• १३ साउन २०८१, आइतबार

नगरप्रमुखको कार्यकक्षमा प्रधानमन्त्री देउवाभन्दा माथि ओलीको तस्बिर

blog

तनहुँ, जेठ २६ गते । तनहुँको एक पालिकाको प्रमुखले आफ्नो कार्यकक्षमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको तस्बिर राखेको पाइएको छ । एक राजनीतिक पार्टीका अध्यक्षको तस्विर राखेको भन्दै सेवाग्राहीले विरोध जनाएका छन् । 

भिमाद नगरपालिकाको प्रमुख दधिराज सुवेदीको कार्यकक्षमा अध्यक्ष ओलीको तस्बिर राखिएको छ । सुवेदीको कार्यकक्षमा राष्ट्रपतिपछि पाटी अध्यक्ष ओलीको र त्यसपछि मात्र प्रधानमन्त्रीको तस्बिर राखेको पाइएको छ । 

नेपाली काँग्रेस तनहुँका सदस्य डम्बरबहादुर अधिकारीले नगरप्रमुख कार्यकक्षमा एमाले अध्यक्ष ओलीको फोटो देखेपछि एमालेको पार्टी कार्यालय जस्तो अनुभूति भएको बताउनुभयो । ‘प्रधानमन्त्री शेरबहादुर देउवाको समेत अपमान हुने गरी रोलक्रममा दोस्रो स्थानमा एमाले अध्यक्ष केपी शर्मा ओली तस्बिर राख्ने जुन कार्य भएको छ त्यो अत्यन्त निन्दनीय छ’ अधिकारीले भन्नुभयो । नगरप्रमुख सुवेदीलाई कार्यकक्षबाट एमाले अध्यक्ष ओलीको तस्बिर तत्काल हटाउन  उहाँले आग्रह गर्नुभयो । 

नगरप्रमुख सुवेदीले आफू निर्वाचित हुनु अघि नै कार्यकक्षमा सो तस्बिर राखिएको र हटाउने क्रममा आफू रहेको बताउनुभयो । निवर्तमान प्रमुख मेखबहादुर थापाको पालामा राखिएको र पार्टी अध्यक्षको तस्बिर राख्न हुन्छ कि हुँदैन थाहा नभएर नहटाएको बताउनुभयो । ‘तत्कालीन प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापासँग सोधेको र उहाँले नगरप्रमुखले नै राखेको बताउनुभयो’ नगरप्रमुख सुवेदीले भन्नुभयो । ‘राख्न मिल्ने वा नमिल्ने मलाइ थाहा भएन नमिल्ने भए हटाउने प्रतिबद्धता गर्दछु’ सुवेदीले भन्नुभयो । 

सामाजिक सञ्जालहरुमा याे तस्बिर राखेर नगरप्रमुख सुवेदीको व्यापक आलोचना भएको छ । सुवेदी नेकपा एमालेको तर्फबाट उम्मेदवार बनी नगरप्रमुख बन्नुभएको थियो । नेपाली कांग्रेस तनहुँ सचिव लक्ष्मीभक्त खनालले नगरप्रमुखले पार्टी अध्यक्षको फोटो राख्न मिल्दैन भन्ने नजान्नु हास्यास्पद भएको बताउनुभयो । ‘थाहा नभएर भन्दा पनि पार्टीप्रति बफादार छु भनी देखाउन राखेको महसुस गरेको छु,’ सचिव खनालले भन्नुभयो । 

Author

अमरराज नहर्की