• २३ वैशाख २०८२, मङ्गलबार

गणतन्त्र आएपछि फेरियो बाजुरावासीको जीवनशैली

blog

बाजुरा समाचारदाता 

बाजुरा, वैशाख २३ गते । बाजुरा देशकै ७७ औँ स्थानमा पर्छ । यहाँका पूर्वीउत्तर क्षेत्रमा पर्ने चार पालिका त झनै जिल्लाकै विकट क्षेत्रमा पर्ने गरेका छन् । यहाँका यी पालिकाका अधिकांश वडा तीभन्दा अझै विकट क्षेत्रमा अवस्थित छन् ।

यहाँका स्थानीयलाई गाँस, बास र कपासको सधैँ अभाव हुने गथ्र्यो । कोही बिरामी भयो भने कोल्टी एयरपोर्टमा लामो समयसम्म हवाईजहाजको पर्खाइमा बस्नु पथ्र्यो । यहाँका गरिबलाई भने बिरामी हुँदा औषधी उपचार नपाएर भगवान् भरोसामा बाँच्नुबाहेक अन्य केही विकल्प हुँदैन थियो । पछिल्लो समय भने सडक, स्वास्थ्य, शिक्षा तथा खानेपानी सेवा विस्तार भएपछि यहाँका स्थानीयलाई दुर्गम ठाउँमा केही सुगमको आभास हुँदै गएको छ ।

पहिला भारी भुल्लो बोक्ने तथा भेडा, घोडा, खच्चरमा दैनिक खाद्यान्न सामग्री नुन, चामल, तेल, लुगा, कपडा ढुवानी गर्दै आएका यहाँका स्थानीय अहिले गाडीमै त्यो सामग्री गाउँमा ओसारपसार गर्न थालेका छन् । नागरिकताका लिन हिँडेर एक/दुई दिन मार्तडी जान बाध्य हुने गरेका यहाँका स्थानीय अहिले दुई/तीन घण्टामै मार्तडी पुग्ने गरेका छन् ।

गाउँमा पुगेको सडकले अहिले यहाँका स्थानीय स्याउ, सुन्तलालगायतका फलफूल तथा तरकारी उत्पादनमा सक्रिय बनाउँदै गएको छ । यहाँको स्थानीय सरकारले दुर्गमका गाउँबस्ती सडक सञ्जालको पहुँचमा राखेसँगै उनीहरूको दिनचर्या पहिलेभन्दा फरक हुन थालेको छ । दुईचार दिन पैदल हिँडेर बसमा चढ्ने यहाँका स्थानीय अहिले गाउँमै बस चढ्ने गरेका छन् । सरकारको अनुभव नभएका यहाँका स्थानीयलाई बल्ल घर घरमा सिंहदरबार पुगेको महसुस हुँदै गएको छ ।

लामो समयदेखि स्वास्थ्य, शिक्षा, खानेपानी, सडक सुविधाबाट वञ्चित हुँदै गरेका यहाँका स्थानीयले पछिल्लो समय गाउँमै सबै सेवासुविधा प्राप्त गर्न थालेका छन् । विकट दुर्गम गाउँबस्तीमा अहिले यसरी सबै विकासका पूर्वाधार निर्माण हुन थालेपछि अहिले उनीहरूलाई दुर्गम गाउँबस्तीमा सुगमको आभास हुँदै गएको हो । यहाँका स्थानीयलाई यस्ता अनकन्टार ठाउँमा सडक, बिजुली तथा स्वास्थ्य, शिक्षाको विकास कहिले होला भन्ने लाग्थ्यो । यहाँका स्थानीय सरकारले अहिले उनीहरूको आँखाअगाडि यी विकास निर्माणका कामलाई दिनानुदिन सफल गर्दै आएका छन् ।

गाउँबस्तीमा गाडी गुड्न थालेपछि आफूलाई अहिले सहरकै महसुस हुन थालेको हिमाली गाउँपालिका स्थानीय अम्मरकला रोकायाले बताउनुभयो । भेडाबाख्रा लिएर मेलापात वनपाखामा मात्र व्यस्त हुने गरेकी थिएँ । अहिले गाउँमा स्याउ, सुन्तला, ओखर, सिमी, आलु, प्याज, लसुन उत्पादन गर्न थालेको बताउँदै उहाँले यसरी गाउँमा गाडी गुड्न थालेपछि अहिले आफूले यहाँ उत्पादन गरेका तरकारी वस्तु देशका विभिन्न सहरमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । अहिले यहाँका नौ वटै पालिका सडक स्वास्थ्य शिक्षाको पहुँचमा छन् । औषधीमुलो नपाउने महिलाले अहिले घरमै उपचार भिडियो एक्सरे गर्नसमेत पाएका छन् ।