• २३ वैशाख २०८२, मङ्गलबार

ताल गाउँको संरक्षण र विकासका लागि प्रदेश सरकारको सहकार्य

blog

तालगाउँको स्थलगत अवलोक गर्नुहुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ।

यदुप्रसाद भट्ट

मनाङ, वैशाख २३ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नासोँ गाउँपालिका–१ ताल गाउँको स्थलगत अवलोकन गर्नुभएको छ । स्थलगत अवलोकनका क्रममा उहाँले स्थानीयसँग ताल गाउँको अवस्थाबारे जानकारी लिनुभएको थियो ।

स्थानीयलाई आश्वस्त पार्दै उहाँले ताल गाउँको संरक्षण र विकासका लागि प्रदेश सरकारबाट सहकार्य हुने बताउनुभयो । मुख्यमन्त्रीसँगको भेटमा स्थानीयले गाउँमा बाढीको जोखिम रहेको गुनासो गरेका थिए । सांसद टेकबहादुर गुरुङ र नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले मर्स्याङ्दी नदीमा आएको बाढीले पारेको प्रभाव तथा असरका बारेमा मुख्यमन्त्रीलाई अवगत गराउनुभएको थियो ।

तालगाउँमा बाढीसम्बन्धी पूर्वसूचना दिने साइरन जडान भएतापनि वर्षा लागेसँगै तालगाउँवासी झस्कने गरेका छन् । साइरनबाट मात्रै आफूहरू सुरक्षित हुने अवस्था नआएकाले मुख्यमन्त्रीसँग ताल गाउँ संरक्षणका कार्यक्रम ल्याइदिन आग्रह गरेका थिए ।

नासोँ–१ तालगाउँमा मर्स्याङ्दी नदी तटीय क्षेत्रका बासिन्दालाई प्राकृतिक विपदबाट बचाउन मानव विकास तथा सामुदायिक सेवा केन्द्र (एचडिसिएस) ले २६ लाख रुपियाँको लागतमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान गरेको थियो । साइरन जडान गरेपछि स्थानीय विपदबाट बच्ने भन्दै खुसी भएका छन्।

२०७८ असार १ मा वर्षासँगै आएको बाढीले मर्स्याङ्दी नदी किनारका कैयौँ स्थानीयलाई घरबारविहीन बनाएको थियो । तालगाउँमा ६३ घरपरिवार छन् । मर्स्याङ्दी नदी किनारसँगैको बस्ती भएकाले यहाँका अधिकांश घरमा बाढी पसेको थियो । बाढीले क्षतिग्रस्त भएपछि लामो समयसम्म गाउँले पालमुनि बस्न बाध्य भएका थिए ।

पटक–पटक बाढी आउँदा लाखौँको धनमाल गुमाएका तालगाउँवासीले अब विपद् आउनु पूर्व सूचना पाउने भएपछि खुसी भएका छन् । वडाध्यक्ष मीनराशी गुरुङले साइरन जडानपछि वर्षाको समयमा गाउँले ढुक्कसँग निदाउन पाउने भएको भन्दै खुसी व्यक्त गर्नुभएको छ । नासोँ–८ को धारापानीमा राखिएको एक यन्त्रले मर्स्याङ्दी नदीमा पानीको सतह मापन गर्ने छ । स्वचालित उक्त यन्त्रले मर्स्याङ्दी नदीमा खतराको सतह पार गरेको सङ्केत गर्नासाथ तालगाउँभरि सुनिने गरी साइरन बज्ने व्यवस्था मिलाइएको छ ।

मुख्यमन्त्री पाण्डेले मनाङका सुरक्षा निकायलाई डोरी, ज्याकेट, जुत्ता, पन्जा, हेलमेट, हार्नेसलगायत १६ प्रकारका उद्दार सामग्री हस्तान्तरण गर्नुभएको थियो । उहाँले वर्षा लागेसँगै दैवीप्रकोपका घटना बढ्न सक्ने भएकाले विशेष ध्यान दिन पनि आग्रह गर्नुभएको थियो ।