• २५ वैशाख २०८२, बिहिबार

अनुकरणीय व्यक्तिको अवसान

blog

“ए ! अनि इन्जिनियरिङ पढाइ सकेर फर्किइसकेको हो ?” म हिमसागर दाजुसँग पुल्चोकस्थित मन्त्री निवास (क्वाटर) बाट बाहिरिँदै गर्दा त्यही निवासमा छिर्न लागेका करिब ४०/४२ बर्से एक व्यक्तिले गेटमा मसँग एक्कासि गरेको प्रश्नले म एकछिन अक्क न बक्क परेँ । “उहाँ त प्रदीप नेपाल (तत्कालीन सञ्चार एवं जलस्रोतमन्त्री) हो नि ।” भनेर दाजुले भनेपछि पो “नमस्कार !” भनेर, “भर्खरै आएको, दुई/तीन हप्ता भो” भनेँ । 

उहाँले “अनि जागिर खाने हो त ?” भनेर सोध्नुभयो । मैले खोजेकै त्यही थियो अनि हौसिएर भनेँ “खाने नि !” म भर्खरै कोलम्बो छात्रवृत्ति योजना अन्तर्गत भारतस्थित पन्जाब इन्जिनियरिङ कलेज चण्डीगढबाट मेकानिकल इन्जिनियरिङ विषयमा स्नातकोपाधि लिएर फर्केको थिएँ । पढाइ सकेर फर्कनासाथ तुरुन्तै सरकारले जागिर दिइहाल्ने अलि पुरानो प्रणाली अन्त्य भइसकेको थियो । प्रतिस्पर्धा गरेर अर्थात् लोक सेवा दिएरै निजामती जागिर पाइने, संस्थानहरूमा पनि त्यहाँको विज्ञापनमा लिखित/मौखिक परीक्षामा सामेल हुनैपर्ने । निजी औद्योगिक क्षेत्रसम्म भने आवश्यकता अनुसार सोझै प्रवेश पाइन सक्नेसम्म विद्यमान अवस्था थियो ।    

उल्लिखित सन्दर्भ, २०५२ साल साउनको कुनै एक बिहान पुल्चोक हरिहरभवनस्थित मन्त्री क्वाटरमा मलाई धेरै नै माया गर्ने र मेरो विराटनगरस्थित सरस्वती माध्यमिक विद्यालयकी गुरुआमा ओम दिदी (जो तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीकी धर्मपत्नी हुनुहुन्थ्यो) उहाँलाई भेटेर क्वाटरबाहिर निस्कँदै गर्दा तत्कालीन सूचना तथा सञ्चार एवं जलस्रोतमन्त्री प्रदीप नेपालसँगको छोटो वार्तालाप थियो । उहाँले “त्यसो भए दिउँसो बायोडाटा लिएर मन्त्रालय आउनू” भन्नुभयो । 

मेरो बायोडाटा प्रिन्ट गरेर तयारी नै थियो । एउटा फोटो पनि टाँसेर, बायोडाटाको एक सेट फोटोकपी लिएर दिउँसो सिंहदरबारस्थित सूचना तथा सञ्चार मन्त्रालयमा उहाँलाई भेट्न गइयो । केही बेरको पर्खाइपछि भित्र बोलाउनुभयो र त्यहाँबाट फोन गर्नुभयो, सायद रेडियो नेपालका कार्यकारी निर्देशकलाई । त्यतिबेला रेडियो नेपालमा भर्खर एफएम सेवा सुरु गर्ने तयारी रहेछ सरकारको । उहाँहरूको फोन वार्ताबाट मेरो विषय मेकानिकल भएको तर रेडियोमा त्यो विषयको इन्जिनियर तत्काल आवश्यक नभएको जानकारी आएपछि उहाँले समालिरहेको अर्को मन्त्रालय, जलस्रोत अन्तर्गतको जल तथा शक्ति आयोग सचिवालयमा बुझ्नु भयो । त्यहाँ एउटा मेकानिकल इन्जिनियर पद अस्थायी रूपमा रिक्त (लियन) रहेछ । त्यहाँ सचिवज्यूलाई उहाँले केही निर्देशन दिएपछि मलाई एउटा निवेदन लेखेर बायोडाटासहित त्यहाँ दर्ता गर्न लगाइयो । सायद त्यसको केही प्रक्रिया थियो होला । केही दिनपछि सम्पर्क गर्न भनेर त्यहाँबाट हामी बिदा भयौँ । 

