• २१ वैशाख २०८२, आइतबार

फेमे खोलालाई काबेलीको बेलिब्रिज

blog

बाढीले पुल बगाएपछि उजाड बनेको फेमे खोला दोभान। तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, वैशाख २० गते। सङ्घीय सरकारले बाढीले पुल बगाएको पाँचथरको फिदिम १ र ११ लाई जोड्ने फेमे खोलाका मेची राजमार्ग स्थित पाँचथर र ताप्लेजुङलाई जोड्ने काबेली नदीको बेलिब्रिज उपलब्ध गराउने भएको छ।

सङ्घीय सरकार अन्तरगत सडक डिभिजन इलामले प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय पाँचथरलाई शुक्रबार पत्र लेख्दै काबेलीको पुल उपलब्ध गराएको हो।

पुल ढुवानी र जडान खर्च भने प्रदेश सरकारले व्यहोर्नु पर्ने डिभिजन प्रमुख पवन भट्टराईले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ। 

‘काबेली नदीमा पक्की पुल बनिसकेकाले यहाँ रहेको ४८.८ मिटर लामो बेलिब्रिज प्रदेश सरकारलाई हस्तान्तरण गर्न मुनासिव देखिएको छ, पुल झिक्ने ढुवानी गर्ने र जडान कार्यमा नेपाल सरकारलाई आर्थिक भार नपार्ने र आवश्यक परेको बेला फिर्ता गर्ने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशन अनुसार उक्त पुल हस्तान्तरण गरिएको छ’, पत्रमा लेखिएको छ।

फिदिम नागीन फालौट मार्गमा पर्ने फेमे खोलाको पक्की पुल २०८१ साल असोज १२ गते बाढीले बगाएको थियो। प्रदेश सरकारको क्षेत्राधिकारमा पर्ने उक्त स्थानमा पुल पुनः निर्माणको प्रक्रिया नथालिँदा आउने वर्षायाम फेमे खोला पारीको फालेलुङ गाउँपालिकासँगै फिदिम नगरपालिका १०, ११, १२ र १३ नम्बर वडा प्राकृतिक नाकाबन्दीमा पर्ने निश्चित छ।

सम्भावित जोखिमको पूर्व अनुमान गर्दै फेमे खोलामा पुल बनाउन जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदसँगै फिदिम र फालेलुङका जनप्रतिनिधिले पटक पटक आग्रह गरेपनि प्रदेश सरकारले प्रक्रिया थालेको छैन।

यसैबिच जनप्रतिनिधि र सांसदको अनुरोधमा सङ्घीय सरकारले फेमे खोलालाई काबेलीको बेलिब्रिज उपलब्ध गराउने निर्णय गरेको हो। वैशाख ९ गतेको मन्त्री स्तरीय निर्णयबाट फेमे खोलाका लागि बेलिब्रिज उपलब्ध गराउने निर्णय भएको हो।

सङ्घीय सरकारबाट बेलिब्रिज उपलब्ध भएपनि प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयले उक्त बेलिब्रिज झिकेर ल्याउने प्रक्रिया थालेको छैन।

पूर्वाधार विकास कार्यालय पाँचथरले बेलिब्रिज जडान पूर्व सडक र जग निर्माणका लागि बोलपत्र आह्वान गरेर प्रक्रिया थाल्नुपर्नेमा ढिलाइ गरिरहेको आरोप फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेको छ।