• २३ वैशाख २०८२, मङ्गलबार

फोन सम्पर्क गर्न रुख चढ्नुपर्ने बाध्यता

blog

नौरते नेपाली 

सिँजा (जुम्ला), वैशाख २३ गते । जुम्लाको गुठीचौर गाउँपालिका–१, नापानीगाउँ यतिबेला सञ्चारविहीन बनेको छ । सहर बजारमा फोरजीलगायतका सुविधा विस्तार भइसक्दा नापानीगाउँका करिब एक सय घरपरिवारका नागरिक सञ्चारविहीन भएका छन् । 

गाउँमा नेटवर्कले काम नगर्दा सञ्चारविहीन हुनु परेको स्थानीय मानबहादुर ऐडीले बताउनुभयो । उहाँका अनुसार फोन गर्नका लागि डाँडा र रुखमा चढ्नुपर्ने बाध्यता अझै रहेको सुनाउनुभयो । फोनको टावरले गाउँमा काम नगर्दा रुख र डाँडाको खोजीमा जानुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । रुखमा नचढे या अग्लो स्थानमा नगएसम्म फोनमा कुरा गर्न नपाइने ऐडीले बताउनुभयो । 

यस्तै अर्का स्थानीय परेक ऐडीका अनुसार फोन गर्नका लागि रुख र डाँडा भएको ठाउँमा जानु परेको गुनासो गर्नुभयो । गुठीचौर–१, डिल्लीकोटमा रहेको टावरले नापानीगाउँसम्म काम नगर्दा गडीगाउँबाट बसाइँ सरेका तथा अस्थायी बसोबास गर्ने नागरिकलाई सास्ती भएको छ । बिरामी पर्दा होस् वा अरू महत्वपूर्ण कामका लागि फोन गर्नुपर्दा नापानीगाउँका नागरिकलाई समस्या छ । मानबहादुर परेक मात्र होइन, नापानीमा फोन प्रयोग गर्ने सबै सर्वसाधारणको साझा समस्या हो यो । नागरिकको पीडा बोलिदिने नेता र पहुँच भएका व्यक्ति नहुँदा आफूहरू सञ्चारको असुविधाले साह्रै पीडित भएको ऐडीले बताउनुभयो । 

नापानी बस्ती जाजरकोटको बारेकोट र डोल्पा जिल्लाको जगदुल्लानजिकै पर्छ । बस्ती गहिरोमा भएकाले अग्ला डाँडामा राखिएका टावरले राम्रोसँग काम नगर्ने हुँदा त्यहाँका नागरिक सञ्चारविहीन बनेका गुठीचौर गाउँपालिका–१ का वडाध्यक्ष अर्जुनकुमार महताराले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षभित्र डिल्लीकोटको टावर विस्तार हुने र त्यसपछि नापानीसम्म उक्त टावरले काम गर्ने दाबी गर्नुभयो । नापानीगाउँका स्थानीयका लागि फोनमा कुराकानी गर्ने अवस्था बनाउनका लागि वडा नं. १ को बिचमा रहेको चोत्रा र मणिगाउँको नेटीलेकमा नयाँ टावर निर्माणका लागि पहल भएको उहाँको भनाइ छ । नयाँ टावर निर्माणका लागि स्थानीय सरकारसँग स्रोतसाधन भएकाले जुम्लाका सांसदले पहल गरी दिनुपर्ने उहाँले बताउनुभयो ।