• ९ जेठ २०८१, बुधबार

अछामका विनोद मृत्यु प्रकरणः १३ जना विरुद्ध किटानी जाहेरी

blog

अछाम, जेठ २६ गते । हराएको पाँच दिनपछि मृत भेटिएका पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको हत्यामा संलग्न भएको आरोपमा १३ जना विरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ ।

दुई जना हत्याका योजनाकार र ११ जना हत्यामा संलग्न रहेको भन्दैे जिल्ला प्रहरी कार्यालय अछाममा किटानी जाहेरी दर्ता गरिएको मृतकका आफन्तले जानकारी दिएका छन् । किटानी जाहेरीमा भएका व्यक्तिको विवरण खुलाइएको छैन । 

किटानी जाहेरी दर्ता गर्न पीडित पक्ष र प्रहरी बीचमा लिखित सहमती भएपछि मृत फेला परेको पाँचौ दिनमा घटानास्थलबाट शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन ल्याइएको छ । किटानी जाहेरी लिएर हत्यामा संलग्न भएका व्यक्तिलाई कार्वाहीको सुनिश्चितता नभएसम्म शव नउठाउने भन्दै पीडित पक्षले अडान राखेको थियो । शवको पोष्टमार्टमको तयारी भइरहेको बताइएको छ । 

हत्याको आशंकामा सीआइबीको टोलीले मंगलबार बेलुकी पाँच जनालाई नियन्यन्त्रणमा लिएको छ । घटनाको अनुसन्धानमा रहेको सीआइबीको टोलीले पाँच जनालाई नियन्त्रमा लिएर सदरमुकाम मंगलसेनमा ल्याइएको बताइएको छ । तालिम प्राप्त कुकुरसहित सीआइबीको टोली घटनाको अनुसन्धान गरिरहेको छ भने एसएसपी जनकराज पाण्डे समेत घटना अनुसन्धानका लागि अछाम पुग्नुभएको छ । सभामुख अग्नी सापकोटाले दोषिलाई कार्वाहीको प्रक्रिया अघि बढाउन सरकारलाई बुधबारको प्रतिनिधिसभा बैठकबाट निर्देशन गर्नुभएको छ ।  

जेठ १७ गते रातीबाट वेपत्ता भएका विनोद पाँच दिनपछि गएको जेठ २१ गते छिमेकी वडाको सल्लाघारीको खोचमा मृत अवस्थामा फेला परेका थिए । गाउँमा झडप भएको खबरमा प्रहरी कालिकास्थानमा पुगेपछि जेठ १७ गते रातीबाट विनोद वेपत्ता भएको आफन्तको भनाइ छ । जेठ ३० गतेको मतदानका क्रममा विवाद भएको विषयलाई लिएर गाउँमा पटक पटक विवाद हुँदै आएको स्थानीयको भनाइ छ । 


Author

शिवराज ढुंगाना