माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), वैशाख २२ गते । प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि इरानी टोलीले जितेको छ ।
पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सोमबार सम्पन्न फाइनल खेलमा इरानी टोलीले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हरायो ।
पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको इरानी टोलीले दोस्रो सेट २४–२६ ले गुमाएको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै इरानी टोलीले उपाधि रक्षा गरेको हो । इरानले तेस्रो सेट २५–१८ र चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको थियो ।
उपाधि जितेको इरानी टोलीले चार लाख ४४ हजार ४४४ रुपियाँ पुरस्कार पायो । उपविजेता पुलिसले दुई लाख ४४ हजार ४४४ रुपियाँमा चित्त बुझायो । यसअघि त्रिभुवन आर्मी क्लबले एपिएफ क्बललाई ३–१ को सेटमा हराउँदै तेस्रो भयो ।
पहिलो सेट २९–२७ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको आर्मीले तेस्रो सेट एपिएफलाई २२–२५ ले सुम्पिएको थियो । आर्मीले चौथो सेट २५–२३ को जित निकाल्यो । आर्मीले एक लाख ४४ हजार ४४४ रुपियाँ पायो ।