• २२ वैशाख २०८२, सोमबार

हत्या गरेर फरार अभियुक्त २३ वर्षपछि पक्राउ

blog

पक्राउ परेका सुकई पासी ।

जानु पाण्डे
कपिलवस्तु, वैशाख २२ गते ।
कपिलवस्तु प्रहरीले २३ वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवराज नगरपालिका वडा नं. ०६ निवासी ६१ वर्षीय सुकई पासी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टका अनुसार, सुकई पासीले २०५४ साल भाद्र २ गते आफ्नै छिमेकी आइतबारी कोरीको हत्या गरी फरार भएका थिए ।

हत्या हुनुभन्दा दुई वर्ष अघि मृतक र सुकई पासीबिच गाँजाको विषयमा विवाद भएको थियो । सोही विवादलाई लिएर व्यक्तिगत रिसिइबीका कारण हत्या गरिएको थियो । सुकई पासी, चन्द्रराम कुर्मी र प्रभुनाथ पासीले मिलेर कोरीको हत्या गरेका थिए ।

हत्या भएको दुई दिनपछि कोरीको शव सुरही नदीको किनारमा फलामको सिक्रीले बाँधिएको र किरा परेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक माधव विश्वकर्माले बताउनुभयो । 

मृतककी श्रीमती शान्ति कोरीले कसैको नाम नखुलाई जाहेरी दिएकी थिइन् । अनुसन्धानका क्रममा पासीसहित अन्य दुई अभियुक्तको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ । २०५९ साल असार १७ गते जिल्ला अदालत कपिलवस्तुले सुकई पासीलाई २० वर्ष कैद सजाय सुनाएको थियो । हत्या पछि उनी फरार रहेका थिए ।