• २५ वैशाख २०८२, बिहिबार

रेसुङ्गाको स्थापना दिवस : कृषकदेखि विद्यार्थी सम्मान

blog

रमेश विश्वकर्मा

गुल्मी, वैशाख २५ गते। गुल्मीको रेसुङ्गा नगरपालिका स्थापना भएको १२ औँ स्थापना दिवसका अवसरमा कृषकदेखि विद्यार्थीसम्मलाई सम्मान गरिएको छ। स्थापना दिवसमा भएको कार्यक्रमलाई लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले उद्घाटन गर्नुभयो। त्यसअवसरमा नगरपालिकालाई पूर्ण किशोरकिशोरी मैत्री स्वास्थ संस्था युक्त नगरपालिका, पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था युक्त पालिका सुनिश्चितता र दिगोपना तथा पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको छ।

कार्यक्रमलाई उद्घाटन गर्नुहुँदै लुम्बिनी मन्त्री धनेन्द्र कार्कीले देशको आय वृद्धि गर्नेतर्फ सबै लाग्नुपर्ने बताउनुभयो। उहाँले अहिले ऋण उठाएर तलब खुवाउनुपर्ने अवस्था रहेको भन्दै राष्ट्रिय आय बढाउनुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले अहिले रेसुङ्गा नगरपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटनको क्षेत्रमा उल्लेखनीय काम गर्दै गइरहेकोप्रति धन्यवाद दिँदै अब पर्यटनबाटै जिल्लालाई आर्थिक रूपमा समृद्ध बनाउनुपर्ने बताउनुभयो। यसका लागि प्रदेशस्तरबाटै रेसुङ्गालाई अयोध्यासँग जोड्ने कार्यको थालनी गरिएको बताउनुभयो। रेसुङ्गाको प्रचारप्रसार गरी उल्लेखीय रूपमा पर्यटन भित्र्याउन लाग्नुपर्ने बताउनुभयो।

रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले समुन्नत रेसुङ्गा नगरपालिका बनाउने जिम्मेवारीसहित अहिले आफू अगाडि बढेको बताउनुभयो। शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्रमुख केन्द्र विन्दुमा राखेर काम गरिरहेको भन्दै यो अभियानबाट नगरवासीमा आशाको दियो सञ्चार भइरहेको बताउनुभयो। 

नगरपालिका भित्रका स्वास्थ्य र पोषणमा मात्र होइन्, सिङ्गो यस जिल्लाकै ‘गुल्मी अस्पताल, मेरो अस्पताल’ भन्ने अभियान नै सञ्चालन गरी जिल्लावासीको सहजताको लागि स्वास्थ्य सेवा प्रवाहमा विशेषज्ञ डा. सहित सेवा प्रवाहमा सहयोग पुर्‍यारहेको बताउनुभयो। वृद्ध नागरिकका लागि अक्सिजन कन्सन्टेटर उपलब्ध गराउनेदेखि मोतिया विन्दु भएका नागरिकको आँखाको शल्यक्रिया समेत निःशुल्क गराउने गरिएको बताउनुभयो। नगरपालिकाले अभियान नै सञ्चालन गरेपछि अहिले रेसुङ्गा बहुमुखी क्याम्पसमा विद्यार्थीको भर्नादर बढ्दो रहेको उल्लेख गर्नुभयो।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले रेसुङ्गा नगरपालिकाले विकासका कार्यहरू सञ्चालन गरी जनतामा आशा जगाएको बताउनुभयो। व्यवस्था परिवर्तन भइ सङ्घीयतामा गइसकेको बताउँदै अब जनताको जीवनस्तरमा परिवर्तन ल्याउन तीनै तहका सरकार लाग्नुपर्ने बताउनुभयो। उत्पादनमुखी अर्थतन्त्रलाई जोड दिनुपर्ने बेला आएको उपसभापति श्रेष्ठको भनाइ छ। प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले रेसुङ्गा नगरपालिका सम्भावनाले भरिएको नगरपालिका रहेको भन्दै सबैभन्दा धेरै पर्यटनको क्षेत्रलाई ध्यानमा राखेर काम गर्न आवश्यक रहेको बताउनुभयो। रेसुङ्गा नगरपालिकाले पनि पर्यटन र धार्मिक पर्यटनको क्षेत्रमा काम थुप्रै उल्लेखनीय काम गरिरहेको बताउनुभयो।


