• २३ वैशाख २०८२, मङ्गलबार

कला संस्कृति संरक्षणमा मगर भाषा

blog

बुटवल समाचारदाता

बुटवल, वैशाख २३ गते । मगर समुदायको कला संस्कृति संरक्षण गर्न बुटवलमा सञ्चालन भएको एकमहिने मगर भाषा तालिमले महत्वपूर्ण सहयोग पुग्ने तालिमका सहभागीले बताएका छन् । बुटवल उपमहानगरपालिकाको सहयोगमा नेपाल मगर सङ्घ बुटवल उपमहानगर समितिले सञ्चालन गरेको एकमहिने मगर भाषा तालिमबाट मगर समुदायको लोपोन्मुख भाषा संस्कृति संरक्षणमा बल पुग्ने विश्वास सहभागीले गरेका छन् ।

 मगर भाषा तालिमकी प्रशिक्षार्थी रिता अर्घलीमगरले तालिमबाट मगर भाषा मात्रै नभई लोप हुन लागेको मगर समुदायको कला संस्कृति संरक्षण गर्ने विषयमा पनि धेरै कुरा सिक्न पाएको बताउनुभयो । अर्की प्रशिक्षार्थी नोयु बुढामगरले मगर समुदाय कला संस्कृतिमा धनी भए पनि लोप हुन लागेको भाषाको संरक्षणमा यस प्रकारका तालिम सहयोगी बन्ने धारणा राख्नुभयो । तालिमको समापन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा रहेका सबै जाति तथा समुदायको लोप हुन लागेको भाषा, कला, संस्कार र संस्कृति संरक्षण तथा प्रवर्धन गरिने बताउनुभयो । 

मगर समुदायको लोप हुन लागेको भाषा र सोरठी, मारुनी जस्ता मगर पहिचानलाई जीवन्तता दिन आवश्यक रहेको बताउँदै उहाँले यसका लागि बुटवल नगरले आवश्यक सहयोग गर्ने बताउनुभयो । हरेक जाति र समुदायको भाषा र संस्कार राज्यको सम्पत्ति भएकाले यसलाई संरक्षण गर्ने दायित्व राज्यको भएको पनि उहाँको भनाइ थियो । बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले कुनै पनि जाति वा समुदायको प्रमुख पहिचान भाषा भएकाले भाषालाई पुस्तान्तरण गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । 

नेपाल मगर सङ्घ बुटवल उपमहानगर समितिका अध्यक्ष वसन्ती साठीघरेमगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर सङ्घका केन्द्रीय उपमहासचिव कमला थापामगर, सङ्घकै लुम्बिनी प्रदेश उपाध्यक्ष आनबहादुर सोतीमगर, नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष थर्कबहादुर बाह्रघरेमगर, सल्लाहकार किसनबहादुर थापा, ताराप्रसाद बुढाथोकी मगर, प्रमिला बुढामगर, लक्ष्मी रानामगरलगायतले बोल्नुभएको थियो । एक महिनासम्म सञ्चालन गरिएको तालिममा ७० जना प्रशिक्षार्थी सहभागी रहेका थिए ।