रमेश विश्वकर्मा
गुल्मी, वैशाख २२ गते। लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले पछिल्लो समय देशमा राजावादीले गरेको आन्दोलनले उपलब्धी नदिने बताउनुभएको छ। सोमबार गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकामा १५ शय्याको आधारभूत स्वास्थ्य अस्पतालको उद्घाटन गर्नुहुँदै उहाँले वर्तमान संविधानले सबैको अधिकार समावेश गरेको भन्दै अब राजावदीको आन्दोलनले नेपाली जनतालाई उपलब्धी नदिने बताउनुभयो।
‘अहिलेको वर्तमान संविधानले सबै जातजाति, धर्म, समुदाय सबैलाई अधिकार प्रदान गरेको छ’, मन्त्री कार्कीले भन्नुभयो, 'अहिलेको अवस्थामा राजावादीको नाममा भएका आन्दोलन ठिक हो की होइन भनेर बुझ्न पर्ने बेला आएको छ ।’ वर्तमान संविधानलाई पूर्णरूपमा कार्यान्वयन गरी जनतामा रहेका निराशालाई चिर्न सबै लाग्नुपर्ने मन्त्री कार्कीको भनाइ रहेको छ।
आफु काम गर्ने र त्यसको हल्ला कम गर्ने मध्ये पर्ने भन्दै जनतालाई भाषण भन्दा पनि काम गरेर सेवा गर्न आफु लागिरहेको उहाँले बताउनुभयो। १५ शय्याको आधारभूत अस्पताल सञ्चालनले गुल्मीदरबार गाउँपालिकालाई स्वास्थ्यमा अब्बल बनाउँदै लैजाने मन्त्री कार्कीले बताउनुभयो। अस्पतालाई दिगो रूपमा सञ्चालनका लागि प्रदेश र सङ्घमा पनि आफुले आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले थुप्रै चुनौतीका बिचमा गाउँपालिकाले १५ शय्याको आधारभूत अस्पतालबाट सेवा सुरु गरेको बताउनुभयो। आधारभूत स्वास्थ्य सेवा लिनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको भन्दै गाउँपालिकाबाटै एमबिबिएस डाक्टरद्वारा सरल र छरितो रूपमा प्रवाह गर्न सफल भएको बताउनुभएको छ। यस कार्यमा सहयोग पुर्याउने सबैलाई अध्यक्ष थापाले धन्यवाद दिनुभयो।
त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भौतिक पूर्वाधारका विकास एकाङ्की मात्रै हुने भएकाले स्वास्थ्य र शिक्षामा विशेष जोड दिनुपर्ने बताउनुभयो। गुल्मीदरबार गाउँपालिकाले आफ्नै आधारभूत अस्पतालबाट स्वास्थ्य सेवा प्रवाह गरेको भन्दै उहाँले अबको ध्यान सामाजिक क्षेत्र र स्वास्थ तथा शिक्षामा लगाउनुपर्नेमा जोड दिनुभयो।
अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष तारा थापा ढेङ्गाले स्वास्थ्यको क्षेत्रमा गाउँपालिकाले विशेष ध्यान पुर्याइरहेको भन्दै अब आधारभूत स्वास्थ्य सेवा लिन जिल्ला बाहिर जानु नपर्ने बताउनुभयो। मन्त्री कार्कीले गाउँपालिकामा कपडा बैँकसँगै गुल्मीदरबार गाउँपालिका वडा नम्बर ३ धुरेल डाँडामा १५ शय्याको आधारभूत अस्पताल र वडा नम्बर-६ मा रहेको ठुलान आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन गर्नुभयो।