रेसुङ्गा नगरपालिकाले नगरपालिका स्थापना दिवसको अवसरमा डाक्टर, विद्यालय, विद्यार्थी, उद्यमी, कृषक, श्रमिकलाई सम्मान गरेको छ। गुल्मी अस्पतालका तीन जना डाक्टरलाई सम्मान गरेको हो। जसमा हाडजोर्नी रोग विशेषज्ञ डा. प्रदीप शिवाकोटी, स्त्रीरोग विशेषज्ञ डा. सोफिया थापा र डाक्टर हिमाल थापालाई सम्मान पत्र सहित सम्मान गरिएको हो। रेसुङ्गा जल उद्योग स्थापना गरी सञ्चालन गरिरहेका सन्तोष कुँवर लगायतलाई सम्मान गरिएको बताइएको छ। त्यसअवसरमा पूर्व खेलाडी बक्सर कृष्ण प्रसाद थापालाई मृत्युपर्यन्त सम्मान गरिएको छ। सो सम्मान उहाँकी धर्मपत्नी रामकुमारीलाई  प्रदान गरिएको थियो।

शैक्षिक शत्र २०८१ मा सञ्चालित नगरस्तरीय परीक्षा, २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट हुने विद्यार्थीहरू, कक्षा १२ को परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको हो। उत्कृष्ट विद्यालयका रूपमा सामुदायिकतर्फ महेन्द्र माध्यमिक विद्यालय, सिद्वबाबा माध्यमिक विद्यालय, रेसुङ्गा माध्यमिक विद्यालय र संस्थागत विद्यालयतर्फ ब्रिलियन्ट युनाइटेड ऐकेडमीलाई सम्मान गरिएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सामुदायिक आयोजनाहरूमा काम गर्ने उत्कृष्ट श्रमिकहरूलाई सम्मान गरिएको छ। रेसुङ्गा नगरपालिका वडा नम्बर १ देखि १४ सम्मका प्रत्येक वडामा सञ्चालित सामुदायिक आयोजनाहरूमा काम गर्ने उत्कृष्ट श्रमिकहरूलाई सम्मान गरिएको रेसुङ्गा नगरपालिकाका प्रवक्ता राम्जी पन्थीले जानकारी दिनुभयो।


उहाँका अनुसार वडा नम्बर १ देखि १४ सम्मका उत्कृष्ट श्रमिक कृष्णबहादुर विक, खिमकला कामी, लिलाराम खनाल, दुर्गाप्रसाद पन्थी, टोपलाल पौडेल, गोपाल खनाल, बोमबहादुर विक, सन्तोष नेपाली, लक्ष्मण नेपाली, लक्ष्मी विक, कालिका तङनामी, पूर्णकला बस्नेत,  सरिता ढेंगा, मानबहादुर कार्की, पिताम्बर विक, तिलकुमारी रेस्मीलाई नगद, प्रमाण सम्मान पत्र र दोसल्ला सहित सम्मान गरिएको हो। जाउँ हिँड रेसुङ्गाू अभियानमा सहयोग पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरिएको छ। रमेशजङ्ग कुँवर, किरणजङ्ग कुँवर, सुर्दशन खनाल, कविराज श्रेष्ठ, विवेक पन्थीलाई सम्मान गरिएको हो। रेसुङ्गा नगरपालिकाभित्रका उत्कृष्ट कृषकहरू राधिका खत्री, नुमबहादुर कुँवर, नेत्र बहादुर पौडेल, भरत पोखरेल, गङ्गा थापा, विष्णु बहादुर श्रीस, केशव गिरि, सरिता बस्नेत, तिलबहादुर बुचा, झगबहादुर टण्डन, पदमबहादुर घर्ती, युवराज आचार्य, मानबहादुर घर्तिलाई सम्मान गरिएको छ। यस्तै, नगर विकास तथा वातावरण संरक्षण संस्थालाई फोहोर मैला व्यवस्थापनमा सहयोग पुर्‍याएको भन्दै संस्थाका अध्यक्ष रामप्रसाद पन्थीलाई सम्मान गरिएको हो।