• २२ वैशाख २०८२, सोमबार

राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन

blog

उपाधि विजेता आर्मीका खेलाडी ।

काठमाडौँ, वैशाख २२ गते । नेपाल आर्मी राष्ट्रिय महिला हक्की प्रतियोगितामा सोमबार च्याम्पियन बनेको छ ।

सिङ्गल राउन्ड रोविन लिगमा आर्मी शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो । चार टिम सहभागी महिलामा अपराजित आर्मीले सर्वाधिक नौ अङ्क जोड्यो ।

च्यासल मैदानमा आर्मीले फाइनल सरह लिगको अन्तिम खेलमा गण्डकी प्रदेशलाई ३–० गोलले हरायो । आर्मीका लागि दमरा भट्टले दुई तथा सीतामाया बलले एक गोल गर्नुभयो । दमरा फाइनलको ‘प्लेयर अफ दी म्याच’ बन्नुभयो । दुई खेलमा जित र एक खेलमा हार खेपेको गण्डकी ६ अङ्ककसाथ दोस्रो भयो । 

नेपाल हक्की सङ्घद्वारा आयोजित प्रतियोगितामा तीन अङ्कसहित मधेश प्रदेश तेस्रो भयो । मधेशले बागमती प्रदेशलाई १–० गोलले हरायो । भावाना राईले निर्णायक गोल गरिन् । शीर्ष तीन स्थान हात पार्नेले क्रमश: ७५ हजार, ५० हजार र २५ हजार रुपियाँ पुरस्कार हात पारे । आर्मीकी निलिमा पाण्डे प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिनुभयो । मधेशकी खुश्बु कुमारी उदीयमान खेलाडी बन्नुभयो । 

गोलरक्षकमा गण्डकीकी अनिशा थापामगर तथा डिफेन्समा सोनु बराल उत्कृष्ट हुनुभयो । प्रतियोगिताभर पाँच गोल गर्नुभएकी आर्मीकी कमला चन्द सर्वाधिक गोलकर्ता बन्नुभयो । उत्कृष्ट सबैले जनही पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, राखेप कार्यकारी समितिकी सदस्य एवं हक्की सङ्घकी महासचिव सुवर्ण श्रेष्ठ, राखेपका सदस्य जगतसिंह धामी, हक्की सङ्घका अध्यक्ष अनिलप्रसाद शर्मा, सचिव असिम शर्मालगायतले पुरस्कार प्रदान गर्नुभयो ।