• २२ वैशाख २०८२, सोमबार

मदनभण्डारी राजमार्ग : डेढ अर्बको गुल्मी पश्चिम सडक अलपत्र

blog

मदन भण्डारी राजमार्गअन्तर्गत अलपत्र गुल्मीको सिमलटारी–प्युठान मच्छि सडकखण्ड । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), वैशाख २२ गते । गुल्मीमा मदन भण्डारी राजमार्गअन्तर्गत दुई खण्डमा काम भइरहेको छ । पहिलो रिडी–तम्घास खण्डमा रुरु र छत्रकोट क्षेत्रमा कालोपत्रेको काम अगाडि बढेको छ । तर एकै वर्ष सम्झौता गरेको सिमलटारी–मच्छी खण्डको काम भने अलपत्र परिरहेको छ ।

गुल्मी पश्चिमको सिमलटारीदेखि प्युठानको मच्छिसम्मको ३१.८ किलोमिटर सडकमध्ये सौतामारेसम्मको १६ किलोमिटर गुल्मीमा पर्छ ।

यो सडक निर्माणका लागि श्रेष्ठ सक्षम जेभीले ०७९ कात्तिक ६ गतेदेखि सम्झौता गरेको मदन भण्डारी राजमार्ग योजना कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी इन्जिनियर हुमानाथ पौडेलका अनुसार एक अर्ब ४५ करोड ३२ लाख ९९ हजार ९०० रुपियाँमा सडक निर्माणको सम्झौता भएको छ । तर अहिलेसम्म २६ प्रतिशत भौतिक र २२.२० प्रतिशत वित्तीय प्रगती भएको पौडेलले बताउनुभयो ।

अहिले पछिल्लो दुई महिनादेखि निर्माण व्यवसायीले कुनै गरेका छैनन् । निर्माण व्यवसायीलाई पटक–पटक पत्र पठाएर दबाब दिए पनि प्रगती केही नदेखिएको इन्जिनियर पौडलको भनाइ छ । उहाँले भन्नुभयो, “कार्यालयबाट ताकेका धेरै भए पनि निर्माण व्यवसायीले लापरबाही गरिरहेका छन् । रनिङ्गबिल लिएर दुई महिनादेखि फिल्डमा कामनै भएको छैन ।”

सडक निर्माणको काम निरन्तर नहुँदा स्थानीय समेत आजित छन् । सडक समयमै नहुँदा घरबस्तीहरू जोखिममा परिरहेका छन् । मदाने गाउँपालिका–६ की बिमला भट्टराईले सडककै कारण आफुहरू घर छोडेर अवस्था रहेको बताउनुभयो । उहाँले घरभन्दा धेरै माथिसम्म सडकको वाल उठाएका कारण ढुङ्गा खसेपनि घरका मान्छेका ज्यान जाने अवस्था रहेको गुनासो गर्नुभयो ।

निर्माण व्यवसायीले सडकमा नियमित काम नगरेका कारण स्थानीय तहहरू पनि आलोचनाको पात्र बन्ने गरेका छन् । बस्ती, खेतबारी बगाउने, पुर्ने र खस्ने थुपै्र जोखिम वर्षामा भएकाले निकै आलोचना सहन बाध्य भएको मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताउनुभयो । उहाँले आफुहरूले धेरै पटक जोखिम र काम नभएको विषयमा निर्माण व्यवसायी र कार्यालयमा ध्यानाकर्षण गराए पनि काम नभएको बताउनुभयो ।

राष्ट्रिय गौरवको आयोजनको कामको प्रगती अत्यन्तै न्यून भएका कारण स्थानीय मात्रै नभएर कार्यालयदेखि नेता र नेतृत्व तहको आलोचना भइरहेको छ । जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्रीले कार्यालयको तर्फबाट धेरै पटक ध्यानाकर्षण र पत्राचार भएकाले तत्काल परिणाम नदेखिए कानुनी उपचार खोज्नुपर्ने बताउनुभयो । उहाँले पहिलो खण्डको का तीव्र भइरहेका बेला पश्चिम दोस्रो खण्डको काम अत्यन्तै लजास्पद रहेको बताउनुभयो । निर्माण व्यवसायीको प्रतिक्रिया लिन खोजेपछि सम्पर्कमा हुन सकेन् ।