• ७ पुस २०८२, सोमबार

मानसिक स्वास्थ्य समस्याका कारण आपराधिक घटना

blog

दैलेख समाचारदाता

दैलेख, पुस ७ गते । दैलेख जिल्लामा पछिल्लो समय मानसिक स्वास्थ्य समस्यासँगै आपराधिक घटना बढ्दै जान थालेका छन् । पारिवारिक तनाव, आर्थिक अभाव, लैङ्गिक हिंसा तथा सामाजिक दबाबका कारण मानसिक समस्या जटिल बन्दै जाँदा आपराधिक घटना बढ्दै गएको हो । 

गत मङ्सिरमा दैलेखको नौमुले गाउँपालिका–५ का २७ वर्षीय तिर्सना राम्जालीले गरेको दाउराको चिर्पट प्रहारबाट आफ्नै बुवा ६५ वर्षीय धनबहादुर राम्जालीको मृत्यु भयो । कलिलै उमेरमा विवाह गरेकी उनले छोडपत्र लिएर माइत बस्दै आएकी थिइन् । पारिवारिक तनावका कारण दैनिक अत्यधिक मदिरा सेवन गर्न थालेपछि बुवाले सम्झाउँदा उनले उल्टै चिर्पट प्रहार गरेर हत्या गरिन् । प्रारम्भिक विवरण अनुसार पारिवारिक तनाव र मानसिक समस्याका कारण घटनामा वृद्धि हुन सक्ने प्रहरीको आशङ्का छ । 

त्यस्तै नारायण नगरपालिका–३ का डेकेन्द्रबहादुर कटुवालले आफ्नै सासू पर्ने मनकुमारी बोगटीलाई कोदालोले हानेर घाइते बनाए । श्रीमतीसँग सामान्य बेमेलका कारण कोदालोले हानेर सासूलाई घाइते बनाएपछि अहिले कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक गणेशबहादुर बरालले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी रहेको जानकारी दिँदै घटनामा संलग्न व्यक्तिको मानसिक अवस्थाले कति भूमिका खेलेको छ भने विषयमा समेत अनुसन्धान भइरहेको बताउनुभयो । 

उहाँले प्रहरीले अनुसन्धानका लागि हिरासतमा राख्दासमेत दैनिक अस्पताल लैजानुपर्ने समस्या रहेको जनाउनुभयो । प्रहरीका अनुसार माथिका घटना केही उदाहरण मात्र हुन् । पछिल्लो समय जिल्लामा मानसिक समस्याका कारण घरेलु हिंसा, गम्भीर कुटपिटसम्बन्धी घटना बढ्दै गएको पाइएको छ । 

नारायण नगरपालिकामा सिएमसी नेपालमार्फत कार्यरत मनोसामाजिक परामर्शकर्ता कल्पना नेपालले नगरपालिकामा मानसिक समस्याका बिरामी उल्लेखनीय सङ्ख्यामा रहेको बताउनुभयो । उहाँका अनुसार आर्थिक रूपमा कमजोर, लैङ्गिक हिंसामा परेका, बलात्कारपीडित तथा स्रोतसाधनको अभाव भएका धेरै व्यक्ति मानसिक समस्याबाट ग्रसित छन् । जिल्ला अस्पताल दैलेखमा रहेको एकद्वार सङ्कट व्यवस्थापन प्रणालीमार्फत हालसम्म ३८८ जना नयाँ मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिले उपचार सेवा लिएका छन् भने १९६ जनाले नियमित रूपमा उपचारका लागि सम्पर्क गरिरहेको अस्पतालले जनाएको छ ।

नारायण नगरपालिकामा स्वास्थ्य शाखामा कार्यरत लालबहादुर खड्काले मानसिक स्वास्थ्य समस्याको न्यूनीकरणका लागि सरकारले ९६ दिने ‘मानसिक स्वास्थ्य सचेतना अभियान २०८२’ सुरु गरेको जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार घरेलु हिंसा प्रकृति अनुसारको उजुरी सङ्ख्या १२ वटा मङ्सिरमा आएको र सात वटा मिलापत्र गरिएका, दुई वटा कानुनी प्रक्रियामा रहेको र तीन वटा बाँकी छन् । त्यस्तै आत्महत्या चार जना रहेका छन् ।