सरकारी जागिरमा सोझै नियुक्ति दिन पक्कै समस्या हुन्थ्यो त्यो बेला पनि, फेरि उहाँले दबाब र प्रभाव पारेर ठाडो आदेश दिएर अनि प्रक्रिया नपुर्‍याई कुनै काम गर्नुभएको मलाई जानकारी छैन । त्यसैले मेरो नियुक्ति तत्काल सम्भव भएन । त्यो २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको नेकपा (एमाले) को आमजनताले रुचाएको नौमहिने अल्पमतको सरकार थियो । त्यसको केही महिनापछि त्यो सरकार ढल्यो । म पनि त्यो सरकारी करार नियुक्ति नकुरी निजी क्षेत्रका औद्योगिक प्रतिष्ठानमा ‘देउसी खेल्ने’ तरिकाले बायोडाटा दिँदै, जागिर खोज्दै हिँड्न थालेँ । 

केही दिन विभिन्न औद्योगिक प्रतिष्ठानमा निरन्तर धाएपछि निजी क्षेत्रको गोल्छा अर्गनाइजेसन अन्तर्गत गृहनगर विराटनगरकै एउटा मेटल कारखानामा ट्रेनी इन्जिनियरका रूपमा काम सुरु गर्ने भएँ । त्यहाँ करिब एक वर्ष काम गरेपछि आफूलाई चित्त नबुझेर पुनः काठमाडौँ आई लोक सेवा र सार्वजनिक संस्थाका विज्ञापनमा फाराम भर्दै परीक्षा दिएर नेपाल विद्युत् प्राधिकरणको स्थायी सेवामा प्रवेश गरेँ । प्रदीप नेपाललाई त्योभन्दा  पहिले २०४२/४३ सालतिर (पञ्चायतकालीन समयमा) सञ्जय थापाका नामले उहाँका प्रगतिशील कृति र लेखरचना पढ्ने गर्थें । त्यसबेला मोदनाथ प्रश्रित र सञ्जय थापाका कृति प्रगतिशील मानिन्थे र खुला रूपमा उपलब्ध पनि हुँदैनथे ।  

केही वाम समर्थक पुस्तक पसलतिर वा त्यस्तै नेता/कार्यकर्ताले लुकाएर राखेका त्यस्ता किताब एवं साप्ताहिक पत्रिकामा प्रकाशन हुने लेख पढ्न खुबै रुचि हुन्थ्यो । उहाँका जेठा दाजु वासुदेव नेपाल महेन्द्र मोरङ क्याम्पसमा प्रशासन फाँटमा अधिकृत हुनुहुन्थ्यो र उहाँ हाम्रो परिवारको अभिभावक जस्तो पनि । माहिला दाइ मञ्जुल (मेघराज नेपाल) राल्फाली समूहका एक प्रमुख अभियन्ता । उहाँसहित रामेश, जेबी टुहुरे र शम्भु राईका गीत खुबै सुनियो/गुनगुनाइयो । २०४६ सालको जनआन्दोलनअगावै ‘पूर्वतिर’ भने उहाँको उपन्यास र ‘मुक्ति’ नामको धारावाहिक कथा खोजी खोजी पढिन्थ्यो । 

