काठमाडौँ, वैशाख २४ गते। गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले व्यवस्थापन गोरखापत्रलाई समय सुहाउँदो बनाउन सक्रिय रहेको बताउनुभएको छ। गोरखापत्र प्रकाशनको १२५ औँ वर्ष प्रवेश र संस्थानको ६३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महाप्रबन्धक ऐरीले यस्तो बताउनु भएको हो।
‘‘मिडियाका लागि चुनौतीपूर्ण अवस्थामा पनि संस्थान नाफामा छ। यसकै प्रतिफलस्वरूप हामीले कर्मचारीलाई केही प्रोत्साहन उपलब्ध गराउने निर्णय गरेका छौँ। बिमा रकमलाईसमेत वृद्धि गर्ने निर्णय भएको छ। यो कामको सहजीकरण गर्ने संस्थानका कर्मचारी र मन्त्रालयका प्रतिनिधिलाई धन्यवाद दिन्छु’’, उहाँले भन्नुभयो।
स्वागत मन्तव्य राख्नुहुँदै उहाँले गोरखापत्र एउटा पत्रिका मात्र नभएर नेपाली भाषा, साहित्य र राजनीतिको इतिहास भएको बताउनुभयो। उहाँले गोरखापत्र नेपाली समाजको जीवनशैली र समग्र विकाससँग जोडिएको हुनाले सबैले आजको दिनमा गर्व गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले १२५ औँ वार्षिकोत्सवको दिन गोरखापत्रका लागि गौरवपूर्ण रहेको बताउनुभयो। ‘‘यो गोरखापत्रको गौरवको दिन हो’, उहाँले भन्नुभयो। उहाँले गोरखापत्रलाई १२५ औँ वर्ष प्रवेश गर्नमा यसका पूर्व कर्मचारीको योगदान विशेष रहेको भन्दै चर्चा गर्नुभयो।
महाप्रबन्धक ऐरीले औपचारिक रूपमा पत्रकारिताको सुरुवात गोरखापत्रबाट तत्कालीन अवस्थामा सुरु भएको प्रकाशनलाई हेरेर राष्ट्रिय पत्रकारिता दिवसको सुरुवात भएको सम्झना गर्नुभयो। उहाँले यो अवसरमा नेपाली पत्रकारिताको समग्र स्थितिलाई छलफल र बहस गर्ने समय आएको र गोरखापत्रको प्रकाशन भएका दिनलाई उपयुक्त दिन भएको बताउनुभयो।
उहाँले विशेष गरेर समाज रूपान्तरणमा मिडियाको भूमिका के रहन्छ भन्ने कुरा आजको दिन महत्त्वपूर्ण बताउनुभयो। ‘‘समाज रूपान्तरणको विम्बका लागि गोरखापत्रलाई अनवरत रूपमा आजको दिनसम्म ल्याउने कर्मचारी र समग्र आम नेपाली दाजुभाइ तथा दिदीबहिनी समग्र पाठक शुभकामनाका लागि हकदार हुनुहुन्छ’’, उहाँले भन्नुभयो।
महाप्रबन्धक ऐरीले पत्रकारिताको आयामलाई स्वीकार गर्न नसके गोरखापत्रको अस्थित्वमाथि प्रश्न उठ्ने भन्दै तीन सवालमा अहिले संस्थान व्यवस्थापन केन्द्रित रहेको बताउनुभयो।
महाप्रबन्धक ऐरीले ‘‘पत्रकारिताको आयाम फेरिएका छन्। आयामलाई आत्मसात गर्न सकिएन भने हाम्रो औचित्यमाथि प्रश्न उठ्छ। हामी समय सुहाउँदो हुनुको आवश्यक छ। पहिलो विषय हाम्रा सम्पादकीय प्रकाशनको रूपान्तरण आवश्यक छ। हामीमाथि सरकारको मुखपत्र भएको आरोप छ। विभिन्न कालखण्डले होइन भन्ने अवस्था छैन। अब गोरखापत्र त्यस्तो सामग्री दिएर आजको समाजमा विश्वसनीय बन्न सक्छ त भन्ने प्रश्न छ । हामीले सर्वसाधारणको आवाज पहिलो भन्ने सम्पादकीय नीतिलाई अगाडि बढाएका छौँ। यसले गोरखापत्र संस्थानका प्रकाशनमा हिजोको तुलनामा केही न केही परिवर्तन भएको कुरा तथ्यले पुष्टि गरेको छ। पछिल्लो समय हामीले नागरिकको आवाज हुने कोसिस गरेका छौँ।’’
विषयवस्तु पस्किने विषयमा नीतिगत विषय जिम्मेवार भएको उहाँको भनाइ छ। ‘‘समाजले मागे अनुसार विश्वसनीय बनाउन हाम्रा ऐन कानुन र नीतिलाई बनाउनुपर्छ भनेर हामीले माननीय मन्त्रीको नेतृत्वमा नयाँ ऐन ल्याउने विषयमा अगाडि बढेका छौँ। विनियमावलीको कुरा छ। यो धेरै कर्मचारीको वृत्ति विकाससँग जोडिएको छ। अहिले मन्त्रालयको जनकारी अनुसार विनियमावली टुंगिएको छ। हामीले औपचारिकरूपमा प्राप्त गरेका छैनौँ।’’
उहाँले गोरखापत्रले प्रविधिलाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो। ‘‘अहिले हामीसँग प्रविधिको आत्मसात गर्नुको विकल्प छैन। हाम्रा विषयवस्तुलाई नागरिकको सहज पहुँचमा पुर्याउने काम गरेका छौँ’’, उहाँले भन्नुभयो।
प्रकाशनमा नागरिकको आवाज बनाउने सम्पादकीय नीति रहेको भनाैँ उहाँले यो अभ्यासले सबै विषयवस्तु फेरिएको दाबी गर्न नसके पनि पछिल्लो समय नागरिकको आवाज बन्ने प्रयास भइरहेको गरेको उल्लेख गर्नुभयो। उहाँले संस्थान सुधारका लागि विनियमावली, कार्यविधि, मापदण्ड, समय सापेक्षा व्यापारको मापदण्ड बनाउनुपर्नेमा जोड दिनुभयो।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।