बैतडी समाचारदाता
बैतडी, वैशाख ३० गते । डम्पिङ साइटको फोहोरमा ढुङ्गा खोज्दै गिट्टी कुटेर माओवादी केन्द्रका एक पूर्वलडाकु आफ्नो दैनिक गुजारा गरिरहनुभएको छ ।
शुक्रबार सो डम्पिङ साइटबाट धुवाँको मुस्लो उडिरहेको थियो । सास फेर्न पनि गाह्रो थियो तर पूर्वलडाकु सुशीलाले त्यहाँ गिट्टी कुटिरहनुभएको देखिएको थियो ।
बैतडीको सित्तड माइतीघर बताउने सुशीला (भगवती सार्की) हाल दशरथ चन्द नगरपालिका–४, बाडीलेकमा बस्दै आउनुभएको छ । उहाँले आफू माओवादीको पूर्वलडाकु भएको बताउनुभयो । सेना समायोजनमा अयोग्य ठहरिएर रित्तो हात घर फर्केपछि गिट्टी कुटेर गुजारा गर्दै आएको उहाँले बताउनुभयो । उहाँसँग कमाइखाने न जग्गा छ न त कुनै रोजगारी । उहाँका श्रीमान् रोजगारी खोज्न भारत जानुभएको छ । तीन जना छोरीसँग बस्दै आउनुभएकी सुशीलाको छाक टार्ने माध्यम डम्पिङ साइटको ढुङ्गा बनेको छ ।
“समाज र देश बदल्न भनेर क्रान्तिमा हिँडियो,” उहाँले भन्नुभयो, “व्यवस्था फेरिएर गणतन्त्र आए पनि अयोग्य लडाकु घरको न घाटको भएको छ ।” माओवादीको तत्कालीन लोकेश स्मृति ब्रिगेड सातौँ डिभिजनमा कार्यरत सुशीलाले घर फर्किने बेलामा एक पैसा पनि नपाएको गुनासो गर्नुभयो । घर फर्किने बेलामा सबै कागजपत्र कमान्डरले राखेको उहाँले बताउनुभयो । केही पाइने भए खबर गरौँला भन्थे तर अहिलेसम्म कुनै खबर नआएको उहाँले गुनासो गर्नुभयो । सङ्घीयता र गणतन्त्रपछि स्थानीय तहको पुनर्संरचना भए पनि विभिन्न कार्यालयमा सहयोगी भर्ना गर्दा नेताले आफ्ना मान्छे राखेको उहाँले बताउनुभयो । अहिलेको व्यवस्था ल्याउन रगत पसिना बगाउने पूर्वलडाकु हेरेको हे¥यै भएको उहाँले बताउनुभयो ।
ज्यानको बाजी थापेर नेताको सुरक्षा गरे पनि अहिले तिनै नेताले आफूलाई नचिनेको पीडा उहाँले सुनाउनुभयो । युद्धका बेला गाउँमा माओवादी नेताले बुर्जुवा शिक्षा पढ्नुहुँदैन भनेपछि कापीकिताब छाडेर युद्धमा लागेको बताउँदै उहाँले बैतडीको सित्तडबाट पुरचौडीहाट हुँदै कैलालीको तालबन्द र बाँके–बर्दिया पुगेको सुशीलाले स्मरण गर्नुभयो । अहिले एउटा सानो घरमा दुःखजिलो गरेर जीवन निर्वाह गरिरहनुभएकी सुशीलाले सानोतिनो रोजगार गर्न पनि शैक्षिक योग्यता माग्दा मन कुँडिने गरेको बताउनुभयो । “पढ्ने उमेरमा युद्धमा लागियो, के के नै हुन्छ भनी सोचेकी थिए, आखिर यस्तो पीडा भोग्नु रहेछ,” हतौडाले ढुङ्गा फोर्दै उहाँले पीडा सुनाउनुभयो ।
गिट्टी कुटेर दैनिक तीनदेखि चार सय रुपियाँ कमाउने गरेको उहाँले बताउनुभयो । नगरपालिकाले फोहोर फाल्न अर्को ठाउँमा जग्गा किन्ने तयारी गरेकाले डम्पिङ साइट अन्त सरेपछि गिट्टीका लागि ढुङ्गा नपाइने होकि भन्ने उहाँलाई चिन्ता छ ।