• २३ वैशाख २०८२, मङ्गलबार

‘अक्षत अन्टार्कटिका’ लाई उत्तम शान्ति पुरस्कार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २३ गते । गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष जीवा लामिछानेद्वारा लिखित नियात्रा कृति ‘अक्षत अन्टार्कटिका’ लाई २०८१ सालको ‘उत्तम शान्ति पुरस्कार’ प्रदान गरिने भएको छ ।

वर्षभरि प्रकाशित निबन्ध, संस्मरण, जीवनी, आत्मकथालगायतका गैरआख्यानात्मक कृतिमध्ये एक उत्कृष्ट कृतिलाई ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ ले २०४४ सालदेखि  एक लाख राशिको ‘उत्तम शान्ति पुरस्कार’ प्रदान गर्दै आइरहेको छ । 

गुठीका अध्यक्ष डा. पार्थिवेश्वरप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको पुरस्कार चयन समितिले लामिछानेलाई पुरस्कार दिने निर्णय गरेको गुठीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसअघि यस पुरस्कारबाट मञ्जुल, सत्यमोहन जोशी, अम्बर गुरुङ, देवीचन्द्र श्रेष्ठ, दुर्गा घिमिरे, इल्या भट्टराई, सरुभक्त, भूपिन, शारदा शर्मा, जगदीश घिमिरे, कर्ण शाक्य, भैरवबहादुर थापा, झमक घिमिरे, परशु प्रधानलगायत पुरस्कृत भइसक्नुभएको छ ।