• २३ वैशाख २०८२, मङ्गलबार

वासस्थान अभावले गैँडा पुगे भारत

blog

यज्ञप्रसाद सापकोटा

गुलरिया (बर्दिया), वैशाख २३ गते । भारतको कतरनियाघाट वन्यजन्तु आरक्षमा पुगेका बर्दिया राष्ट्रिय निकुञ्जका गैँडा पाँच महिना बितिसक्दासमेत फर्केका छैनन् । आहारा र उचित वासस्थानका खोजीमा भारत पुगेका गैँडा नफर्किंदा बर्दियामा गैँडाको सङ्ख्या घटेको छ । 

बर्दिया राष्ट्रिय निकुञ्जभित्र गैँडाको उचित वासस्थान घट्दै गएपछि करिब २० वटा गैँडा भारततर्फ गएका हुन् । भारतीय पक्षले नेपालका गैँडा भारतमा आएको बताएपछि अनुगमन गर्दा गैँडा भारत गएको पुष्टि भएको थियो । नेपालमा वासस्थान अभाव भएकाले उचित वासस्थानको खोजीमा गैँडा भारत पुगेको संरक्षणकर्मीको भनाइ छ । 

बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बग्ने गेरुवा नदीमा पानी सुकेको छ । नदी सुकेपछि निकुञ्ज नै सुक्खाग्रस्त बन्दै गएको छ । गैँडा बस्नका लागि प्राकृतिक घोल खोला, नदी र घाँसे मैदानको आवश्यकता पर्दछ । निकुञ्जभित्र भएका प्राकृतिक नाला सुक्दै गएकाले कृत्रिम पोखरी निकुञ्जले बनाउँदै गएको छ । हाल निकुञ्जभित्र १८२ वटा पानीपोखरी निर्माण गरिएको छ । 

निकुञ्जले गेरुवा नदीको लालमाटी क्षेत्रमा थुप्रिएको नदीजन्य पदार्थ खोतलेर नहर बनाई पानी ल्याएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख अशोककुमार रामले पानी ल्याएपछि गैँडा फर्कन्छन् भन्ने अपेक्षा गरेको बताउनुभयो । 

्“अहिले केही गैँडा फर्केको अनुमान गरेका छौँ,” उहाँले भन्नुभयो, “यस वर्षको गैँडा गणना रोकिएको हुनाले एकिनका साथ भन्न सकिँदैन ।” नदीमा अझै पनि पर्याप्त पानी नभएको बताउँदै उहाँले निकुञ्जले करिब ६५ लाख रुपियाँ खर्चेर लालमाटी क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा हटाई पानी ल्याएको बताउनुभयो । 

उहाँले हरेक वर्ष यसरी नै पानी ल्याउने गरेको बताउनुभयो । उहाँले भारत गएका गैँडालाई नेपालतर्फ फर्काउनका लागि वासस्थान सुधारका काम भइरहेको बताउनुभयो । 

सुरुमा खाता जैविकमार्ग हुँदै भारतीय सीमावर्ती क्षेत्रमा गैँडा पुगेका थिए । भारतले गैँडाका लागि पानीपोखरी र घाँसे मैदान बनाएपछि नेपालका गैँडा भारततर्फ पुगेका हुन् । संरक्षणकर्मी रामबहादुर शाहीले नेपालमा पानीको कमी हुनु र भारतमा कृत्रिम पोखरीको व्यवस्थापन गरी वासस्थान निर्माण गर्दा भारततर्फ गैँडा गएको बताउनुभयो । उहाँले नेपालमा वासस्थान सुधार नगरेमा बर्दिया राष्ट्रिय निकुञ्जका गैँडा भारततर्फ जाने बताउनुभयो । 

सन् २०२१ मा गरिएको गैँडा गणनामा बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ वटा गैँडा थिए । यस अवधिमा बाघको आक्रमण र प्राकृतिक कारणले तीन वटा गैँडा मरेका छन् । यस वर्ष गर्ने भनिएको गैँडा गणना आर्थिक अभावका कारण रोकिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले गैँडा गणना रोकिएपछि बर्दियामा हाल कति गैँडा छन् भन्ने एकिन नभएको बताउनुभयो । उहाँले गणना नभए पनि अनुगमनबाट भारततर्फ गएको पुष्टि भएको बताउनुभयो ।