पञ्चायती कालमा प्रगतिशील साहित्यका चर्चित उनै सञ्जय थापा नै बहुदल आएपछिका तत्कालीन नेकपा माले (र पछिको एमाले) का प्रदीप नेपाल हुनुहुँदो रहेछ भन्ने थाहा भयो । नेकपा (माले) २०३५ सालमा स्थापना गर्नुपूर्व झापा आन्दोलनका नेता सिपी मैनालीसहितले गरेको नक्खु जेलब्रेकमा उहाँ एक प्रमुख योद्धा हुनुहुन्थ्यो, जसको चर्चा उहाँकै कृति ‘मुक्त आकाशको खोजीमा’ गरिएको छ । विश्वको एक महाशक्ति सोभियत सङ्घलगायत पूर्वी युरोपबाटै साम्यवाद ओरालो लागेको र विघटन भइरहेको समयमा नेपालमा भने ‘जनताको बहुदलीय जनवाद’ नामले नयाँ वामपन्थी विचारका प्रवर्तक तत्कालीन महासचिव मदन भण्डारीका प्रमुख सारथि उहाँ नै हुनुहुन्थो भन्ने कुरा मैले विभिन्न ठाउँमा पढेको थिएँ । 

२०४९ सालमा भएको पार्टी महाधिवेशनमा उहाँलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरिएको रहेछ तर “पार्टी पङ्क्तिमा प्रदीप नेपाल भनेको मदन भण्डारीको हनुमान हो भन्छन्, म त्यस्तो आरोप बोकेर केन्द्रीय नेतृत्वमा बस्दिनँ,” भनी महासचिव भण्डारीसमक्ष राजीनामा दिन जाँदा “हनुमान भनेर ठिकै भनेछन् । खुरुक्क कमिटीमा बसेर काम गर्ने, रामले भनेको मान्ने !” भनेर उहाँको राजीनामा अस्वीकृत गरी पार्टी केन्द्रीय सदस्यमा निरन्तरता दिएको रमाइलो प्रसङ्ग कतै उल्लेख गर्नुभएको थियो । उहाँ २०३३ सालको नक्खु विद्रोहपछि २०३५ सालमा मोरङको इटहरामा मदन भण्डारीकै घरमा भूमिगत बैठक गरी स्थापना भएको नेकपा (माले) को एक सक्रिय संस्थापक नेता भएपछिका केही वर्ष पूर्वाञ्चलका पहाडी जिल्ला (इलाम, पाँचथर र ताप्लेजुङ) मा भूमिगत रूपमा राजनीतिक सङ्गठन विस्तारमा सक्रिय रहनुभएको र पछि लुम्बिनी क्षेत्रमा सरुवा भएको उहाँकै कृतिमा पढ्न पाएको हो । देशमा पहिलो पटक २०५१ सालमा नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारी कम्युनिस्ट प्रधानमन्त्री हुनुभयो । त्यसमा उहाँ सूचना तथा सञ्चार अनि केही महिनापछि जलस्रोत मन्त्री हुनुभयो । २०५५ सालमा पुनः जलस्रोत र स्वास्थ्य र २०६३ को दोस्रो आन्दोलनपछि शिक्षा र खेलकुदमन्त्री बन्नुभयो । २०५६ सालमा जननेता मदन भण्डारीको निर्वाच क्षेत्र काठमाडौँ १ बाट उहाँ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो । 

त्यसअघि उहाँ २०४८ र २०५४ सालमा राष्ट्रिय सभा सदस्य हुनुहुन्थ्यो । स्पष्ट र जे देख्यो त्यही बोल्ने खरो वक्ता उहाँ करिब १८ घण्टा पार्टीको काममा समय दिनुहुन्थ्यो । माओवादी द्वन्द्वकालमा उहाँलाई माओवादीले तारो बनाएपछि आफ्नो निवास वसुन्धाराबाट क्रमशः डल्लु र पछि (हाल) गोठाटारमा सर्नुभएको थियो । सहिद परिवारको सदस्यको नाताले उहाँले मलाई पहिलेदेखि नै चिन्ने भए पनि २०५२ सालको प्रथम भेटपछि मात्र म उहाँसँग सिधा सम्पर्कमा हुन्थेँ र कहिल्यै पनि मैले त्यो निकटताको नाजायज फाइदा लिनु परेन र उहाँले पनि कसैलाई भनसुन गरिदिनु भएन ।  

