बुटवल समाचारदाता
बुटवल, वैशाख २३ गते । बुटवलको बेलबासदेखि भैरहवा–लुम्बिनी सडकखण्डको बेथरी जोड्ने २१ किलोमिटर सडक निर्माणको काम सुरु भएको नौ वर्ष भइसक्यो तर यो सडक अझै पूरा भएको छैन ।
२१ किलोमिटर सडकलाई तीन खण्डमा विभाजित गरेर २०७३ सालमा ठेक्का लगाइएको थियो । जसमध्ये दक्षिणतर्फको दुई खण्डको १३ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ तर बेलबासदेखि बेतहानीसम्मको आठ किलोमिटर सडक भने अहिले पनि बन्न सकेको छैन । सडक निर्माणको काम पूरा नहुँदा स्थानीय जनताले हिउँदमा धुलो र वर्षायाममा हिलोबाट प्रभावित भएको भन्दै छिटो बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छन् ।
चार लेन सडक निर्माणका लागि तीन चरणमा गरी एक अर्ब ६७ करोड रुपियाँमा ठेक्का भएको हो । जस अनुसार दक्षिणतर्फका दुई चरणको काम सम्पन्न भइसकेको छ । रुपन्देहीको बेलबासदेखि बेतहानीसम्मको करिब आठ किलोमिटर सडक निर्माणको काम भने अहिले पनि अलपत्र छ ।
स्थानीयले गत वर्ष नै निर्माण व्यवसायी परिवर्तन गरेर भए पनि सडक छिटो बनाउन सडक पूर्वाधार विकास कार्यालयमार्फत दबाब दिएका थिए तर अहिलेसम्म कुनै सुनुवाइ भएको छैन ।
बेलबासदेखि बेतहानी खण्डको आठ किलोमिटर सडक निर्माणको काममा निर्माण व्यवसायीले लापरबाही गरेको स्थानीयको गुनासो छ । स्थानीय हरिप्रसाद अधिकारीले सडक निर्माणको काम नहुँदा उक्त खण्डमा दुर्घटनाको जोखिम बढेको र सवारीसाधन चलाउन कठिन भएको गुनासो गर्नुभयो ।
दबाब समितिका संयोजक विजय ढकालले सडक समयमै निर्माण गराउन दबाब दिने उद्देश्यले स्थानीयले सडक निर्माण सङ्घर्ष समिति गठन गरेर दबाब दिने काम पनि गरे तर निर्माण व्यवसायीले सडक निर्माणमा आलटाल गरेको बताउनुभयो ।