• २२ वैशाख २०८२, सोमबार

फेवातालमा फसेका आठ जनाको उद्धार

blog

फेवातालमा फसेका उद्धार गरिँदै । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी
लेखनाथ, वैशाख २२ गते ।
सोमबार दिउँसो अचानक आएको हावाहुरीसहितको वर्षातमा परी फेवातालमा फसेका आठ जनाको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बलको कालिका गण कास्कीबाट खटिएको टोलीले उनीहरूको उद्धार गरेको हो ।

दिउँसो ३ बजेतिर आएको हुरीले तालमा खस्नुभएका चितवन निवासी २२ वर्षीय रेशम थापा र पोखरा–६, लेकसाइडका २१ वर्षीय वर्षीय विजय सुनारलाई सकुशल उद्धार गरिएको गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्य तिमिल्सिनाले जानकारी दिनुभयो ।

“तालमै खसेका दुई जनालाई सकुसल निकाल्यौं,” उहाँले भन्नुभयो, “ताल किनार नजिकै अलपत्र परेका अरू छ जनालाई पनि उद्धार गरेका छौँ ।”

सोमबारै दिउँसो सेती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव निकालिएको छ । सशस्त्र प्रहरी बलको गोताखोर टोलीले बागलुङको निसिखोला गाउँपालिका वडा नम्बर ३ घर पोखरा महानगरपालिका वडा नम्बर १४ मझेरीपाटन बस्ने १८ वर्षीय युवराज विकको शव निकालेको हो ।

विक सोमबार दिउँसो २ बजेतिर पोखरा–१४, खाल्टेमसिनास्थित सेती नदीमा डुबेर बेपत्ता हुनुभएको थियो । सशस्त्र प्रहरी बल, नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठको कमान्डमा खटिएको गोताखोरसहितको टोलीले डेढ घन्टापछि शव निकालेको हो ।