भक्तिविलास पोखरेल
गाईघाट, वैशाख २३ गते । हिमाली क्षेत्रबाट चरनका लागि पहाडमा झारिएका भेडीगोठ हिमाली भेगतिरै फर्किन थालेका छन् । पूर्वी नेपालको भित्री मधेश र महाभारत शृङ्खलामा अवस्थित उदयपुरमा हिउँदको मौसम सुरु भएसँगै बढेको जाडो छल्न तल झरेका भेडीगोठ तराईमा गर्मी बढेसँगै हिमाली भेगतिरै फर्किएका हुन् ।
जाडोको मौसम सुरु हुनुअघि सोलुखुम्बु, ओखलढुङ्गालगायतका जिल्लाबाट भेडीगोठ उदयपुरतर्फ आउने गर्छन् भने वैशाखको दोस्रो सातादेखि भेडीगोठ लेकतिरै फर्काउने गरिएको भेडीगोठाला बताउँछन् । करिब सात सय भेडाका मालिक ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–५, रुम्जाटारका दुर्गाबहादुर गुरुङले जाडो मौसममा हिमाली क्षेत्रमा धेरै चिसो हुने गरेकाले उदयपुरको पहाडी क्षेत्रमा कात्तिकमा झारेको भेडीगोठ अब उकालो लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “उदयपुरको चरन क्षेत्रमा धेरै गर्मी बढ्यो अनि भेडा चरन क्षेत्रमै धक्न थालेपछि माथि लेकतिर सारिन थालेको छ ।” उहाँले सामुदायिक वन क्षेत्रमा निश्चित मात्राको राजस्व तिरेर भेडीगोठ राख्ने गरिएको बताउनुभयो ।
उदयपुरमा तावाश्री, सिरिसे, लिम्पाटार, ओख्ले, नामेटार, आँपटार, लेखानी, हर्देनी, राउतखर्कलगायतका धेरै स्थानमा गोठ राख्ने तथा खर्क बस्ने गरिएको अर्का गोठाला सरोज गुरुङले बताउनुभयो । यहाँ प्रशस्त घाँस भएकाले हरेक वर्ष हिउँदको मौसममा दर्जनभन्दा बढी भेडीगोठ हिमाली क्षेत्रबाट झर्ने गर्छन् ।
हिउँदमा जन्मेका भेडाका साना पाठापाठी उदयपुरमै बिव्रmी हुने र बाँकी रहेका ओखलढुङ्गाको रुम्जाटारमा लगेर बेच्ने गरेको पनि भेडीगोठाला चन्द्रबहादुर गुरुङले बताउनुभयो । उदयपुरका सामुदायिक वनका पदाधिकारीले भेडीगोठ राखेको भाडा मनपरी पैसा लिएर दुःख दिने गरेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, “एउटा सामुदायिक वनले १० हजार रुपियाँसम्म रकम लिने गरेकाले भेडा चराउन कठिन हुँदै गएको उहाँकोे भनाइ छ ।”
भेडागोठालालाई जसले खाने बस्नेको प्रबन्ध गर्छ । उसैको बारीमा भेडाको बास अर्थात् खर्क राखिदिने चलन पनि रहेको र यसो गर्दा पहाडी क्षेत्रका कतिपय किसानको बारीमा भेडाको मलले अन्न बाली सप्रिने हुँदा गाउँलेले आफ्नो बारीमा खर्क राखिदिन अनुरोधसमेत गर्ने गरेको उहाँको भनाइ छ ।
उच्च पहाडी भेगमा प्रशस्त पाइने कालो वनमारा, अम्रिसो र अन्य प्रजातिका वनस्पतिको बाक्लो झाडी नै भेडाको आहारा भएकाले दिनभर जङ्गलमा चराउने र रात परेपछि गाउँलेले माग नगरेको अवस्थामा भने खर्कमा लगेर बास राखिने अर्का गोठाला माइला राईले बताउनुभयो ।
यो वर्ष लेकाली भेगमा हिमपात नभएकाले चरनका लागि सजिलो हुने भन्दै उहाँले भेडीगोठलाई उँभौली र उँधौलीको सूचकका रूपमा पनि लिने गरिएको छ । उँभौली सुरु भएपछि भेडीगोठ लेकतिर सारिन्छ र उँधौली सुरु हुनासाथ बेँसी झार्ने गरिन्छ ।
एउटा खर्कबाट अर्काे खर्कमा सार्दा भने बाटो चिन्ने भेडा अगाडि हिँडेपछि अरूले पछ्याउने हुँदा थोरै जनशक्तिले पनि सयौँ भेडाको गोठालो गर्न सकिने राई बताउनुहुन्छ । उदयपुरको महाभारत शृङ्खलामा रहेको चरणमा जाडोभरि भेडीगोठ राखेर पुनः गर्मी सुरुसँगै उकालो लागेका हुन् ।