चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख २२ गते। ताप्लेजुङमा संयुक्त पहिचानवादी मोर्चा गठन भएको छ। सदरमुकाम फुङ्लिङमा आइतबार अबेर सम्पन्न भएको जिल्ला भेलाले प्रदीप मादेन (नानी) संयोजक रहेको ४७ सदस्यीय पहिचानवादी मोर्चा गठन भएको हो।
मोर्चाको सह–संयोजकमा इन्द्र थलङ, श्री लिङ्खिम, पूर्ण पालुङ्वा, अशोक मादेन र डम्बर लाबुङ चयन हुनुभएको छ। सदस्य–सचिवमा धनकुमार येङ्देन, प्रवक्ता सरोज कङ्लिवा, सहसचिवमा चतुरमती थाङ्देन र आर्थिक विभाग प्रमुखमा कमला पालुङ्वा चयन हुनुभएको छ।
मोर्चाको सल्लाहकारमा मोती पालुङ्वा, कर्णबहादुर पालुङ्वा, खड्ग गुरुङ, रत्न नुगो, मोती तुम्बाहाम्फे, कीर्तिमान मादेन, अशिम पालुङवा, चन्द्र मादेन र हर्कहाङ तुम्बाहाम्फे रहनुभएको छ। यसैगरी बिरेन तबेबुङ संयोजक रहेको संयुक्त पहिचानवादी युवा मोर्चाको जिल्ला समिति पनि गठन गरिएको छ। युवा मोर्चाको सहसंयोजकमा जनम इधिङ्गो चयन हुनुभएको छ।
जिल्ला भेला मोर्चाका संयोजक डकेन्द्रसिंह थेगिम, पहिचानवादी नेताहरू ज्ञानबहादुर गुरुङ, भक्त खेवाङ, अशिम पालुङवा, चन्द्र मादेन लगायतको उपस्थितिमा गठन गरिएको प्रवक्ता सरोज कङ्लिवाले जानकारी दिनुभयो। मोर्चाको भेलाको अवसरमा गत फागुन १० गते नो केबलकार सङ्घर्षका क्रममा पक्राउ परी प्रहरी हिरासतमा २७ दिन बसेका र पक्राउपुर्जी जारी भएका नौ जनालाई सम्मानसमेत गरिएको कङ्लिवाले जानकारी दिनुभयो।
त्यस्तै पाथीभरा (मुक्कुमलुङ) केबलकारविरुद्ध आन्दोलनका क्रममा घाइते भएकालाई उपचार सहयोगबापत ताप्लेजुङ युके समाज, फुरुम्बो पालुङ्वा वंश प्रतिस्ठान र पहिचानवादी मोर्चा ताप्लेजुङ–काठमाडौँ सम्पर्क समितिले आर्थिक सहायता उपलब्ध गराएको छ। पहिचानवादी आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अग्रजलाई समेत विशेष सम्मान गरिएको मोर्चाले जनाएको छ।