गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २२ गते । नेपाल पत्रकार महासंघ गोरखापत्र प्रतिष्ठान शाखाले गोरखापत्रको १२५ वर्ष प्रवेश तथा संस्थानको ६३ औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा प्रदान गरिने पुरस्कारको टुङ्गो लगाएको छ । प्रतिष्ठान शाखाका अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा बसेको आजको बैठकले सो टुङ्गो लगाएको हो ।
निर्णयअनुसार बरिष्ठ पत्रकार तथा साहित्यकार विजयकुमार चालिसेलाई ‘रामचन्द्र–इन्दु पत्रकारिता पुरस्कार–२०८२’ प्रदान गरिने भएको छ । सो पुरस्कारको राशी ५० हजार रुपियाँ र सम्मानपत्र रहेको छ ।
२००८ असार २२ गते काठमाडौँ जिल्लाको जोरपाटी आरुबारीमा जन्मनुभएका चालिसेले २०३७ सालमा उपसम्पादकको रुपमा गोरखापत्र प्रवेश गर्नुभएको थियो । गोरखापत्रमा लामो सेवापछि प्रधानसम्पादकबाट अवकास हुनुभएका चालिसेले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षका रुपमा समेत जिम्मेवारी निर्वाह गर्नुभएको छ ।
त्यस्तै, युवामञ्च मासिकका सम्पादक उमेश ओझालाई ‘गोरखापत्र पत्रकारिता पुरस्कार–२०८२’ प्रदान गरिने भएको छ । पुरस्कारको राशी नगद १० हजार र सम्मानपत्र रहेको छ । त्यसैगरी, दि राइजिङ नेपालका विनु श्रेष्ठ र गोरखापत्र अनलाइन डटकमका सपना थामीलाई ‘गोरखापत्र क्रियाशील पत्रकारिता पुरस्कार–२०८२’ प्रदान गर्ने निर्णय गरिएको छ ।
यस्तै, गोरखापत्र दैनिकका भेषराज बेल्वासे र प्रुफरिडिङ शाखाका तीर्थराज अधिकारीलाई ‘सुमन भोम्जन स्मृति पत्रकारिता पुरस्कार–२०८२’ प्रदान गरिने भएको छ । पुरस्कारको राशी जनही पाँच हजार ५५५ र सम्मानपत्र रहेको छ ।