• ४ जेठ २०८१, शुक्रबार

विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन

blog

कोहलपुर चौराहास्थित विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन ।

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, जेठ २७ गते । बाँकेमा विद्युतीय सवारीका लागि पहिलो पटक चार्जिङ प्वाइन्ट (स्टेसन) सञ्चालन भएको छ । कोहलपुर चौराहास्थित बीबी इन्टरप्राइजेजले विद्युतीय सवारीका लागि चार्जिङ प्वाइन्ट (स्टेसन) सञ्चालन गरेको हो । 

विद्युतीय सवारीसाधन रिचार्ज गर्ने स्टेसन सुरु गरिए पनि केही थप भौतिक संरचना निर्माणकार्य जारी रहेको सो इन्टरप्राइजेजले जनाएको छ । बीबी इन्टरप्राइजेजका सञ्चालक विष्णु खनालले अब चार्जिङ प्वाइन्ट (स्टेसन)को अभावमा समस्यामा परेका सवारीसाधनलाई सहज हुने बताउनुभयो । 

“अहिले पनि दैनिक सातवटा विद्युतीय गाडीले सेवा लिइरहेका छन् । अनौपचारिक रूपमा गाडी जार्च गर्ने र रिफ्रेस सेन्टरका लागि भौतिक संरचना निर्माणकार्य भइरहेको छ,” उहाँले भन्नुभयो, “चार्ज गरेको प्रति युनिट १२ रुपियाँ मात्रै पर्छ ।” बाँके जिल्लामा रहेका विद्युतीय सवारीसाधनका अतिरिक्त कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशलगायतका सवारीसाधनले सो सुविधा पाउनेछन् । 

त्यस्तै, विद्युतीय चार्ज स्टेसन कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा विस्तार गरिने योजना रहेको सञ्चालक खनालले बताउनुभयो । विद्युतीय चार्जिङ प्वाइन्ट स्थापनाका लागि बीबी इन्टरप्राइजेजले कोहलपुर नगर विकास समितिको दुई कट्ठा जग्गा १० वर्षका लागि मासिक २० हजार रुपियाँ भाडामा लिएको छ ।