कुनै पनि देशमा जनसङ्ख्या विकासको पहिलो सर्त हो । विकासका निम्ति जनशक्ति आपूर्ति गर्ने जनसङ्ख्याको संरचना महत्वपूर्ण छ । युवा तथा प्रौढ जनसङ्ख्या श्रम शक्ति आपूर्तिका हिसाबले सबैभन्दा प्रभावी जनसङ्ख्या हो । स्वास्थ्य सेवाको प्रभाव विस्तारसँगै परिवार नियोजन कार्यक्रम जनसङ्ख्या व्यवस्थापनमा उपयोगी हुँदै गएको परिवेशमा संसारभर जन्मदर घट्दो क्रममा छ । विकसित देशमा पाँच छ दशकअघिबाटै जन्मदर घट्दै गएको भए पनि नेपाल जस्तो विकासशील देशमा पनि यताका दशकमा जन्मदर घट्दै गइरहेको छ । वैदेशिक रोजगारीप्रति तीव्र आकर्षणसँगै नेपाल पनि बिस्तारै जनसङ्ख्या असन्तुलनका दिशामा अग्रसर हुँदै गएको छ । जनसङ्ख्याविद् वारेन थम्सनले भन्नुभए झैँ नेपाल जनसङ्ख्या सङ्क्रमणको दिशातिर अग्रसर छ । जनसङ्ख्या सङ्क्रमणको सिद्धान्त अनुसार जनसङ्ख्या उच्च जन्म तथा मृत्युदरको अवस्थाबाट बिस्तारै न्यून जन्म र मृत्युदरतिर अग्रसर हुने छ । शिक्षा, स्वास्थ्य सेवा, चेतनाको स्तर, आर्थिक तथा सामाजिक विकासको आयामिक परिवर्तनले धेरै मुलुकमा यस्तो सङ्क्रमण आउने गर्छ । नेपालमा यस्तो सङ्क्रमण आरम्भ भइसकेको देखिएको छ भने आगामी तीन दशकमा नेपाल बुढ्यौली जनसङ्ख्याको उच्च चापमा पर्ने देखिएको छ । युवा तथा प्रौढ जनसङ्ख्या उच्च भएको बेला कुनै पनि देशले आर्थिक तथा सामाजिक विकासका निम्ति ठुलो जनसाङ्ख्यिक लाभ पाउने गर्छ । नेपालमा यस्तो लाभ भए पनि बिस्तारै गुमाउँदै जाने जोखिम बढेको छ ।
नेपालमा जन्मदर र मृत्युदर घटिरहेको छ । अहिले पनि युवा बहुल अवस्थामै रहेको छ । त्यो युवा जनशक्ति देशभित्र मात्र छैन । युवा जनसङ्ख्याको ठुलो अंश रोजगारी र अध्ययनको सिलसिलामा देशबाहिर छ । यसले नेपाल क्रमशः वृद्धहरूको देश बन्ने क्रममा रहने देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को विषयगत प्रतिवेदनमध्ये नेपालमा बुढ्यौलीको अवस्थासम्बन्धी प्रतिवेदन हालै सार्वजनिक गरेको हो । प्रतिवेदन अनुसार अबको ३० वर्षपछि अर्थात् विसं २१११ सम्ममा नेपाल बुढ्यौली समाजमा रूपान्तरण हुने अनुमान छ । जन्मदर र मृत्युदर घटिरहँदा नेपालको जनसङ्ख्या सङ्क्रमणकालतर्फ तीव्रत्तर प्रवेश गरिरहेको छ । यसका लागि महत्वपूर्ण केही तुलनात्मक तथ्याङ्क पनि बाहिर आएको छ । सो अनुसार ६० वर्ष र सोभन्दा माथिको उमेर समूहको जनसङ्ख्या २०६८ सालमा ८.१ प्रतिशत थियो भने २०७८ सालमा १०.२ प्रतिशतमा पुगेको छ । वृद्ध व्यक्तिको जनसङ्ख्या २०४८ सालदेखि लगभग तीन गुणाले बढेको छ । नेपालमा ६० वर्षभन्दा माथिको उमेर समूहलाई बुढ्यौली भन्ने गरिन्छ । बुढ्यौली बढ्नुका मुख्य कारणमा जन्मदरमा आएको कमी मात्र होइन, युवा जनशक्ति समुद्रपारतर्फको प्रवासनमा भएको वृद्धिसमेत कारक देखिएको छ । काम गर्ने उमेर समूहको जनसङ्ख्या घट्दै जाँदा आश्रित जनसङ्ख्याको अनुपात बढ्दै जाने छ । कम बालबालिका जन्मेपछि भोलिका निम्ति युवा जनसङ्ख्या प्रतिस्थापन पनि न्यून हुने छ ।
नेपालमा जनसङ्ख्याको भौगोलिक असन्तुलन पनि तीव्र देखिएको छ । पहाडी क्षेत्रमा तीव्र रूपमा वृद्धको सङ्ख्या बढ्दै गएको छ । पहाडमा २०६८ सालमा बुढ्यौली जनसङ्ख्या २५.७ प्रतिशत रहेकोमा २०७८ सालमा ४३.६ प्रतिशत पुगेको छ । युवा जनसङ्ख्या सहर तथा विदेश गएकाले कामका भार पनि वृद्ध जनसङ्ख्यामा बढ्दै गएको छ । प्रदेशगत हिसाबमा बागमती प्रदेशमा बुढ्यौली जनसङ्ख्या सबैभन्दा धेरै छ । सहरी क्षेत्रमा युवाको आकर्षण बढी छ । ग्रामीण र सहरी क्षेत्र दुवैमा विगत दशकमा १३ प्रतिशतले बुढ्यौलीको सङ्ख्या बढ्दै गएको छ । राष्ट्रियस्तरमा महिला र पुरुष दुवैतर्फ ६० वर्षसम्म बाँच्न सक्नेको हिस्सा ८० प्रतिशत रहेको छ । यसमा पनि महिलाको बाँच्न सक्ने दर ८४.७ प्रतिशत र पुरुषको ७५.१ प्रतिशत छ । यसले पुरुषभन्दा महिलाको उमेर समूह बढी भएको देखाउँछ । विगतमा वृद्ध परिवारका सदस्यसँग बस्ने पुरानो चलन भए पनि पछिल्लो समय एक्लै वा श्रीमान्श्रीमती मात्र बस्ने वृद्ध व्यक्तिको सङ्ख्या बढ्दो छ । बुढ्यौलीको उमेरमा पनि कामको चाप घटेको छैन । नेपालमा ५१ प्रतिशत वृद्ध आर्थिक रूपमा सक्रिय छन् । त्यसमध्ये अधिकांश अर्थात् ७२.६ प्रतिशत कृषि क्षेत्रमा संलग्न छन् । जनसङ्ख्याको प्रभावकारी व्यवस्थापन कुनै पनि मुलुकको विकासको आधार हो । बुढ्यौलीको चाप परिरहेको समाजमा काम गर्ने जनशक्ति कम भई विकास असन्तुलन हुने जानेतर्फ समयमै गम्भीर हुनु आवश्यक छ । जनसङ्ख्या व्यवस्थापसमेत समृद्धिको अभिन्न अंश हो भन्नेतर्फ ध्यान दिनु जरुरी छ ।