• ४ साउन २०८१, शुक्रबार

बाबा निरालाको चर्तिकला ‘आश्रम ३’

blog

सुकृत नेपाल

काठमाडौँ, जेठ २६ गते । आश्रम ३ को कथा पम्मी (आदिति पोहङकर)को विद्रोहबाट सुरु हुन्छ जहाँ उनी बाबा निराला (बबी देओल)को आश्रमबाट भाग्न सफल हुन्छिन् तर भूपा (चन्दन राय) र उसका गुन्डाहरू अझै पनि उनको खोजी गरिरहेका हुन्छन्, जसका कारण उनी सहरभित्र नै ठाउँ–ठाउँ बदलिएर लुकेर बसेकी हुन्छिन् । पम्मी जस्तै अरू महिला पनि बाबा निरालाको अन्यायबाट पीडित हुन्छन् । बाबा निराला महिलाप्रति धेरै नै आकर्षित हुने भएको हुनाले उनका दिनप्रतिदिनका महिलामाथि गरिएका बलात्कार हत्या–हिंसाका करतुत बाहिर आउँदै जान्छन् तर पनि उनीमाथि कसैले औँला उठाउन सकेका हुँदैनन् ।

पम्मी कसैसँग नडराएर आँट गरेर बाबाको विरुद्धमा आवाज उठाउँछिन् तर उनको कुरा कसैले सुन्दैन । किनकि बाबाको हातमा सबथोक छ । मन्त्रीको कुर्सीदेखि गुन्डाराजसम्म बाबाले कब्जा गरेर राखेका हुन्छन् । अन्य दुई भागमा भन्दा यस पटक बाबा निराला झन् शक्तिशाली भएका छन् । उनी सरकार पनि चलाउँछन्, उनका चेला पनि निडर छन् ।

बाबा निराला भूमिकामा देखिएका बबी देओलले यो सिरिजमा आफ्नो करिअरकै उत्कृष्ट अभिनय गरेका छन् । उनले चरित्रलाई पूर्ण रूपमा बुझेका छन् र कथाभित्रको गहिराइमा डुबेका छन् । बाबाका सहयोगी बनेका भूपा अर्थात् चन्दन राय सन्यालले आफ्नो चरित्रलाई दृढतापूर्वक निर्वाह गरेका छन् । अदिति पोहनकरले पम्मीको भूमिकामा राम्रो अभिनय गरेकी छिन् । कसरी एउटी नारी एउटा ढोँगी बाबाको विरुद्धमा उभिन्छिन् भन्ने कुरा चलचित्रको प्रमुख विषय हो । यस सिरिजमा नायिका सोनिया (इशा गुप्ता) नयाँ भूमिकाबाट प्रवेश गरेकी छिन् ।

उनको आगमनले चलचित्रलाई अझ बढी माथि उठाउने काम गरेको छ । सोनियाको भूमिकाको धेरैले तारिफ गरेका छन् । चलचित्रमा बाबा निराला र सोनियाबीचको सम्बन्धलाई नयाँ तरिकाले प्रस्तुत गर्न खोजिएको छ । दुईबीचको पे्रमिल गीत दृश्यले दर्शकको अवश्य नै चलचित्रमाथि ध्यान बढाउने काम गर्छ । 

एक बदनाम आश्रम ३ मा दश भाग सम्मिलित छ । यसलाई पाँच जना लेखकले मिलेर लेखेका छन् तर पूरै सिजन निकै लामो समयदेखि तानिएको छ । केही भाग यस्ता छन् जुन भाग नभएका भए पनि खासै फरक पर्दैनथ्यो । निर्देशनको हिसाबले प्रकाश झाको काम औसत छ तर उनले बाबाको भव्य जीवनलाई पर्दामा राम्ररी देखाएका छन् । १० भागको शृङ्खलाको यो चलचित्र हेरुन्जेल रमाइलो लाग्छ । यदि यसको पहिलो दुई भाग पहिला हेरिएको छैन भने यो भागलाई बुझ्न केही असजिलो भने अवश्य हुन्छ ।