियो ।
विराटनगरबाट रङ्गेली हुँदै भद्रपुरलाई जोड्ने हुलाकी राजमार्ग र कानेपोखरीबाट रङ्गेली हुँदै भारतको चोप्राहा जोड्ने हुलाकी सडक बनेपछि रङ्गेलीमा रङ भरिँदै गएको छ । अझ रङ्गेली नगरपालिकाले दिलीपकुमार अग्रवाल नगरप्रमुख पाएपछि रङ्गेलीले नयाँ जीवन पाएको छ । अहिले रङ्गेली अस्पताल नगरपालिकाले नै सञ्चालन गरिरहेको छ । भारतदेखिका बिरामी रङ्गेलीमा उपचार गर्न आउन थालेका छन् । शताब्दी पुराना मन्दिर, गौशाला र सरकारी कार्यालय धमाधम फर्किएपछि रङ्गेलीबाट बसाइँ सरेर जाने क्रम पनि घट्दो दरमा छ । रङ्गेली मात्र होइन, हुलाकी सडकले डाइनियाँ र आमबारी बजार पनि अहिले उज्यालिएका छन् । गौरीगन्ज बजारले पनि मुहार फेरेको छ । जग्गाजमिन बिक्री गर्दै दमक र बिर्तामोड वा पूर्वपश्चिम राजमार्ग किनारमा बसाइँ सर्नेहरू अहिले पछुताउन थालेका छन् । सडक र विद्युत्सँगै स्वास्थ्य र शिक्षा पनि यसरी नै सबैको पहुँचमा पुग्ने हो भने बसाइँसराइ गर्ने क्रम आधा घट्ने निश्चित छ ।