भनसुन गर्न गए पनि विधि र प्रक्रिया मिचेर काम गर्न/गराउन नमान्ने उहाँ बरु टारेर पठाउने बानी । राजनीतिक पद  र कुर्सी ओगट्न र मरुन्जेल ती ठाउँबाट स्वैच्छिक अवकाश लिन खडेरी परेको हाम्रो देशको राजनीतिक संस्कार र प्रचलनका विरुद्ध हुनुहुन्थ्यो उहाँ । त्यसैले ६५ वर्ष नपुग्दै पार्टीको नेतृत्वबाट अवकाश लिनु पर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । सोहीबमोजिम आफू पनि विसं २०७४/७५ देखि सक्रिय राजनीतिबाट ओझेलमै रहनुभयो । २०५५/५६ सालतिर म कार्यरत रहेको पर्वत जिल्लास्थित निर्माणाधीन मोदीखोला जलविद्युत् आयोजनामा जलस्रोतमन्त्रीका नाताले गरेको स्थलगत निरीक्षणमा आयोजना प्रमुखलगायतलाई निर्देशन दिने क्रममा “म लेखक हुँ, त्यसैले जे प्रस्ताव वा भनाइ छन्, लेखेर दिनुहोला,” भनेको अझै याद छ । 

नेपालमा (सायद राजनीतिक तहमा) ल्यापटप, पेजर र मोबाइल फोन अनि एन्सरिङ मेसिनसहितको आधुनिक टेलिफोन पहिलो पटक उहाँले नै चलाएको र त्यसबापत तत्कालीन महासचिव माधव नेपालले गालीसमेत गरेको भन्ने सुनिएको थियो । 

यसका साथै मिडिया तथा पत्रपत्रिकामा अन्तर्वार्ता दिँदा उल्टै शुल्क लिने गर्नुहुन्थ्यो भन्ने पनि सुनिन्थ्यो । उहाँ निर्भीक, निडर, चपाएर नबोल्ने, अगाडि देखिएको कुरो बोल्ने, गलत र खराब कुरा भए जसको पनि खरो र स्पष्ट रूपमा ठाडो भाषामै विरोध गर्ने स्पष्टवादी विचारक, लेखक र नेता हुनुहुन्थ्यो । पद र मानसम्मान/भाउ खोज्ने नेताहरू भएको आजको जमानामा उहाँले आफ्नो मृत्युपछि केही तामझाम नगर्न, आफ्नो शवमा पार्टीको झन्डा पनि नओढाउन र श्रद्धाञ्जलीका लागि पनि नराख्न भन्नुभएको रहेछ । सोही अनुरूप उहाँको देहान्त भएकै साँझ पशुपति आर्यघाटको विद्युतीय शवदाहगृहमा अन्त्येष्टि भयो । पाँच दिनमै काजकिरिया समाप्त गर्ने परिवारको योजना रहेछ । 

स्थानीय जनजिब्रोले बोल्ने भाषामा नै लेखिएका मुक्ति, पूर्वतिर, पार्टीकी आमा, मुक्त आकाशको खोजी, बर्बरिक, चरैवेति, चरैवेति देउमाईको किनारमा लगायतका करिब चार दर्जनभन्दा बढी उहाँका कथा, उपन्यास र संस्मरण अनि साप्ताहिक पत्रिकामा आउने नियमित स्तम्भ र लेखरचना खोजी खोजी पढ्न मन लाग्ने । त्यस्ता आदरणीय प्रदीप नेपाल (पञ्चायतकालीन साहित्यिक नाम सञ्जय थापा) ले सुरुमा ब्रेन ट्युमरको समस्यापछि पार्किन्सन रोगका कारण ७१ वर्षको उमेरमा २०८२ वैशाख २३ गते मङ्गलबार स्वदेशमै देहत्याग गर्नुभयो । उहाँको राजनीतिक संस्कार सम्बन्धित सबैका लागि अनुकरणीय छ र त्यो प्रेरणा लागोस् भन्ने कामनासहित स्वर्गीय प्रदीप नेपालको वैकुण्ठमा बास होस्, झुमा भाउजू र एक छोरीसहितको शोकाकुल परिवारलाई यो दुःख सहने शक्ति प्राप्त होस् भन्ने कामना !