मकवानपुर समाचारदाता
मकवानपुर, वैशाख २३ गते । मकवानपुरको सबैभन्दा उचाइमा रहेको सिमभन्ज्याङस्थित तालमा पर्यटकले डुङ्गा सयरको मज्जा लिन पाउने भएका छन् । स्थानीय करुणाभूमि सामुदायिक वनको पहलमा जिल्लाकै सबैभन्दा उचाइ समुद्री सतहबाट २,४८८ मिटरको निर्माण गरिएको तालमा पर्यटक लक्षित गरी डुङ्गा सञ्चालनमा ल्याइएको हो ।
हेटौँडाबाट ४९ किमीको दुरीमा रहेको सिमभन्ज्याङमा हेटौँडा, काठमाडौँलगायतका स्थानबाट गर्मी छल्नसमेत उपयुक्त हुने र पर्यटकको बसाइ लम्ब्याउनेसमेत उद्देश्य राखेर तालमा डुङ्गा सञ्चालनमा ल्याइएको छ । थाहा नगरपालिका–४ स्थित करुणाभूमि सामुदायिक वन उपभोक्ता समितिले पर्यटनसँग जोड्न र तल्लो क्षेत्रमा पानी पुनर्भरणमा सहयोग पुग्ने भन्दै ताल निर्माण सुरु गरेको समितिका अध्यक्ष विनोद लामाले जानकारी दिनुभयो ।
उहाँले सात तालको अवधारणा बनाइए पनि अब त्रिताल बन्ने बताउनुभयो । एउटा ताल निर्माण पूरा भएको छ, अर्को ताल चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुने छ । थप एउटा ताल आगामी आवमा बनाउने गरी तयारी गरिएको योजना उहाँले सुनाउनुभयो । हेटौँडा र तराई मधेशका आन्तरिक पर्यटकका लागि गर्मीयाममा उपयुक्त स्थल हुने छ । उहाँले भन्नुभयो, “हेटौँडालगायत तराईमा गर्मीले खपिनसक्नु छ, हामी भने यहाँ जाडोले कामिरहेका छौँ ।” शुव्रmबार दिउँसो हेटौँडाको तापव्रmम बढेर ३४ डिग्री सेल्सियस पुग्दा सिमभन्ज्याङको तापक्रम १६ डिग्री सेल्सियस रहेको थियो ।
थाहा नगरपालिका–४ कोे करिब डेढ लाख रुपियाँ सहयोगमा चालु आवमा एउटा डुङ्गा ल्याएर सञ्चालन सुरु गरिएको छ । बागमती प्रदेश सरकारको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मकवानपुरमार्फत ताल निर्माणमा डेढ करोड रुपियाँ खर्च भइसकेको छ । तालमा असला माछापालनसमेत सुरु गरिएको भन्दै उहाँले अहिले माछाको प्रजनन दर राम्रो रहेको बताउनुभयो ।
सिमभन्ज्याङ बजारनजिकै रहेको सो ताल आरसिसी कङ्व्क्रिटको बाँध हालेर निर्माण गरिएको छ । हाल निर्माण पूरा भएको तालमा करिब सय मिटर लम्बाइभन्दा बढी क्षेत्रफलमा पानी सङ्कलन हुने छ । थाहा नगरपालिकाको तीन लाख र स्थानीय विकास मन्त्रालयबाट आएको साढे सात लाख रुपियाँबाट छड र सिमेन्ट प्रयोग नगरी यसअघि वातावरण र पर्यावरणमैत्री संरचना निर्माण गरेको वर्षाले क्षति पु¥याएको थियो ।